समय थाहा पाउन घडी, तस्बिर/भिडियो खिच्न क्यामेरा, इन्टरनेट चलाउन ल्यापटप, गीत सुन्न म्युजिक प्लेयर, गेम खेल्न गेमिङ पिसी, हिसाब गर्न क्यालकुलेटर बोक्नुपर्ने झन्झट छैन अब। यी सबै प्रयोजनका लागि एउटै मोबाइल खल्तीमा च्यापे हुन्छ। बहुउपयोगिताकै कारण यो सञ्चार उपकरणले ग्याजेट बजारमा सशक्त उपस्थिति जनाउँदै आएको छ।
समय सूचकका रूपमा घडीको अनिवार्यतालाई जसरी मोबाइलले लोप्पा ख्वाइदियो, डिजिटल क्यामेराले पनि अब यसको चुनौती सामना गर्नुपर्नेछ। किनभने अहिले हरेक मोबाइलले क्यामेराको सुविधा दिन थालेका छन्, त्यो पनि गुणस्तरीय रूपमा। एउटा सामान्य डिजिटल क्यामेराले भन्दा धेरै गुणा बढी राम्रो तस्बिर खिच्न सकिने मोबाइल बजारमा भेटिन्छ। एनालगको वर्षौं पुरानो बजार ध्वस्त गरेर आक्रामक रू पमा आएको डिजिटल क्यामेराको बजारमा मोबाइल 'सौता' बनेर भित्रिएको छ।
यसको पछिल्लो उदाहरण हो - नोकिया। फिनल्यान्डको फोन निर्माता कम्पनी नोकियाले प्योरभ्यू भर्सनमा ४१ मेगापिक्सेलको क्यामेरायुक्त सेट ल्याउँदैछ। यसलाई 'क्यामेरा फोन' को संज्ञा दिइएको छ। सेटमा ४ एक्स डिजिटल जुमको सुविधा छ, जसले टाढाका वस्तुको तस्बिर पनि स्तरीय देखाउँछ। नोकिया प्योरभ्युले व्यावसायिक फोटोग्राफीकै अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यो सेटलाई स्तरीय क्यामेराकै रूपमा प्रयोग गर्न सकिन्छ।
नोकियाको अरू सेटजस्तै यो सिवियन अपरेटिङ सिस्टममा चल्नेछ। थि्रजी सुविधायुक्त यो सेटमा पाँच इन्चको स्क्रिन छ। यसमा एक गिगाहर्जको ड्युलकोर प्रोसेर र ५ सय १२ एमबी र्याम छ। एचटिसीको टाइटन-२ लाई पनि 'क्यामेरा फोन' कै नाम दिइएको छ। १६ मेगापिक्सलको क्यामेरायुक्त सेट कन्ज्युमर इलेक्ट्रोनिक शो-२०१२ मा प्रस्तुत गरिएको थियो। यसको १६ मेगापिक्सेल क्यामेरामा एफ २ दशमलव ६ अपर्चर छ, जसले कम उज्यालोमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्छ।
त्यसो त डिजिटल क्यामेरामा हुने सबै खुबी यो मोबाइलमा भएको कम्पनीको दाबी छ। यसका साथै ७ सय २० पी रिज्युलेसनमा भिडियो छायांकन गर्न सकिन्छ। मोबाइलमा विन्डोज अपरेटिङ सिस्टममा चल्ने टाइटन-२ मा ४ दशमलव ७ इन्चको स्क्रिन छ। यसअघि नै नोकिया एन-८ मा १२ मेगापिक्सेलको क्यामेरा दिइएको थियो। स्तरिय क्यामेराकै कारणले यसले बजार पिटेको जनाइन्छ।
नोकिया एन-८ पछि सोनी इरिक्सनले एलटी २८ एटी मोडलको सेटमा १३ मेगापिक्सेलको क्यामेरा बजारमा उतार्यो। ४ दशमलव ५५ इन्चको स्क्रिनसहितको उक्त सेटमा भिडियो च्याट गर्न फ्रन्ट फेसिङ क्यामेरा भएकाले बजारमा राम्रो प्रभाव जमाउन सफल भयो। यी केही उदाहरण मात्र हुन। अधिकांश कम्पनी 'क्यामेरा मोबाइल' को प्रतिस्पर्धात्मक उत्पादनमा लागेका छन्। यसबाट प्रयोगकर्तालाई फाइदा नहुने कुरै भएन। साप्ताहिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै