जिन्दगि अभिशाप होइन-भविष्यको गायिका I

उनी जन्मजात अपांग भएर दुनियाँमा आइन्। जन्मँदै छोरी अपांग भएको पीडाले उनका आमाबाबु पनि धेरै समय रन्थनिए। एक त समाजमा छोरी भएर जन्मिनु अझै पनि आफैँमा अभिशाप मानिन्छ, त्यसमाथि बायाँ खुट्टाको पिँडुलामुनिको भाग नै गुमाएर जन्मिँदा हुनसम्मको कष्ट भयो अभिभावकलाई। सायद त्यसैले होला उनलाई बाटोमा छोडेर बाबुआमा नै बेपत्ता भए।

तर, यो अभिशाप लामो समयसम्म टिक्न सकेन। अनाथ आश्रम चलाइरहेकी उमादेवी बस्नेतले ती बालिकालाई भेटेपछि रीमा अनाथ हुनबाट बचिन्। उनी हुर्किंदै गइन् र बूढानीलकण्ठको शान्ति सेवागृहमा भर्ना भइन् अनि उनको मस्तिष्कले अपांगतालाई बिर्साउँदै लग्न थाल्यो। त्यहाँ उनलाई उमादेवीले हुर्काइन्, बढाइन् र पढाइन्। उनी पनि पढाइमा अब्बल भएर देखा पर्न थालिन्। अझ पढाइ सँगसँगै उनमा देखा परेको गायनकलाले उनी विद्यालयमा सबैकी प्यारी र स्नेही भइन्। उमाले उनलाई गायनका लागि प्रोत्साहित गररिहिन्। अनि, उनी निर्धक्क शिक्षक-अभिभावकको उपस्थितिमा गाएरै पुरस्कृत हुन थालिन्।

तर, रीमाले बूढानीलकण्ठमा लामो समय अध्ययन गर्ने अवसर पाइनन्। उमा काम गर्ने संस्था सिर्जनशील बालसेवा परविार, जसले रीमाको लालनपालन र शिक्षादीक्षाको जिम्मा लिएको छ, पेप्सीकोला सर्‍यो। र, रीमा गान्धी-तुलसी आदर्श उच्च माध्यमिक विद्यालयमा भर्ना भइन्। अहिले रीमा नौ वर्षमा हिँड्दै छिन् र त्यही विद्यालयमा ३ कक्षामा पढ्छिन्। यस वर्ष २ कक्षामा तेस्रो स्थान हासिल गरेर उनी ३ कक्षामा उक्लेकी हुन्। "अर्कोपटक प्रथम हुने सोचेकी छु," रीमा भन्छिन्, "यसपटक अझ मिहिनेत गर्छु।" उमा भन्छिन्, "यति सानै उमेरमा पनि उनीभित्र यति आत्मविश्वास भरएिको छ, उनका कुरा सुन्दा लाग्छ, उनी कुनै पनि सवलांगभन्दा कम छैनन्।"

तर, उनको लक्ष्य भविष्यमा गायिका बन्ने नै हो। उनले यसको सानोतिनो नमुना यसै विद्यालयमा पनि दिइसकेकी छन्। यहाँ आएर पनि उनले अतिरत्तिm क्रियाकलापमा सहभागी हुँदा गाएरै धेरै पुरस्कार बटुलिरहेकी छन्।

उनको सानो मस्तिष्कले के कुरा बुझेको छ भने शारीरकि रूपमा कुनै अंग अनुपयोगी हुँदैमा मानिस अपांग हुने होइन। यो त देख्नेका आँखामा अप्ठ्यारो लाग्ने मात्र हो। मुख्य त मानिसको शिक्षा, ज्ञान, विचार र विवेकमा अपांगता हुनुहुँदैन। आज विवेकको अपांगताले ठूल्ठूला भनिएका मानिस पनि अपांग भएका छन्। तिनमा शिक्षा र ज्ञान भएर पनि विचार छैन। तिनमा कला छैन। त्यसैले तिनीहरू रीमाको शारीरकि अपांगताका अगाडि मानसिक रूपमा कता हो कता कमजोर र लुला लाग्छन्। त्यसैले उनलाई आफ्नो एउटा खुट्टा नभएकामा कहिल्यै पछुतो भएन। झन् गायनमा लागेपछि त उनले यो कुरा सम्भिmन पनि छाडिन्।

उमादेवीको काख पाएपछि उनले आफू अनाथ हुँ भन्ने कुरा पनि बिर्सेकी छन्। 'आमा' उमादेवी बस्नेतको साथ र सहयोग नपाएकी भए उनका लागि पढ्नु त के गायन क्षेत्रमा पाइलो उचाल्नु पनि कल्पना हुने थियो। त्यसैले उमाप्रति आभार हुँदै रीमा भन्छिन्, "ममीले नै मलाई असाध्यै माया गरेर लोकदोहोरी गाउन सिकाउनुहुन्छ।" उमादेवी पनि गाउँछिन् र उनको मीठो स्वरलाई पछ्याउँदै रीमा भविष्यमा कर्णपि्रय गायिका बन्ने सपना देखिरहेकी छन्। "म रेडियो खोलिदिन्छु, उनी त्यही स्वरलाई पछ्याउँदै गाउँछिन्," उमा भन्छिन्, "मैले यी छोरीमा गायनको प्रशस्त सम्भावना देखेकी छु।"

रीमालाई दीपक लिम्बू र अञ्जु पन्तको स्वरले मोहित पार्छ। तर, उनीचाहिँ लोकगायिका बन्न चाहन्छिन्। जब मञ्चको एउटा कुनामा अडेसिएर उनी गाउन थाल्छिन् अनि उनको स्वरमा लोकभाका जीवन्त भएर गुञ्जिन थाल्छ।

भीरमा मौरी डुल्ने बेलामा, कोदो रोप्दा लाएको पिरती, चुँट्यो डोरी डुब्ने बेलामा।

यस लोकगीतमा डुबेर निस्केको बालिका रीमाको स्वर सुन्दा अहिल्यै अनुमान गर्न सकिन्छ, संगीतको उचित शिक्षा र अभ्यासको अवसर पाइन् भने उनले भविष्यमा नेपाली लोकसंगीतमा उपलब्धिको लामो फड्को मार्नेछिन्। तर, यसका लागि पनि पढाइ नै पहिलो सर्त हो, उनका लागि। एउटा सफल गायिका बन्नलाई संगीत सँगसँगै विद्यालय र विश्वविद्यालयको अध्ययनमा पनि अब्बल हुनु जरुरी छ। "म पढाइलाई बाधा नपर्ने गरी बेलुकी एक घन्टा ममीसँग गायनको नियमित अभ्यास गर्छु।" 

यसले उनलाई विद्यालयका पाठहरूमा अभिरुचि जगाउन झन् मद्दत गर्छ। किनभने, दिनभरकिो पढाइले रन्थनिएको दिमागमा जब सङ्गीतका सुकोमल सप्तकहरू तरंगित हुन थाल्छन्, त्यसबेला उनको दिमागले स्फूर्ति अनुभूत गर्छ। त्यसैले संगीतसँगै शिक्षा र शिक्षासँगै संगीत अनिवार्य हुनुपर्नेमा उनको जोड छ। भन्छिन्, "भविष्यमा एउटा सफल गायिका हुने रहर छ। यसमा मलाई सधैँ ममीको पूर्ण साथ रहने अपेक्षा गरेकी छु।"
ek:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com