पोखरा, जेष्ठ २७ ,
सशस्त्र प्रहरी बल अधिकृतको नवौं समूहमा सत्यदेवी बस्नेत पुरुषसरह तालिम पूरा गर्ने एक्ली महिला भएकी छन् । उनले महिला आरक्षण वा कुनै कोटामा नभई खुला प्रतिस्पर्धामा प्रहरी निरीक्षक हुन सफलता पाएकी हुन् ।
सशस्त्र प्रहरीको शुक्रबार यहाँ सम्पन्न दीक्षान्त समारोहमा ७७ निरीक्षकमध्ये काठमाडौं कीर्तिपुर मच्छेगाउूकी उनी एक मात्र महिला हुन् । उनले ७६ पुरुषसरह नै कठिन अभ्यास पार गरिन् । उनले अन्य ४३ पुरुषलाई पछाडि पारेर ३४ औं बरियता पनि कायम गरेकी छन् । पुरुषहरूका बीचमा देखिएकी एक मात्र महिलाको कवाज र कराँते प्रदर्शन दीक्षान्त समारोहमा सहभागीहरूको चासो र आकर्षक व्यक्तित्व बनेकी थिइन् ।
एक्लो महिला भएकाले केही असजिलो भए पनि तालिम अरूसरह पूरा गरेकामा उनी खुसी छन् । 'तालिममा चुनौतीपूर्ण हुने सबै शारीरिक अभ्यास पार गरेू,' उनले भनिन् । नेपाल प्रहरीमा ०६३ मा प्रहरी सहायक निरीक्षक भएकी उनी अहिले सशस्त्रमा पनि सफल भएकी हुन् । 'जता भए पनि फौजमा अधिकृत हुने लक्ष्य थियो, सशस्त्रमा खुल्यो, परीक्षा दिँए, नाम निस्क्यो,' उनले भनिन्, 'एउटा सपना पूरा भएको छ । अबका चुनौती पनि सामना गर्दै जानेछु ।'
नेपाली सेनाका निवृत्त कृष्णबहादुर बस्नेतकी छोरी सत्यदेवीका ३ दाजुभाइ र १ दिदी छन् । पाङ माविमा एसएलसी गरेकी उनले पद्मकन्या कलेजबाट व्यवस्थापनमा स्नातक गरेकी छन् । उक्त समूहमा सर्वोत्कृष्ट भएका केदारनाथ सापकोटालाई प्रधानमन्त्री बाबुराम भट्टराईले पुरस्कार तथा बधाई दिएका थिए । दीक्षान्त समारोहमा प्रधानमन्त्री भट्टराईका साथै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले दीक्षितहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै