कसैले कस्तो देख्लान
कसैले बेग्लै देख्लान
र कसैले रुँदै गरेको देख्लान
तर म देख्ने गर्छु
मेरो देश सदा सुन्दर र
बसन्तको नयाँ पालुवा झैं
मुस्कुराई रहेकी छिन
आफ्नो लाली फिजौदै
हिमाली फेटा बाँधी
कोमल नयन बाट
झर्नारुपी हर्षको आँशु बगाउदै छिन
कसैले कुरूप देख्लान आफुलाई क्यालिफोर्निया
र पेरिसको सिटि सेन्टर निर उभ्याएर
तर म देख्ने गर्छु,सोंच्ने गर्छु
मेरो देश कुनै शहर संग तुलना गर्न सुहाउदैन
जुन शहर कृतिम छ
मानब निर्मित छ
म मरुभूमिको उजाड बालुवा माथि उभिंदा होस् या
सयौं तल बुर्जा टावर माथि टेक्दा होस्
मेरो देश कुनै चित्रकारले क्यानभासमा
पोतिएका रंगहरुको सुन्दर बिम्ब भन्दा कम देख्दिन
ति आकासमा उड्दै गरेको बादलुमा
हो म मध्यपुर्विया मृत सागरमा तैरिदै गर्दा
पर-पर सूर्य जन्मने दिशा निर सुस्त सुस्त
माथि बग्दै गरेको बादलु माथि म देख्ने गर्छु मेरो रातो माट्टे
बारीका गाह्रहरु
अनि देख्ने गर्छु खडेरीमा डढेका सल्लेरी बन पाखा
तर पनि कति सुन्दर देख्छु र कति रमणीय देख्छु
त्यो बन पाखा जहाँ
न्याउली कोहिले गाउने गर्छन
कयौं अनिदो रातहरु
हङ्कङ शहर र युकेका ब्रिज वार-पार गर्दै
पिडित मन लिई सुसाएको थिएँ
तिनै मेरा देशको सुन्दर बिम्ब आँखा सामु राखी
आफु बिरुद्ध दुस्मनले छेंडने भयले कयौं देशहरुले
बाँध र पर्खालहरु
ठड्याउँदै गर्दा मलाई लाग्छ मेरा थुम्काहरु त्यो चाल पाएर
हातले ओंठ छोप्दै खित्का छाडी हाँसी रहेका छन्
अरबभूमिका सडक किनार-किनारको कुरा छाडौं
युरोपका सडक किनार-किनारमा
अनाथ रुख र फूलका बिरुवाहरु
सार्दै गरेको खबरले
मेरा देशका भिर फूलहरु र
चारकोशे झाडीहरु दयाले मौन छन्
दैवि प्रकोपमा सुनामीको तीरले
समुन्द्रका पर्दाहरु एना सरि चर्किंदै
पोखिंदै गर्दा
मेरो देशको नदीहरु त्यहि सागरको अस्तित्व
जोगाउन आतुरले उर्लेर भाग्ने गर्छन
हो,यसैले त मलाई लाग्ने गर्छ
मेरो देश सु-सम्पन्न र सुन्दर छे
र त म घरदेश छाडी परदेशको कुनै कुनामा
कुनै छेउमा आशु पिउदै पसिना र रगत बगाउदै
गर्दा उसले जस्तो,त्यसले जस्तो
मेरो देशलाई दोषी ठहराईन
बरु मेरो सृजनसिल शक्ति र कर्म गर्ने पाखुरी
बोंदो सम्झी तिखारी रहें
न त कुनै बेला घाम जून झैं चम्की रहने
शहरको बीच भागमा आफु आसिन हुँदा
चिलो मिठोमा भुलेर मेरो देशलाई भुलें
त्यसैले म गर्व गर्ने गर्छु
मेरो देश ....
मेरो देश सुन्दर छे र सु-सम्पन्न छे |
-राजेश रुम्बा लामा 'अतृप्त'