कार्यालयमा सबैले 'श्रीमान्' भनेर सम्बोधन गर्छन्-सुशिला लाई I

संगीता श्रेष्ठ- कार्यालयमा उनलाई सबैले 'श्रीमान्' भनेर सम्बोधन गर्छन्। महिलालाई यो सम्बोधन कमाउन कम्ती दुःख गर्नुपर्दैन। कानुनी क्षेत्रमा असाध्यै संघर्ष गरेर सुशीला कार्कीले यो सम्मान प्राप्त गरेकी हुन्। उनी सर्वोच्च अदालतको न्यायाधीश पदमा आसीन छिन्।

विसं २००९ मा विराटनगरमा जन्मिएकी सुशीला चार बहिनी र दुई भाइकी जेठी दिदी हुन्। त्यसबेला जेठो सन्तानको अभिभारा अलि बढी नै हुन्थ्यो। जेठो सन्तानलाई संस्कार, नियम र परम्पराको राम्रो तालिम दियो भने भाइबहिनीले उसकै अनुशरण गर्छन् भन्ने मान्यता परिवारमा रहेकाले उनीमाथि पनि सोही कुरा लागू भयो। घरमा पुरानो संस्कार भए पनि उनले राम्ररी शिक्षा आर्जन गर्ने अवसर पाइन्। त्यो समयमा छोरी मान्छेले पढ्नु भनेको असंभवजस्तै थियो। तर, उनको शिक्षित परिवारले उनलाई उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर उपलब्ध गराइदियो।

मध्यमवर्गीय परिवार थियो उनको। घरमा खानलाई दुःख थिएन। तर, अहिलेजस्तो फेरी-फेरी लुगा चाहिँ लगाउन पाइन्नथ्यो। दुई जोर लुगामा वर्षदिन बिताउनुपर्ने विगत सम्झँदै उनी भन्छिन्, 'एकपटक पानी परेको बेलामा मेरो स्कुल ड्रेस सुकेन। चिसो लुगामा आइरन गरेर सुकाउनु पर्नेभयो। चिसो लुगामा आइरन गर्दा करेन्ट लागेर म झन्डै मरेकी!'

अहिलेजस्तो त्यतिबेला छोरीलाई सिलाइबुनाइ, ब्युटिसियन तालिम वा अरू सिप सिकाउने चलन थिएन। छोरीले घरको काममा दक्षता हासिल गर्नैपर्थ्यो। उनले पनि हजुरआमाबाट थुप्रै सिप सिकिन्। भन्छिन्, 'हजुरआमाले बत्ती कात्न, टपरी गाँस्न, चामल केलाउन, उधे्रका लुगा सिउन सिकाउनुभयो। हजुरआमाले हामीलाई यसरी विभिन्न सिप सिकाउँदा पिताजी 'पढेलेखका छोरी अमेरिका पुग्छन् कि बेलायत, यिनीहरूलाई यस्ता सिप के काम?' भन्नुहुन्थ्यो।'

सुशीला ५०-६० जनाको संयुक्त परिवारमा हुर्किएकी हुन्। चाडबाड वा कुनै कार्यक्रम भएको बेला खाना पकाउँदा कसले के मिठो पकाउँछ भनी हेरिन्थ्यो। छोरीले पकाएको खाना भान्सामा नलगिए पनि कुन छोरीले के मिठो पकाउँछे भन्ने कुरा थाहा पाउन यसो गरिने उनले बताइन्। उनले मासु मिठो पकाउँथिइन्। चाडबाड वा केही कार्यक्रम भयो भने उनलाई मासु पकाउन भ्याई-नभ्याई हुन्थ्यो। उनले पकाएको मासुको प्रशंसा घरकाले मात्र होइन, बाहिरकाले पनि गर्थे। त्यसैले उनी आफन्तको घरमा पनि मासु पकाउन पुग्थिन्।

घरनजिकैको जनता हाइस्कुलबाट उनले माध्यमिक शिक्षा पूरा गरिन्। ठूलो परिवार भएकाले स्कुल जाने बेला सधैं भात पाकेको हुँदैनथ्यो। कहिले भोकै त कहिले दही-चिउरा खाएर स्कुल जानुपर्ने उनी सुनाउँछिन्। उनी स्कुलमा दौड र कबड्डीमा पनि भाग लिने गर्थिन्।

सुशीलाले २०३५ सालदेखि वकालत सुरु गरिन्। शुल्कका लागि मान्छेलाई दुःख नदिने, काम लिएपछि पूरा गर्ने र निष्पक्ष अभ्यास (फेयर प्य्राक्टिस) गर्नेजस्ता बानीले उनको व्यवसाय सुरुवातदेखि नै राम्रो भयो। सुरुमै उनीसँग चार सय जति मुद्दा आए। संघर्ष नगरी फल प्राप्त हुँदैन भन्ने कुरामा विश्वास गर्छिन् उनी। त्यसैले कामका सुरुवाती दिनमा उनले पनि धेरै संघर्ष गरिन्। भन्छिन्, 'अधिवक्ताले सबै काम आफैँ गर्नुपर्छ। आफैँ प्रचारक बन्नुपर्छ, म जान्ने छु भनेर आफ्नो विज्ञापन आफैँ गर्नुपर्छ र बोल्न सक्ने क्षमता देखाउनुका साथै साथै धैर्य, संयम पनि राख्नुपर्छ।'

वकालत गाह्रो भएको उनी बताउँछिन्। 'छोराले म पनि अधिवक्ता बन्छु भन्दा मलाई दुःख लाग्छ,' उनी भन्छिन्, 'आफूले गरेजस्तो संघर्ष छोराले गर्नु नपरोस्।' अधिवक्ताको पेसा 'आमाबाबुबिनाको पेसा' भएको उनको भनाइ छ। 'यसमा नाम र दाम त छन्। तर, ती कपाल फुलेपछिमात्रै प्राप्त हुन्छन्। त्यतिबेला विभिन्न रोग लागेर केही खान नहुने अवस्था भइसकेको हुन्छ। पैसा भएर के गर्नु? यस पेसामा सम्मान र बोल्ने स्वतन्त्रता हुन्छ भनी चित्त बुझाउनुमात्र हो।'

विसं २०६१ मा वरिष्ठ अधिवक्ता बनेकी सुशीला २०६५ सालमा सर्वोच्च अदालतको न्यायाधीश बनिन्। अधिवक्ता र न्यायाधीशको जीवनमा फरक औल्याउँदै उनी भन्छिन्, 'अधिवक्ता बोल्नका लागि हो, तर न्यायाधीशले बोल्न पाउँदैन। अधिवक्ता हुँदा म पनि जुनसुकै राजनीतिक दलको कार्यक्रममा भाषण गर्थेँ, तर अब त्यसो गर्न पाइन्न।' न्यायाधीश भइसकेपछि सार्वजनिक समारोहमा जान पनि उनलाई कठिन भएको छ। कुनै बिहेभोजमा जाँदा आफन्तले 'मेरो मुद्दा हेर्दिनुस् न' भन्दै उनलाई अप्ठ्यारोमा पार्छन्। 

न्यायाधीशको जीवन सन्न्यासीको भन्दा फरक लाग्दैन उनलाई। 'बरु, सन्न्यासीले घर-घर गएर मागेर खान सक्छ। तर, न्यायाधीशले त्यो पनि गर्न पाउँदैन।' कानुनी क्षेत्रमा नआएको भए के भइन्थ्यो? प्रश्न भुइँमा झर्न नपाउँदै उनी भन्छिन्, 'गृहिणी भइन्थ्यो होला। वा, बढीमा लेक्चररसम्म बन्थेँ कि!' नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com