मल न पानी, यसपालिको असर १५-ले रौनक ल्याएन I

काठमाडौ, असार १५ ,

अब्दुल्लाह मिँया :- असार अर्थात् मुरी फलाउन मानो रोप्ने महिना । त्यसमाथि शुक्रबार त असार १५, राष्ट्रिय धान दिवस । दही-चिउरा खाएर रोपाइँमा रमाउनुपर्ने दिन । तर, यसपालि किसानलाई यो दिनले कुनै रौनक ल्याएको छैन । पर्याप्त मनसुनी वर्षा र रासायनिक मल नुहँदा उनीहरू पिरोलिएका छन् ।

अधिकांश किसानले अझै धान रोप्न पाएका छैनन्, लगाएका बालीहरू मकै र धान/कोदोको बीउ सुकिसक्यो । काठमाडौंसम्मै धाउँदा पनि उनीहरूले मल पाएका छैनन् ।

दुई साताअघि सामान्य समयभन्दा एक साता ढिलो पूर्वको ताप्लेजुङबाट प्रवेश भएको मनसुन अझै मुलुकभर सक्रिय भइसकेको छैन । ९ असारमै मनसुन देशभरि फैलिए पनि वषर्ा यथेष्ट हुन सकेन । मुलुकका धेरै मनसुनी झरीको झल्को दिने गरी पानी परेकै छैन । प्रशस्त पानी नपरेकाले न मूल फुट्न सकेको छ न खेतमा पानी जम्न । रोपाइँका लागि ठिक्क पारिएका खेतमा सुख्खा छाएको छ । आकाशे पानीमा निर्भर मध्यपहाडी जिल्लाका लाखौं हेक्टर धानखेत बाँझै छ ।

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर १४ लाख ८१ हजार २ सय ८९ हेक्टर जमिनमा धान रोपिन्छ । त्यस्तै, ८ लाख ७५ हजार ६ सय ६० हेक्टरमा मकै लगाइन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिले मध्यभाग र सुदूरपश्चिममा मनसुन कमजोर छ । दुई दिनदेखि ती भागमा पानी परेकै छैन । 'मनसुन नै कमजोर भएकाले वषर्ा हुन सकेको छैन,' उनले भने, 'मनसुनी प्रक्रिया दुई दिनदेखि नै रोकिएको छ ।'

मुलुकको पूर्वी भागमा औषतको ७५ प्रतिशत वर्षा भए पनि मध्यभाग र सुदूरपश्चिममा ५३ र ३० प्रतिशत मात्रै पानी परेको छ । पूर्वका ताप्लेजुङ, धनकुटा, धरान, विराटनगर, राजविराज, जनकपुर, सिमरालगायतका स्थानमा भने बिहीबार पनि केही वषर्ा भएको छ । सिमराभन्दा पूर्व मात्रै वर्षा भएको छ । काठमाडौंलगायत पश्चिम भागमा केही दिनयता खण्डवृष्टि मात्रै भएको छ । इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com