जिवानको पहिलो परिवर्तन-महिनावारी हुँदा i

किशोरावस्थाका युवतीहरूमा शारीरिक एवं मानसिक परिवर्तन देखा पर्छन् । त्यस्तै परिवर्तनमध्ये महिनावारी पनि एक हो । युवतीहरू किशोरावस्थामा प्रवेश गरेपछि पहिलोपटक महिनावारी हुन्छन् । म पनि १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिएँ ।

सानै उमेरमा पहिलो पटक महिनावारी हुँदा मलाई महिनावारी भनेको के हो थाहा थिएन । त्यतिबेला म आठ कक्षामा पढ्थें । विद्यालयमा पनि यस विषयमा खासै ज्ञान दिइएको थिएन । महिनावारीका बारेमा अज्ञात म पहिलो पटक निकै डराएकी थिएँ । यति चाँडै भएकोमा मलाई आफैदेखि रिस पनि उठेको थियो । त्यसमाथि विद्यालयमा हुँदा त अझ के चाहियो र ? आफूप्रति रिसको कुनै सीमा थिएन । म आफैभित्र लाजको तरंगमा खेलिरहेकी थिएँ ।

विस्तारै हिम्मत जुटाई आशा, प्रतिमा र सिर्जनालाई भनें । उनीहरूले कुनै संकोच नमानी मलाई आश्वासन दिए । तैपनि मलाई एकदमै अप्ठ्यारो लागिरहेको थियो । साथीहरूले सफला मिसलाई मेरा बारेमा भने । त्यसबेला मलाई मिसको मुखमा हेर्ने आँटसम्म आएन । लाजले गर्दा म रातो-पिरो भएकी थिएँ । मिसले सम्झाउँदै आत्तिनु पर्दैन, यो प्राकृतिक नियम हो भन्नुभयो । उहाँले हरेक नारीले यो परिस्थितिको सामना गर्नुपर्छ भनेपछि मेरो मन हल्का भयो ।

मलाई विद्यालयबाट घर पठाइयो । बाटोभरि आमा-बुवाको अगाडि कसरी पर्ने होला भन्ने डर लागिरहेको थियो । घरमा त पुगें तर आमा-बुवाको सामना भने गर्न सकिन । एकछिन ढोकामा उभिएँ । भित्र आमा-बुवा हुनुहुन्थ्यो । घरकी जेठी छोरी भएकीले यसभन्दा पहिले महिनावारी भएका दिदीहरूले के गरे थाहा हुने कुरा भएन । आमाले मलाई देख्नुभयो । आमा नजिक आएपछि मैले सबै कुरा बताएँ । आमाले मलाई हतार-हतार कोठामा लानुभयो । त्यसपछि मलाई चाहिने प्याड दिनुभयो तर मलाई पहिलो पटक भएकाले कसरी प्रयोग गर्ने भन्ने कुराको ज्ञान पनि थिएन ।

म केही सोच्न सकिरहेकी थिइन । डर र लाजले गर्दा कसैसँग मुख देखाउन पनि मलाई गाह्रो परिरहेको थियो । पहिलो पटक महिनावारी हुँदा अँध्यारो कोठामा १५ दिनसम्म बस्नुपर्ने ? आफ्ना घरका पुरुष सदस्यको अनुहार पनि हेर्न नहुने कस्तो अचम्मको नियम ? आमाले कोठाको बन्दोबस्त मिलाउनुभयो । मलाई एउटा अँध्यारो कोठामा लगियो । कोठामा घामको किरण पनि पर्दैनथ्यो । त्यो कोठामा बस्ने भनेपछि आमासँग रोएँ, कराएँ । अन्त्यमा त्यही कोठामा बस्न बाध्य भएँ । सुनसान कोठाभित्र निस्सासिएकी थिएँ म ।

दिउँसो सबै साथी विद्यालय जान्थे । त्यतिबेला म एक्लो महसुस गर्थें । एक्लै बस्दा मनमा नानाथरि कुरा खेल्थे । विद्यालयको निकै सम्झना आउँथ्यो । धेरै पाठ छुटिसक्यो होला भनेर चिन्ता पनि हुन्थ्यो । कहिलेकाहीँ बाहिर निस्किएपछि मानिसले मलाई कहाँ गएकी थिइस् भन्ोर प्रश्न गर्दा के भन्ने होला भन्ने कुरा पनि खेल्थ्यो ।

कोठामा ठूला महिला आउँदा तिनीहरूसँग बोल्न साह्रै असजिलो महसुस हुनुका साथै आफू फोहोरी भएको अनुभव हुन्थ्यो । कसैले मलाई जिस्क्याउँथे, कसैले अब त यो ठूली भइसकिछ भन्थे । यसो भन्दा गहभरि आँसु आउँथ्यो । मलाई हरेक कुरामा वा व्यवहारमा महिनावारी भएका केटीहरूमाथि भेदभाव गरिएजस्तो लाग्थ्यो । किनभने त्यतिबेला आफ्नै आफन्तले पनि मलाई नछुने र मैले छोएको पनि केही नलिने र मलाई केही दिँदा पनि टाढाबाटै दिने हुँदा मलाई म कतै टाढाबाट ल्याइएकी रहेछु जस्तो लाग्थ्यो ।

त्यति मात्र कहाँ हो र ? बेलुका सुत्ने खाटमा आफूबाहेक अरूसँगै सुत्न नहुने, मैले छोएका भाँडा, थाल सबै सुनपानी छर्कनुपर्ने ? यस्तो गर्दा महिनावारी भएका केटीहरूले भेदभाव गरेको नसोचेर के सोच्ने ? बिहानीपख सधै नुहाउनुपर्ने भएकाले म बिरामी पनि भएँ । मलाई अस्पताल लग्नुपर्ने अवस्था आएको थियो । तर डाक्टरको सल्लाहअनुसार मलाई त्यही कोठामा नै सन्चो बनाइयो ।

म त्यही कोठामा बत्ती बाली पुस्तक पढ्थंे । बाहिरको रमझम एवं रमाइलोले मलाई कोठा बाहिरको वातावरणले निकै आकषिर्त गर्थे तर मेरो रहर कोठामा सेलाउँथ्यो । यसरी मेरा १४ दिन डर, अँासु र रहरले बिते । १५ दिनको दिन बाहिर निस्कने भएकाले मैले चलाएका सबै वस्तु, ओछ्यान धोएँ र नुहाएँ पनि । आमा र काकी मिलेर मलाई त्यो कोठाबाट निकाल्नुभयो । यसरी निकाल्दा मैले आफूलाई पिजडाबाट निस्किएको चराझैं पाएकी थिएँ ।

त्यो कोठाबाट निस्कँदा खुसीका साथै लाज लागेको थियो । घरमा पस्नुभन्दा अघि मलाई घरका सबै सदस्यले टीका लगाई पैसा, कपडा आदि दिनुभयो । लाजले हो कि बुवा, काकाको मुखमा हेर्ने आँट आएको थिएन । पछि बाहिर निस्कदा छिमेकीले महिनावारी भएकी होइन ? अब ठूली भइछौ भन्दा मलाई भित्रभित्रै रिस उठ्थ्यो । यस्तो लाग्थ्यो, अझै पनि हाम्रो देश कुसंस्कृतिको खाडलमा फसेको छ । महिनावारी जस्तो प्राकृतिक नियमलाई पनि रीतिरिवाजको नाम दिई किशोरीहरूलाई घरको चार कुनामा बन्द गर्नु भनेको साह्रै लाजलाग्दो कुरा हो । यस्तो अन्धपरम्परालाई शिरोपर गर्ने हामी मूर्ख हौं जस्तो लाग्छ । नारी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com