नारीले सामना गर्नु पर्ने धेरै अबस्था मध्ये राजोव्रित्ति परिवर्तनको प्रथम चरण I

डा: अचला बैध्य :- एउटी महिलाको जीवनमा धेरै अवस्था आउँछन् । उनले शारीरिक एवं भावनात्मक रूपमा देखा पर्ने अनेकौ परिवर्तनको सामना गर्नुपरिरहेको हुन्छ । रजोनिवृत्ति पनि तिनै परिवर्तनमध्येको एक हो । रजोनिवृत्तिको अवस्था मासिक धर्म बन्द भएपछिको अवस्था हो । उक्त अवस्थापछि महिलाको पाठेघरले गर्ने काममा कमी आउँछ ।

रजोनिवृत्तिलाई महिलाको शारीरिक परिवर्तनको एउटा हिस्सा मान्न सकिन्छ । उक्त परिवर्तन महिलाको उमेर ४५ वर्ष पुगेपछि आउँछ । प्राविधिक रूपमा भन्नुपर्दा जब कुनै पनि महिलाको मासिक धर्म नबिराई १२ महिनासम्म रोकिन्छ, त्यसपछि रजोनिवृत्त भएको बुझिन्छ । त्यो अवस्थामा सम्बन्धित महिलामा देखिने शारीरिक परिवर्तनहरूमा मानसिक उतार-चढाव आउने र गर्मी महसुस भै पसिना आउने हुनसक्छ । रजोनिवृत्ति औषधोपचार नगरी नहुने रोग हो । त्यसको अर्थ रजोनिवृत्तलाई महिलामा हुने प्राकृतिक र सामान्य परिवर्तन हो भन्ने मात्र नमानी गम्भीरतापूर्वक उपचार गरिनुपर्ने अवस्था हो भनेर बुझ्नुपर्छ । रजोनिवृत्तिले सन्तान उत्पादन क्षमताको अन्त्य भएको संकेत गरी महिला जीवनको एउटा सुखद् पाटोको अन्त्य भएको जनाउँछ ।

रजोनिवृत्ति कहिले सुरु हुन्छ ?

धेरैजसो महिलाको रजोनिवृत्ति प्राकृतिक रूपमा ४५ वर्षको उमेरदेखि ५१ वर्षको उमेरसम्म भैसक्छ । केही महिलामा वा अपवादका रूपमा रजोनिवृत्त जीवनको ३० वर्षकै उमेरमा पनि हुन सक्छ । यदि ४० वर्षभन्दा कम उमेरमै रजोनिवृत्त भएको खण्डमा त्यसलाई अप्राकृतिक वा असामान्य मानिन्छ । कुनै महिलामा कुनै किसिमको रेडियसन दिनुपर्दा, केमोथेरापी गर्दा प्रयोग हुने औषधि प्रयोग भए वा कुनै किसिमको शल्यक्रिया गरिएको अवस्थामा वा वंशानुगत कारणले पनि समयपूर्व रजोनिवृत्ति हुनसक्छ । रजोनिवृत्ति चाँडै हुनुको अर्को कारण शरीरमा विकसित भैरहेको वा विद्यमान कुनै रोग पनि हुनसक्छ ।

प्राविधिक रूपमा कुनै महिलालाई रजोनिवृत्ति भएको नमानिएसम्म तिनलाई रजोनिवृत्तिपूर्वकै अवस्थामा भएको मानिन्छ । धेरैजसो महिलामा रजोनिवृत्ति हुनुअघि नै असजिलो वा अप्ठेराका लक्षणहरू देखा पर्न थाल्छन् । रजोनिवृत्ति हुनुभन्दा एक वा दुई वर्षपूर्व देखापर्ने लक्षणले जीवन बढी कष्टकर भएको महसुस गराउँछ । रजोनिवृत्ति त्यतिबेला हुन्छ, जब महिलामा विगत १२ महिना लगातार रजस्वला हुँदैन । जब महिलाको शरीरमा आवश्यक हार्मोनको स्तर खस्कन्छ वा तल र्झन थाल्छ, त्यतिबेलादेखि नै लक्षणहरू देखा पर्ने र विस्तारै हराएर जाने हुनसक्छ । कतिपय महिलामा आक्कल-झुक्कल गर्मी महसुस भै पसिना आउने, मनोविषाद वा मानसिक चिन्ता बढ्ने, निराशापन बढ्ने लक्षणहरू रजोनिवृत्त भएको केही वर्षपछिसम्म देखा पर्न सक्छन् ।

रजोनिवृत्तिको कारक अवस्था

रजोनिवृत्त भएको अवस्थामा के हुन्छ भनी राम्रोसँग बुझ्न मासिक धर्म वा रजस्वला र रजस्वलाका लागि आवश्यक हार्मोनहरूको भूमिकाका सम्बन्धमा बुझ्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । हाम्रो शरीरमा हार्मोनहरू त्यस्ता चीज हुन् जसले एउटा भरियाको जस्तै भूमिका निभाएका हुन्छन् ।

रजस्वला चक्रको पहिलो भाग अर्थात् पहिलो १५ दिन 'इस्ट्रोजन' हार्मोनले महिलाको शरीरमा आधिपत्य जमाएको हुन्छ । इस्ट्रोजनको भूमिका भनेकै पाठेघरभित्र वा पाठेघरको भित्तामा एउटा लाइनिङ तयार गरी पाठेघरलाई गर्भाधानका लागि योग्य तुल्याउनु हो ।

रजस्वला चक्रको दोस्रो भाग अर्थात् अर्को १५ दिन भने महिलाको शरीर प्रोजेस्टेरोन नामक हार्मोनबाट प्रभावित भएको हुन्छ । प्रोजेस्टेरोन हार्मोनको भूमिका पाठेघरको लाइनिङको चरित्रमा परिवर्तन गराई गर्भाधानका लागि तयार पार्नेतर्फ लानुका साथै इस्ट्रोजन नामक हार्मोनले बनाउने लाइनिङलाई रोक्नु हो । रजस्वला चक्रको अन्त्यमा यदि महिलाको डिम्बाशय शुक्रकिटद्वारा सेचन नभए इस्ट्रोजन र प्रोजेस्टेरोन नामक दुवै हार्मोनको मात्रा घटेर पाठेघरको भित्ताको संकुचन हुन्छ, जुन बेला महिलामा रजस्वला हुन्छ । यो प्रक्रिया प्रत्येक महिना दोहोरिइरहन्छ र पाठेघरलाई नियमित रूपमा सम्भावित गर्भाधानका लागि योग्य राख्छ ।

रजोनिवृत्तिको पूर्वावस्थामा महिलाको पाठेघरमा इस्ट्रोजन र प्रोजेस्टेरोन दुवै हार्मोनको स्तर घटबड हुन्छ, जसले गर्दा धेरैजसो महिलामा शारीरिक र मानसिक उतार-चढाव देखा पर्न थाल्छन् । त्यसबेलादेखि एउटी महिलाले रजोनिवृत्तका असरहरू अनुभव गर्न थाल्छिन् ।

रजोनिवृत्तिपछि महिलाको शरीरले इस्ट्रोजन हार्मोनको उत्पादन गर्न छाड्ने हुँदा सन्तान उत्पादन क्षमता पूर्णतया बन्द हुन्छ ।

हार्मोनको हिसाबले रजोनिवृत्तिको अवस्था सबैमा एकनासकै भए पनि हरेक महिलाले भिन्दै खालका अनुभव प्राप्त गरेका हुन्छन् । रजोनिवृत्त हुने समयमा मुख्यतया वंशानुगत कारणले मुख्य भूमिका निभाएको हुन्छ तर पनि जीवनशैलीले पनि रजोनिवृत्तको अवस्थामा धेरै फरक पारेको हुन्छ । धेरै महिलाले त्यो अवस्थामा औषधोपचार गर्नुपर्ने वा चिकित्सककै सल्लाह लिनुपर्ने महसुस गर्छन् ।

पूर्व रजोनिवृत्तिको अवस्था कतिसम्म रहन्छ ?

महिलाहरूमा रजोनिवृत्त हुनुभन्दा १-२ वर्ष पहिलेदेखि नै पूर्व रजोनिवृत्तिको अवस्था देखा पर्न थाल्छ जसलाई एक किसिमको नाजुक अवस्था भन्न सकिन्छ । त्यस्तो अवस्थामा महिलामा मानसिक दिक्दारी हुने, चिडचिडापन देखिने, शरीर पोलेको महसुस हुने, अनिद्रा हुने तथा शरीरका अस्थीपञ्जर प्रणालीमा आवश्यक खनिजतत्वको आपूर्तिमा कमी आउने हुँदा कम्मर र जोर्नीहरू दुख्ने समस्याहरू देखा पर्छन् । जब एउटी महिलाले त्यस्ता लक्षण महसुस गर्न थाल्छिन्, तब उनले आफू रजोनिवृत्तिको अवस्थातर्फ जान लागेको कुरा बुझ्नुपर्छ । पूर्व रजोनिवृत्तिको अवस्थामा अचानक रजस्वलामा अनियमितता आउने तथा बढी रक्तस्राव हुने समस्या पनि देखापर्न सक्छ । यस्तो अवस्थामा बिरामीले उक्त लक्षणलाई वास्तै नगरी बस्नुको साटो चिकित्सकसँग परामर्श गर्नु लाभदायक हुन्छ ।

रजोनिवृत्तिको अवस्थामा प्रवेश गरेपछि महिलाले कस्तो अनुभव गर्छन् ?

सामान्यतया रजोनिवृत्तिको अवस्था सुरु भएपछि धेरैजसो महिलाले सहवासका समयमा आफ्नो यौनाङ्ग सुख्खा भएको, कामोत्तेजना एवं यौन इच्छामा कमी आएको, छाला र आँखा सुख्खा र खस्रो हुने लक्षण महसुस गर्छन् । बारम्बार पिसाब लागेको पनि महसुस हुनसक्छ । उनीहरूको पिसाबको जाँच -रुटिन-कल्चर) गर्दा रिपोर्ट सामान्य पाइए पनि उनीहरू पिसाब पोलेको गुनासो गर्छन् । यसलाई ड्यासुरिया भनिन्छ जुन शरीरमा हार्मोनको कमीले गर्दा हुन्छ । दुःखको कुरा के छ भने धेरैजसो चिकित्सकसमेत त्यो अवस्थाबाट अनभिज्ञ हुन्छन् र अनावश्यक रूपमा पिसाबसम्बन्धी धेरै परीक्षण गराई अनावश्यक एन्टिवायोटिक्स लेख्छन् । यस्ता समस्यामा बिरामीले रजोनिवृत्तिसम्बन्धी परीक्षण गराउनु उपयुक्त हुन्छ ।

अर्को कुरा के छ भने, बिरामीका जोर्नीहरू दुख्न सक्छन् । त्यसका लागि समेत बिरामीलाई हाड-जोर्नी विशेषज्ञकहाँ देखाउन सल्लाह दिइन्छ र फेरि पनि महिलाले अनावश्यक औषधिको सेवन गर्नुपर्छ, जबकि ती सबै रजोनिवृत्तिका कारण भएका हुन् । यो एउटा समस्यालाई नबुझ्दा धेरै समस्या निम्तिएको देखिन्छ । उदाहरणका लागि रजोनिवृत्तकै कारण एउटी महिलामा अनिद्राको समस्या देखापर्दा उनलाई मानसिक रोग विशेषज्ञकहाँ पठाइन्छ र निद्रा लाग्ने तथा एन्टी डिप्रेसनका चक्कीहरू ख्वाइन्छ । ती अनावश्यक औषधिले शरीरमा नकारात्मक प्रभाव पार्ने हुँदा त्यसलाई दुःखद् नै मान्नुपर्छ । मानिसहरूले रजोनिवृत्ति र यसका असरहरूका विषयमा जान्नु राम्रो हुनेछ ।

रजोनिवृत्तिपूर्वका समस्याहरूबाट बच्न के गर्न सकिन्छ ?

सबैभन्दा पहिले हामीले उपयुक्त निदानात्मक विधि अपनाउनुपर्छ । रगतको जाँच, एफएसएच स्तरको जाँच, इस्ट्रोजन र सिरम क्याल्सियम स्तर, भिटामिन डी ३ स्तर र पेट तथा पेल्भिक्सको भिडियो एक्स-रे गरेर चिकित्सकले किटानका साथ रजोनिवृत्तको अवस्था भए नभएको पत्ता लगाउन सक्छन् । अन्य परीक्षणमा मधुमेहको परीक्षण र थाइराइड फङ्सन टेस्ट -थाइराइड ग्रन्थिको कार्य क्षमतासम्बन्धी परीक्षण) आदि गर्न सकिन्छ । त्यसपछि प्रसूति तथा स्त्रीरोग विशेषज्ञले बिरामीलाई आवश्यक सरसल्लाह दिन्छन् । हाम्रो परिप्रेक्ष्य वा समग्र दक्षिण एसियाली परिप्रेक्ष्यमा रजोनिवृत्तिको अवस्था सामान्य हो र त्यसका लागि चिकित्सकको परामर्श तथा औषधोपचार आवश्यक नपर्ने अवधारणा विद्यमान छ । चिकित्सकले बिरामीसँग आवश्यक परामर्श गरी त्यस्तो अवधारणा ठीक नभएको र औषधोपचार आवश्यक भएको बताउनुपर्छ । सत्य कुरा के हो भने रजोनिवृत्तिको अवस्थाका बिरामीले आफूलाई स्थिर र राम्रो अवस्थामा राख्न औषधिको सेवन अनिवार्य नै हुन्छ ।

रजोनिवृत्तिको अवस्थामा आवश्यक औषधोपचार नगर्ने हो भने सम्बन्धित बिरामी मात्र नभएर उनको परिवारै अप्ठेरोमा पर्न सक्छ । यसको उपचार अत्यन्तै आवश्यक र अपरिहार्य हुन्छ । उपचारका विधिहरूमा हार्मोन रिप्लेसमेन्ट थेरापी समेत पर्न सक्छ । यो उपचारबाट बिरामीको मानसिक एवं शारीरिक अवस्थालाई स्थिर राख्दै बिरामीको हाड-जोर्नी तथा मुटुलाई हानी हुनबाट जोगाउन सकिन्छ ।

नेपालमा यस किसिमको उपचारका लागि २.५ मिलिग्रामको एउटा खाने औषधि पाइन्छ । उक्त औषधि हरेक दिन एक चक्की खाने सल्लाह दिइन्छ । बिरामीले औषधि सेवन गर्न थालेको १५ दिनमा सुधारका संकेतहरू महसुस गर्न थाल्छन् । औषधि सेवन कहिले बन्द गर्ने भन्ने कुरा चिकित्सकले मात्र भन्न सक्छन् ।

रजोनिवृत्तिका बिरामीमा हड्डी भाँचिने तथा हृदयाघात हुने समस्यासमेत आइपर्न सक्छन् । त्यसका लागि बिरामीले आफ्नो स्वास्थ्य स्थितिप्रति ध्यान पुर्‍याउनुपर्छ । सामान्यतया चिकित्सकले भिटामिन डी ३ र रगतमा क्याल्सियमको स्तर हेर्ने तथा हड्डीको घनत्व हेरी क्याल्सियम, भिटामिन सप्लिमेन्ट दिन्छन् । चिकित्सकले क्याल्सियमयुक्त खाना तथा भटमास आदि जुन फाइटो-इस्ट्रोजन नामक तत्वले युक्त हुन्छ, त्यस्ता खानामा जोड दिनुपर्छ ।

मुटुका लागि उच्च कोलेस्टेरोल भएकाले अण्डाको पहेंलो भागबाहेक सबै चीज खान सक्छन् । रजोनिवृत्तको अवस्थामा एचडीएल धेरै कम हुने र एलडीएल बढी हुने गरेको पाइन्छ । त्यसकारण रजोनिवृत्तिका बिरामीलाई हृदयाघात हुने समस्या आइपर्न सक्छ । त्यसैले कम चिल्लोयुक्त खाना खानु लाभदायक हुन्छ ।

रजोनिवृत्तिपछि गर्भाधान सम्भव छ ?

सामान्यतया छैन । अपवादका रूपमा यदाकदा रजोनिवृत्तपछि पनि महिलाहरू गर्भवती भएको सुनिन्छ, तर त्यस्ता समाचारमा कति सत्यता छ भन्न सकिँदैन ।

सम्झनुपर्ने बुँदाहरू

नर्भिकमा रजोनिवृत्तिको अवस्थाका कम्तीमा २-३ जना महिला दैनिक रूपमा आउँछन् ।

महिलाको जीवनमा रजोनिवृत्ति भैसकेपछि अर्थात् लगातार १२ महिनासम्म महिनावारी बन्द भैसकेपछि पनि अपवादका रूपमा महिनावारी फेरि सुरु हुने सम्भावना रहन्छ । यो महिलाको शरीरमा हुनसक्ने विविध रोगको स्थितिका कारण हुन्छ । रोगको स्थिति हरेक बिरामीमा फरक-फरक हुन सक्छ । उदाहरणका लागि डिपो प्रोभेराजस्तो हार्मोनजन्य परिवार नियोजनको इन्जेक्सन लिइरहेका महिलाहरू सामान्यतया ४०-४५ वर्ष पुगेपछि गर्भवती हुन सक्दैनन् भन्ने सोच्छन् र उक्त उमेरसम्म पनि गर्भ निरोधक औषधिहरू प्रयोग गरिरहन्छन् । उनीहरू ४०-४५ वर्ष पुगेपछि ती औषधि प्रयोग गर्न छोड्छन् ।

त्यसपछाडि उनीहरूको महिनावारी वर्षौंसम्म रोकिन सक्छ । उनीहरू उक्त प्रक्रिया औषधिका कारण भएको हो कि रजोनिवृत्तका कारण भएको हो छुट्याउन सक्दैनन् । त्यसैबेला चिकित्सकले आवश्यक निदानात्मक परीक्षणहरू गर्नुपर्छ । त्यसबखत महिलाको रगतमा एफएसएच हार्मोनमा मात्रा पत्ता लगाउन रगतको परीक्षण गरिन्छ । परीक्षण गर्दा रगतमा एफएसएच हार्मोनको मात्रा धेरै पाइए ती महिलामा रजोनिवृत्त भएको निश्चित हुन्छ ।

रजोनिवृत्तपछि पनि कहिलेकाहीँ असाधारण रक्तस्राव हुनसक्छ । उक्त रक्तस्राव महिलाको यौनाङ्गमा हुनसक्ने अर्बुद रोग, पाठेघरको अर्बुद रोग वा ट्युमर र अन्य त्यस्तै कारणले हुनसक्छ । त्यसैले रजोनिवृत्तपछि पनि यदि असाधारण रक्तस्राव भए तत्कालै चिकित्सकसँग परामर्श नगरे खतरनाक हुनसक्छ ।

समयभन्दा पहिले हुने र सामान्य रूपमा वा प्राकृतिक रूपमा हुने रजोनिवृत्तका अतिरिक्त महिलामा गरिने शल्यक्रियात्मक उपचार, केमोथेरापी र रेडियो थेरापीका कारण पनि समयपूर्व रजोनिवृत्तिको अवस्था आउन सक्छ । महिलाको पाठेघर शल्यक्रिया गरी झिकिएको अवस्थामा पनि स्वतः रजोनिवृत्ति हुन्छ । उक्त अवस्थालाई सर्जिकल मेनोपोज भनिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com