सगरमाथा आरोहन गर्ने पहिलो र एकमात्र बंगलादेशी महिला-मजुमदार I

ललितपुर, जेठ २७,

नेत्र तामाङ : - हिउँको चिनो, अनुहारमा ससाना खत। हिमाली यात्राको अनुभव बाँड्दै यसै साता बंगलादेश फर्केकी निसात मजुमदार भन्दै थिइन्, 'यो म, मेरो देश र मेरो देशका महिलाका लागि खुसीको खबर हो।'

मजुमदार विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो बंगलादेशी महिला हुन्। प्लान इन्टरनेसनलको सहयोगमा जेठ ६ गते उनी सगरमाथा चुचुरोमा पुगिन्। पछिल्लो समय सगरमाथा आरोहण बाक्लै हुन थाले पनि बंगलादेशी महिलाका लागि यो सबैभन्दा ठूलो उपलब्धि थियो। 'हाम्रो देशका कति महिला गाउँबाट निस्कनै पाउँदैनन् तर म संसारकै अग्लो ठाउँ पुगेकी छु,' नागरिकसँग उनले भनिन्।

बंगलादेशी महिलामाझ सगरमाथाको उचाइभन्दा सामाजिक विभेद ठूलो छ। 'सगरमाथा चढेपछि संसारभरका महिलाको अवस्था समान होस् भन्ने कामना गरेँ,' उनले बाल्यकाल पनि सम्भि्कन्, 'सानोमा भाइहरूले फुटबल खेलेको हेर्थे तर, आफैंले खेल्ने साहस गरिनँ, केटीमान्छेले खेलेको देखे समाजले के भन्ला भन्ने डर लाग्थ्यो।'

शाखा अधिकृत मजुमदार सगरमाथा मात्र होइन, ६ हजार मिटरमाथिका तीन हिमचुचुरा आरोहण गर्ने पहिलो र एकमात्र बंगलादेशी महिला हुन्। उनले सन् २००७ मा दार्जिलिङको हिमाली पर्वतारोहण संस्थाबाट पर्वतारोहणको आधारभूत तालिम लिएकी थिइन्। उनी त्यही वर्ष सेप्टेम्बरमा खुम्बु हिमशृंखलाको ६ हजार ६ सय ५४ मिटर अग्लो चुचुरो चढ्न सफल भइन्।

उनलाई २००८ सेप्टेम्बरमा अन्नपूर्ण हिमशृंखलाको सिंगुचुली आरोहण दलको प्रमुख बनाइएको थियो। २००९ अप्रिल-मेमा संयुक्त भारत-बंगला अभियान अन्तर्गत ८ हजार ४ सय ६३ मिटर अग्लो विश्वको पाँचांै अग्लो हिमचुचुरो मकालु र २०१० अक्टोबरमा नेपाल-बंगलादेश मैत्री शिखर पर्वतारोहण अभियानमा कुमारी हिमाल चढेकी थिइन्, उनले। उनले २०११ सेप्टेम्बर-अक्टोबरमा ८ हजार १ सय ६३ मिटर अग्लो विश्वको आठौं अग्लो शिखर मनास्लु चढेकी थिइन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com