दुर्गम क्षेत्रका पिछडिएका युवतीलाई सक्षम बनाउन सीपको सुबिधा I

हेटौंडा, असार १५,

चाँदनी हमाल :- मकवानपुरको विकट काँकडा माइसिराङकी १८ वर्षीया रमिसा प्रजा गाउँबाट एक्लै बाहिर हिँड्न पनि डराउँथिन्। ६ घन्टा पैदल दुरीको मनहरी बजार आउँदा पनि परिवारको साथ लाग्नुपर्ने बाध्यता थियो।

तर अहिले उनी झन्डै सय किलोमिटर टाढा सदरमुकाम हेटौंडामा बसेर सीप सिकिरहेकी छिन्। चार कक्षासम्म पढेकी उनले हेटौंडा कमानेस्थित सीप विकास तालिम केन्द्रमा ६ महिना बसेर सिलाइ, कटाइ, हाते कढाइ र ब्युटीपार्लरको सीप सिक्ने हिम्मत जुटाइन्।

एउटै गाउँकी मन्जु प्रजा (१८) पनि उनीसँगै सीप सिकेर सक्षम बन्दैछिन्। दुर्गम क्षेत्रका पिछडिएका युवतीलाई सक्षम बनाउन सरकारले दिएको आवासीय सुविधासहितको सीप सिकाइमा उनीहरू घरगाउँ छाडेर सहभागी भएका हुन्। सीप विकास तालिम केन्द्र र जिल्ला विकास समितिले संयुक्तरूपमा दुर्गम भेगका युवतीका लागि तालिमको व्यवस्था गरेको हो।

'पहिले नयाँ मान्छे देख्दा भाग्थ्यौं, सिलाइ मेसिन देखेर त डरै लाग्थ्यो,' मन्जु प्रजा भन्छिन्, 'बजारमा अरुले सिलाएको देख्दा कसरी सिलाउने होला जस्तो लाग्थ्यो।'
यस्ता सीप जान्न पनि धेरै कक्षा पढ्नुपर्ने ठानेकी उनी अहिले आफैं मेसिन चलाउन सक्ने भएकी छिन्। सीप मात्र होइन, नयाँ मानिससँग कसरी बोल्ने, कसरी प्रस्तुत हुने र घर व्यवस्थापनको ज्ञान पनि उनीहरूले पाइरहेका छन्।

'गाउँबाट भर्खर आउँदा निकै डर लागेको थियो,' काँगडा राक्सिराङकी सीता प्रजाले सुनाइन्, 'अरु मान्छे हेरी आफू एकदम फोहोर र नराम्रो लाग्थ्यो।' अहिले अरुजस्तै सफा सुग्घर र सुन्दर हुन आफूले पनि जानेको उनी बताउँछिन्। आठ कक्षासम्म पढेकी उनको सीप सिकेर गाउँमै काम गर्ने इच्छा छ।

मनहरी ज्यामिरेकी लक्ष्मी प्रजा(२२) भविष्यका लागि सिकेको सीप काम लाग्ने बताउँछिन्। 'भोलि बिहे भएपछि पनि लोग्नेका भरमा बस्न पर्दैन्,' उनी आत्मविश्वास व्यक्त गर्छिन्, 'हेलाँ गरिए आफूले काम गरेर खानसक्छु जस्तो लागेको छ।

विभिन्न दुर्गम क्षेत्रका १४ युवतीहरू एकै ठाउँमा बसेर अहिले सीप सिकिरहेका छन्। पारिवारिक र सामाजिक रूपमै पछाडी परेका समुदायका युवतीहरूलाई आफूले गर्न सक्नेसम्मका सीप र ज्ञान सिकाइएको प्रशिक्षक रीता श्रेष्ठले बताइन्। व्यावहारिक ज्ञान दिन निकै मिहिनेत गर्नुपरेको उनले सुनाइन्।

तालिम सकिनै लाग्दा सहभागीहरूमा आकाश पातालको फरक आइसकेको केन्द्र प्रमुख युवराज गुरुङ दाबी गर्छन्। 'पहिले बोल्न पनि नजान्ने युवतीहरू अहिले आफैं गरेर खान्छु भन्न थालेका छन्,' उनले भने, 'उनीहरूलाई अझ सक्षम बनाउन सरकारी पहल जारी राख्नुपर्छ।' उनीहरूको ६ महिने तालिम असार मसान्तमा सकिँदैछ। NG:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com