गर्मीमा स्किनलाइ कसरि टेक केयर गर्ने I

हप्तामा एकपटक अनुहारमा प्याक लगाउँदा छाला पुष्ट हुन्छ र त्यसको रौनक पनि बढ्छ । गर्मी महिनामा छालाको सौन्दर्य बढाउन घरेलु सामग्रीको उपयोग लाभकारी मानिन्छ । छाला विशेषज्ञ एवं सौन्दर्य प्रसाधन उत्पादकहरूका अनुसार गर्मीमा छालालाई कान्तियुक्त बनाउन घरेलु सामग्रीहरूद्वारा उपचार गराउनु वेश हुन्छ ।

काँक्रा ः काँक्रामा छालालाई शुद्ध गर्ने र गर्मीमा शीतलता प्रदान गर्ने गुण हुन्छ । काँक्राले छाला कसिलो बनाउँछ । काँक्राको लेप गर्मी महिनाभरि लगाउने हो भने ताजापन अनुभव गर्न सकिन्छ । कोरेको काँक्रालाई अनुहारमा प्याकजस्तै बनाई लगाएर २०-२५ मिनेटपछि सफा गर्दा निकै फाइदा हुन्छ । यसले छालाको अनावश्यक चिल्लो नष्ट गरी छाला सफा, गोरो एवं कान्तियुक्त बनाउँछ । घामका कारण छाला डढेको छ भने काँक्रा खाँदा र कोरेको काँक्रामा दूध मिसाई नियमित रूपमा १ महिनासम्म लगाउँदा छाला

सफा र गोरो हुन्छ ।

खरबुजा ः खरबुजाको प्रयोग छालाको सफाइका लागि पनि गर्न सकिन्छ । खरबुजाको रसलाई आइस ट्रेमा डिपपि|mज गर्ने, जमेको आइस क्युबलाई चिल्लो आएर हैरान हुने दिदी-बहिनीले मेकअप गर्नुपूर्व छालामा दली अनुहार सफा गर्न सक्नुहुन्छ । त्यसपछि गरिएको मेकअप दिनभरि टिक्छ र अनुहारको चिल्लो पनि कम हुन्छ । खरबुजाले छालाको फोहोर-मैला निकाली चिल्लो छालालाई कलकलाउँदो बनाई छालाको लालिमा वृद्धि गर्छ ।

कागती ः अनुहारको छालाको समस्या हटाउन कागती रामवाण नै हो । चिल्लो छाला, घामले डढेको छाला, फोहोर छालाका समस्या कागती प्रयोग गरे समाधान हुन्छ । कागती नियमित प्रयोग गरिएको छ भने छालामा छिटै चाउरी पर्दैन र चायाँ-पोतो पनि आउँदैन अनि छालाको चमक दीर्घकालीन हुन्छ । कागतीको रसमा थोरै मात्रामा दूधको तर र त्यति नै मात्रामा मह हाली घोल्ने । यसलाई लगाएर २० मिनेटपछि अनुहार सफा गर्ने । यो उपाय छाला सुख्खा हुने समस्या हटाउन निकै सहयोगी छ । चिल्लो छालामा कागतीको टुक्रा दली १० मिनेटपछि सफा गरे छालाको अनावश्यक चिल्लोपनबाट मुक्ति पाइन्छ र छाला गोरो एवं सफा हुन्छ ।

अंगुर ः अंगुरलाई एस्टि्रजेन्टका रूपमा प्रयोग गर्न सकिन्छ । कालो अगंुरलाई मिक्सरमा मिक्स गरी अनुहारमा प्याकजस्तै लगाई २० मिनेट राख्ने र अनुहार सफा गर्ने । यो उपाय हप्ताको दुईपटक अवलम्बन गरे छाला सफा देखिनुका साथै छालाको चिल्लोपन घटेर जान्छ ।

गोलभेंडा ः गर्मी मौसममा छालाको तैलीय ग्रन्थि अधिक सक्रिय हुनाले अनुहारमा बढी मात्रामा तेल आएर छालामा भएको प्वाल ठूलो देखिन्छ जसले गर्दा छाला थाकेजस्तो देखिन्छ । यसबाट बच्न दिनहुँ गोलभेंडाको प्रयोग गरे छालाको प्वाल विस्तारै हट्दै जान्छ र छाला कसिलो एवं चम्किलो हुन्छ । गोलभेंडालाई अनुहारमा प्याक लगाएजस्तै लगाई २० मिनेट राखेपछि सफा गर्दा समस्या हराउँदै जान्छ ।

बन्दागोभी ः यसले छालाको सौन्दर्य वृद्धिमा फाइदा पुर्‍याउँछ । बन्दालाई काटेर ५ कप पानीमा उमाल्ने । पानी आधा मात्र बाँकी भएपछि आगोबाट झिक्ने र सेलाउन दिने, सेलाएको पानीलाई निकालेर सफा सिसीमा भर्ने र पि|mजमा राख्ने । पि|mजमा राखेको बन्दाको पानी दुईदिन मात्र प्रयोग गर्ने, यो पानीले अनुहार धोए अनुहार सफा देखिन्छ । बन्दालाई मसिनो पेस्टजस्तो बनाई प्याकका रूपमा पनि लगाउन सकिन्छ ।

मेवा ः मेवाको बोक्रा, बीउ र गुदी सबै छालाको सौन्दर्यका लागि अत्यन्तै महत्वपूर्ण छन् । मेवामा एन्जाइम भएकालेे यसले छालाको मृतकोष सफा गर्छ भने छाला ताजा र सफा देखिनुका साथै मुलायम पनि हुन्छ । मेवालाई अनुहारमा गर्मीभरि प्याकका रूपमा लगाई २० मिनेट राखेर पानीले सफा गरे छालाको सौन्दर्य वृद्धि हुन्छ । मेवाको बीउलाई पिस्ने र स्क्रबजस्तै अनुहारमा लगाउँदा मृतकोष हट्छ ।

दही ः दहीमा इन्जाइमको मात्रा प्रशस्त भएका कारण यो एक प्रकारको स्किन टोनिक पनि हो । दहीको प्रयोग अनुहारको छालाका साथै केशमा पनि गर्न सकिन्छ । दुई चम्चा दहीमा आधा सानो चम्चा शुद्ध बेसार मिसाई अनुहारमा लगाई २० मिनेट राखेपछि अनुहार माड्ने । अन्त्यमा पानीले अनुहार सफा गर्ने । यो उपाय अवलम्बन गर्दा चिल्लो छालामा फाइदा पुग्नुका साथै छालाका दाग-धब्बा हराएर जान्छन् र छाला नरम एवं गोरो देखिन्छ । गर्मी मौसममा घामको सम्पर्कले छाला डढेजस्तो देखिन्छ । यस्तो समस्याका लागि यो उपाय अत्यन्तै लाभकारी हुन्छ । नारी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com