दुवै हात गुमाएका सुरेन्द्र खत्री एलसीमा प्रथम I

म्याग्दी, असार ५ ,

घनश्याम खड्गा :- ६ वर्षअघि बेवारिसे बम खेलाउँदा पडि्कएर दुवै हात गुमाएका बाबियाचौर ७, सल्यानका सुरेन्द्र खत्री यस वर्षको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

स्थानीय मंगला उच्चमावि, बाबियाचौरमा १० कक्षामा पढ्दा ०६३ असार १२ गते दिउँसो बाख्रा चराउन वन गएका बेला फेला परेको बेवारिसे बम चलाउँदा दुवै हात गुमेपछि खत्रीको पढाइ अवरुद्ध भएको थियो । खत्रीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा राजधानीमा पुर्‍याएर कृत्रिम हात राखिएको भए पनि अहिले ठुँडे परेको हातका पाखुरा झन् सुकेकाले कृत्रिम हात काम नलाग्ने भएका छन् ।

विभिन्न अधिकारवादी संघसंस्था र द्वन्द्वपीडितको क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रेरणबाट पुनः मंगला उच्च माविमा भर्ना भई सोही विद्यालयबाट परीक्षामा सहभागी भएका खत्रीले पाँच सय १५ अर्थात् ६४.३७ प्रतिशत अंकसहित प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका हुन् । खत्रीको दुवै हात कुइनादेखि तलको गुमेको छ ।

मुखमा कलम च्यापेर सामान्य लेखपढ गर्न सक्ने खत्रीले परीक्षामा एक जना सहयोगी राखेर सहभागी भएका थिए । नतिजा अनुसार १५१००४९ 'यू' सिम्बोल नम्बर भएका खत्रीले अनिवार्य अंग्रेजीमा ७०, नेपालीमा ७४, अनिवार्य गणितमा ३८, विज्ञानमा ६२, सामाजिकमा ५५, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ७४, अर्थशास्त्रमा ७० र शिक्षा विषयमा ७२ नम्बर ल्याएका छन् ।

'हात गुमेपछि पढ्ने धोको अधुरो थियो । 'विभिन्न अधिकारकर्मी संघसंस्थाको हौसला, जीवनसंगिनी एलिनाको साथ सहयोग तथा प्रेरणााले परीक्षामा सहभागी हुन उत्प्रेरित गर्‍यो । अब उच्च शिक्षा र अपांगता अधिकारका लागि सँगसँगै काम गर्छु,' परीक्षाफलले हौसिएका सुरेन्द्रले सुनाए । इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com