पुरुषहरुको नजरमा नेपाली महिलाहरूप्रतिको दृष्टिकोण I

भिरना नहर्की/ सिर्जना श्रेष्ठ  :- नेपालका वरिष्ठ पुरुषहरूमा नेपाली महिलाहरूप्रतिको दृष्टिकोण निकै सकारात्मक तथा प्रोत्साहनजनक पाइयो । उनीहरूले नेपाली महिलालाई मात्र होइन समग्र महिलाहरूलाई आदरणीय व्यक्तिका रूपमा स्वीकार गरे । महिलाहरूको माया गर्ने शैली, क्रोध, सहनशीलता एवं धैर्यलाई कसैसँग दाँज्न मिल्दैन ।

ती सबै विशेषता पुरुषहरूमा कमै पाइन्छन् । पुरुषहरूले तिनै गुण महिलाबाट सिक्नुपर्ने हुन्छ । विगत एक दशकदेखि नेपाली महिलाहरूले आफ्ना पखेटा हरेक क्षेत्रमा फैलाइरहेका छन् । घरायसी काममा कुशल महिलाहरूले आर्थिक, सामाजिक, व्यावसायिक, प्रशासनिक, बैंकर, कूटनीतिक आदि भूमिकामा आफूलाई दक्ष सावित गरेको कुरा पनि सर्वस्वीकार्य हुँदै गएको छ । महिलाहरू घरायसी एवं बाहिरी दुवै काममा समान रूपमा अघि बढिरहेका छन् ।

महिलाहरूले घर-परिवारलाई बढी समय दिन्छन् । आमा तथा श्रीमतीको सहयोग र साथले आफूहरूलाई स्थापित हुन सजिलो भएको नेपाली पुरुषहरूको धारणा छ । छोराछोरीको अफिसको मिटिङ होस् वा पारिवारिक जमघट ती सबै कुरा श्रीमतीहरूले नै सम्हालेका छन् । महिलाहरूको सौन्दर्यको पनि उनीहरूले विविध प्रकारले वर्णन गरेका छन् । महिलाहरूको बाहिरी तथा भित्री सौन्दर्य दुवै महत्वपूर्ण भएको उनीहरूले जिकिर गरे ।

काठमाडौंलाई नयाँ स्वरूप दिन लागिपरेका पूर्वमेयर केशव स्थापितका अनुसार जसरी बगैंचामा विभिन्न किसिमका फूल फुलेका हुन्छन्, त्यसमा जस्ता विविधता हुन्छन् त्यसैगरी नेपाली महिलाहरूमा बनोट, मेहनत, सहनशीलता एवं आत्मीयताको विविधता पाइन्छ ।

राजनीतिक फाँटका व्यक्तित्व मीनेन्द्र रिजाल नेपाली महिलाहरूको काम गर्ने शैलीबाट प्रभावित छन् । यद्यपि अझै उनीहरूले आफ्नो इमान्दारिता एवं धैर्यको पहिचान गर्नुपर्ने रिजाल बताउँछन् । नेपाली महिलाहरू विवाह संस्थाप्रति निकै इमान्दार छन् । रिजालको दृष्टिमा उनीहरू जस्तोसुकै दुःख एवं पीडा भए पनि त्यो सम्झौतालाई हरेक पल निर्वाह गर्न खोज्छन्, उनीहरूका लागि सम्बन्धको विशेष महत्व छ ।

उद्यमी कुशकुमार जोशी नेपाली महिलाहरू निकै जुझारु भएको बताउँछन् । युद्ध भूमिमा अस्त्र उठाउने होस् वा अरू उनीहरू कठोरभन्दा कठोर काम गर्न सक्षम छन् । उनको नजरमा महिला भन्नेबित्तिकै सबैलाई समेट्न सक्ने व्यक्तित्व हो । जोशी महिलालाई माया र संरक्षण गर्न सक्ने व्यक्तिका रूपमा स्वीकार गर्छन् ।

नेपाली फुटबलका सुपरिचित युवा खेलाडी सन्दीप राई नेपाली महिलाहरूलाई सहनशीलताको प्रतिमूर्तिका रूपमा लिन्छन् । उनका अनुसार महिलाहरू आफू रोएर अरूलाई हँसाउन र आफू जलेर अरूलाई बचाउन सक्छन् । त्यसैले महिलाहरू धैर्य एवं कठोर परिश्रमका पर्याय हुन् । राईलाई यो देशमा एकपटक महिला प्रधानमन्त्री भए हुन्छ जस्तो लाग्छ ।

डा. भारत रावतले नेपाली महिलालाई संघर्षशील तथा बहुप्रतिभाशाली व्यक्तिका रूपमा स्वीकार गर्दै उनीहरू आफ्नो स्वास्थ्यको समेत ख्याल नराखी घर-परिवार सम्हाल्न क्रियाशील रहने बताए ।

वास्तुविद् डा.वासुदेव शास्त्री भन्छन्-महिलाहरू पहिलेदेखि नै देवीका रूपमा सम्मानित हुँदै आएका छन् । देवताहरूलाई कुनै पनि संकट आइपर्दा देवीहरूलाई बोलाइन्थ्यो । देवीहरूले दानवहरूलाई जस्तोसुकै संकटबाट पनि बचाउँथे । अहिले पनि नेपाली महिलाहरूले त्यसको अनुशरण गरिरहेका छन् । घर-परिवारमा कुनै विपत्ति आउँदा त्यसलाई सुल्झाउन महिलाकै महत्वपूर्ण भूमिका हुन्छ । नेपाली महिलाहरू घरबाट सदनसम्म पुग्न पनि सफल भएका छन् ।

थिएटर आर्टिस्ट सलिल सुवेदीलाई नेपाली महिलाहरू डाइनामिक लाग्छन् । अहिले पनि कतिपय ठाउँमा आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपमा दबाएर राखिएका महिलाहरू पनि उनको नजरमा छन् । त्यस्तो ठाउँबाट पनि आफ्नो सिर्जनात्मक शक्तिबाट आफ्नो सिर्जना प्रस्फुटन गराउन प्लेट र्फम खोजेर लागेका नेपाली महिलाहरू पनि उनले भेटेको बताए । त्यसैले नेपाली महिलाहरू सिर्जनात्मक छन्, तर उनीहरूले अवसर एवं ठाउँ पाउन सकेका छैनन् । यदि अवसर दिने हो भने नेपाली महिलाहरूले पनि देशलाई उन्नतिको मार्गमा अघि बढाउन सक्ने सुवेदीलेे बताए । शिक्षा क्षेत्रमा लामो समय बिताएका वसन्त थापा भन्छन्-नेपाली महिलाहरू सिर्जनात्मक कार्य तथा शिक्षामा पनि रुचि राख्न थालेका छन् । नेपाली छात्राहरूले पनि छात्रहरूले जस्तै विभिन्न बोर्ड परिक्षामा आफ्नो नाममा रेकर्ड राखिसकेका छन् । नेपाली महिलाहरू अवसर एवं सुविधा पाए विश्वमै आफ्नो पृथक् छवि बनाउन सफल हुँदै आएका छन् ।

नेपाल टेलिभिजनका मनोहरि थापालाई नारीबिनाको समाज, परिवार तथा अफिस जहाँ पनि अधूरै लाग्छ । उनका अनुसार नारीबिना विकास सम्भव छैन, सफल परिवार बन्न सक्दैन । महिलाबिना पुरुष मात्र होइन, यो समाज एवं राष्ट्र नै अपाङ्ग हुन्छ । नेपाली महिलाहरूलाई अवसर दिने हो भने उनीहरूले जस्तोसुकै काम पनि सफल बनाउन सक्छन् । नेपाली महिलाहरूले चलाएका कार्यालयहरू सफल रूपमा अघि बढिरहेको उनले स्वीकार गरेका छन् ।

संगीतकार न्ह्यू बज्राचार्य नेपाली महिलाहरू सिक्न इच्छुक र केही गरौं भन्ने भावनाले ओतप्रोत भएको बताए । उनीहरूको काम गर्ने शैली र प्रोत्साहन गर्ने प्रवृत्तिले पुरुषहरू अघि बढ्न सक्ने वातावरण बनेको बज्राचार्यको धारणा थियो ।

नायक राजेश हमाल नेपाली महिलाहरू आत्मविश्वासी बन्दै गएकोमा प्रसन्न मात्र हुँदैनन् उनीहरूले सामाजिक क्षेत्रमा गरेको पहिचान देखेर छक्क पनि परेका छन् । साहसी महिलाहरूले देशमा मात्र होइन विदेशमा समेत ख्याति कमाएका छन् । सिएनएन हिरो अनुराधा कोइरालापछि अहिले फेरि त्यसमा पुष्पा बस्नेतको मनोनयन भएकोमा उनी दंग छन् । नारीसँगको कुराकानीमा नायक हमाल भन्छन्-समग्रमा भन्ने हो भने नेपाली महिलाहरू पुरुषसरह तथा कतिपय क्षेत्रमा पुरुषभन्दा अगाडि छन् । नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com