सफलताको लागि धैर्य, आँट र साहस चाहिन्छ I

जीवन न हो परिवर्तन हुन बेर लाग्दैन, तर यसका लागि धैर्य, आँट र साहस भने अवश्य चाहिन्छ। यही सूत्र नअपनाएको भए सायद बिहान-बेलुका हातमुख जोर्न धौ-धौ हुने तिलकुमारी गौचन अर्थात् माइली दिदी अहिले झुपडीबाट महलमा पुग्ने थिइनन्। त्यति मात्र कहाँ हो र ? माइली दिदीको पहिचान पनि सायदै बन्ने थियो। देशका विभिन्न भागबाट पोखरा आउने धेरैको मुखमा झुन्डिएको छ, माइली दिदी र उनले बनाउने थकाली खाना। नेता, कलाकारदेखि सर्वसाधारण सबैले उनलाई माइली दिदीका रूपमा सम्बोधन गर्छन्।

यो अवस्था आउला भनेर कल्पनै नगरेकी माइली दिदी अहिले प्रतिष्ठासँगै दामसमेत कमाएकोमा सन्तुष्टि छिन्। कुनै जमानामा उनीसँग न पकाउने भाँडा हुन्थ्यो, न त खाने अन्न नै। २३ वर्षअघि मुस्ताङको कोवाङबाट पोखरा झर्दा उनलाई खान-बस्नदेखि डेरा भाडा तिर्नसमेत मुस्किल थियो। वैवाहिक सम्बन्ध गाँसिएको आठ वर्षमै श्रीमान् बाट बिछोडिएपछि उनी असहाय र एक्ली भइन्। उनीमाथि बेसहारा जिन्दगी र एउटी छोरीको पालपोषणको गहन जिम्मेवारी थपियो। उनी चिया-तरकारी बेचेर छोरीको पालनपोषण र शिक्षा-दीक्षाका लागि संघर्षरत रहिन्। बिरानो सहरमा एउटी महिलाले एक्लै संघर्ष गर्नु कम गार्‍हो कुरा थिएन। संघर्षबाट विचलित नभै लगातार पाँच वर्षसम्म चिया बेचेरै जीवनको गाडी अगाडि गुडाइन्। यसरी चिया तरकारी बेच्दा उनले राम्रो-नराम्रो व्यवहारकोसामना गर्नुपर्‍यो।

जीवनदेखि हार्न नजानेकी माइली दिदीले पोखराको एयरपोर्टनजिक चिया बेच्न छाडेर पर्यटकीय क्षेत्र लेकसाइडको फिस्टेल गेटअघि भाडामा सानो झुपडी लिएर भान्छा घर सञ्चालन गर्न थालिन्। यसका लागि ऋण माग्दा धेरैले उनलाई पत्याएनन्। 'यी महिलालाई ऋण दिएर फिर्ता गर्लिन् पनि भने,' विगत सम्झँदै ४४ वषर्ीया माइलीले भनिन्- 'मुस्किलले थकाली भान्छा घर सञ्चालन गरें।' उनले उतिबेला अनुनय-विनय गर्दा बल्लबल्ल पाएको १० हजार ऋणले व्यवसाय सञ्चालन गरेको बताइन्। १० हजार ऋण लिएर सुरु गरेको थकाली भान्छाघरबाट उनले दस दिनमै ऋण चुकाइन्। हेर्दा सामान्य भट्टी जस्तो टिनले बारेको कोठाभित्र उनकहाँ थकाली खाना खानेहरूको भीड नै लाग्न थाल्यो। माइली दिदीको मीठो थकाली खानाको प्रचारप्रसार देशभर हँुदै गयो। हेर्दा झुपडी भए पनि स्वादिष्ट थकाली खानाले सबैमाझ उनको भान्छाघर लोकपि्रय बन्यो। सुरुमा भान्छाघरमा पस्दा धेरैले सुँगुरको खोरमा पसियो समेत भन्न भ्याएको स्मरण उनले गरिन्। कतिपय त ढोकाबाटै फर्किएको अनुभव पनि उनीसँग छ, तर खानाको स्वाद पाएपछि भने सबैलाई त्यही झुपडीले तान्यो।

पोखरा आउने कलाकर्मीदेखि राजनीतिज्ञहरू माइली दिदीको थकाली खानाका पारखी भए। दैनिक २० देखि ३० जनाले खाना खाने उनको भान्छा घरमा अहिले दैनिक २ सय जनाभन्दा बढी हुन्छन्। त्यहाँ उनी आफू एक्लैले खाना बनाउँछिन्। ४५ रुपैयाँ छाकमा खाना ख्वाउँदै आएकी माइली दिदी अहिले १ सय ८० रुपैयाँ छाक खाना ख्वाउँछिन्। अहिले उनलाई खाना खान आउनेहरूको भीडले सेवा पुर्‍याउनै हम्मे-हम्मे पर्छ। उनले दैनिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छिन्। '१० हजार रुपैयाँ पनि खेलाउन पाउँदिन भन्ने लागेको थियो,' तीलकुमारी गौचनले भनिन्- 'आज नसोचेको सफलता पाएँ।' अहिले उनी छेारी रोसनीलाई बीबीए पढाइरहेकी छिन्।

राति दुई बजेसम्म भाडा माझेर अबेर सुती बिहान चाँडै उठेर खाना पकाउने माइली दिदीले अहिले नामसँगै दाम पनि कमाएकी छिन्। पोखरा आएपछि जो कोही खाना खान माइली दिदीकहाँ पुग्छन्।

भान्छाघर सञ्चालन गरेर उनले लेकसाइडमा ५५ लाखको बंगला पनि बनाएकी छिन्। आठ वर्षमा पाएको व्यावसायिक सफलतासँगै उनी सफलताको शिखर चढेकी हुन्। जग्गा र घर गरेर उनले करिब १ करोड रुपैयाँको सम्पत्ति आफ्नै पौरखले जोडेकी छिन्, डेढ वर्षयता उनको भान्छा घर लेकसाइड-६ शान्तिपाटन चोकमा सरेको छ। कुनै बेला ३ सय रुपैयाँ ऋण नपत्याउनेहरू अहिले उनलाई लाखौं दिन पनि तयार हुन्छन्।

'यतिका कमाएर लेकसाइडमा घर बनाएर बसुँला भनेर सोचेकै थिइनँ,' माइली दिदीले भनिन्, 'मेहनत र भाग्यले आज मलाई सफलताको नजिक पुर्‍यायो।' माइली दिदी अहिले विगतको दुःख बिर्संदै आफ्नै पौरख र मेहनतमा सन्तुष्टि व्यक्त गर्छिन्। साप्ताहिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com