लुम्बिनी बारे फोटो प्रदर्शन कोरियामा I

गत आइतबार कोरियाको सबैभन्दा ठूलो बौद्ध सम्प्रदाय छोगेअन्तर्गतको जन्दंग्सा गुम्बाद्वारा आयोजित सातौं प्रवासी सांस्कृतिक कार्यक्रममा लुम्बिनी भ्रमण वर्षको प्रचारार्थ फोटो प्रदर्शनी सम्पन्न भयो।

देशी तथा विदेशी हजारौंको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न देशले संस्कृतिक नृत्य प्रदर्शन गरेका थिए भने गुम्बाले कोरियन बौद्ध पूजा, कोरियन संस्कृति, वेशभूषा, कोरियन कलाकृति इत्यादीको प्रत्यक्ष अनुभव गर्न सकिने कार्यक्रमहरूको व्यवस्था गरेको थियो।

उक्त अवसरमा किराँत राई परिवारका सदस्यहरूले नेपालको चण्डी नाच प्रस्तुत गरेका थिए। नेपाली फोटोग्राफर सानुराजा बज्राचार्यले खिचेको लुम्बिनीका तस्बिरहरूको अवलोकन गर्दै सहभागीहरूले लुम्बिनीका विषयमा कौतुहलता प्रदर्शन गरेका थिए। फोटो प्रदर्शनीका एक दर्शकले लुम्बिनी इन्डियामा रहेको कुरा आफुले स्कूलमा पढेको तर अहिले एक्कासि लुम्बिनी नेपालमा भएको थाहा पाउँदा अचम्ममा परेको पनि बताए।

उक्त कार्यक्रमलाई कोरियाको प्रसिद्ध बौद्ध च्यानल बीटीएनले कभरेज गरेको थियो। सो च्यानलका प्रतिनिधिले लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग दिने आश्वासन पनि दिए। कोरियन दर्शकहरूको हौसलापूर्ण प्रतिक्रियाबाट आगामी दिनमा सम्पूर्ण कोरियनलाई समेट्ने गरीसार्वजनिक स्थलहरू जस्तै ट्रेन स्टेसन, पार्क आदिमा पनि नेपाल तथा लुम्बिनीको फोटो प्रदर्शनीको आयोजना गर्ने योजना रहेको लुम्बिनी भ्रमण वर्ष-२०१२ कोरिया उपसमितिका संयोजक नवीन बज्राचार्यले बताए।

तस्बिरः निर्मल महर्जन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com