कहिले होलान नारीहरु अधिकार सम्पन्न ? I

नेपाली समाज वर्षौंदेखिको सामाजिक संरचना र संस्कृतिले उभ्याएको पुरुषप्रधान मानसिकताको जडसूत्रवादी विचारले घेरिएको छ। महिलाहरू पुरुषको निजी सम्पत्ति र दोस्रो दर्जाको नागरिकका रूपमा स्थापित छन्।

स्वतन्त्र रूपले काममा संलग्न हुने महिलाको अधिकार खोसिएकाले अधिकांश महिला स्वयंमा मानसिक दुर्बलता र हीनताबोधका सिकार भएका छन्। यसले गर्दा उनीहरू परनिर्भर हुँदैछन्, कुनै पनि सिर्जनशील कार्यको कल्पना समेत गर्न सक्दैनन्।

यसको मुख्य कारण उनीहरू महिला हुनु नभई यो समाजिक संरचना हो जसले महिलाका सारा अभिव्यक्ति र क्रियाकलापलाई नियन्त्रित गरी उनीहरूलाई प्रत्येक सुविधाबाट वञ्चित रहन बाध्य बनाएको छ। यी सबैका बाबजुद पनि नेपाली महिलाहरूले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र एवं अन्य थुप्रै शोषण, दमन र असमानताका विरुद्ध वीरतापूर्वक लडेको इतिहास पाइन्छतर त्यसको समुचित कदर हुन सकेको छैन। छोरीलाई अधिकार सम्पन्न स्वतन्त्र नागरिकका रूपमा नलिने गलत प्रथाले राज्य संरचनामा महिलाहरूको सही, उचित एवं न्यायपूर्ण प्रतिनिधित्व हुन सकेको छैन।

छोरीहरूलाई विशेष गरेर घरको काममा लगाइने, आमा-भाउजूहरूलाई सघाउनुपर्ने र वस्तुभाउ हेर्ने आदि काममा लगाइन्छ। त्यसैले पुरुषहरूको तुलनामा नेपाली महिलाहरू धेरै अशिक्षित छन्। अशिक्षाले गर्दा स्वयं महिला आफ्नो स्वतन्त्र अस्तित्व, अधिकार एवं कर्तव्यको ज्ञानबाट विमुख छन्। पुरुषप्रधान मानसिकताले गर्दा महिला नेतृत्वलाई स्वीकार गर्न नसक्नु, घरेलु कामबाट छुटकारा पाउन नसक्नु, महिला स्वयंले पनि घरको जिम्मेवारीलाई सहज रूपमा स्वीकार गर्नुले पनि महिलाहरूको वर्चस्व राज्य संयन्त्रमा कम छ।

पुरुषले जति महिलाले काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण महिलाले नै गर्नुपर्ने, महिला स्वयं पनि सहयोगी मात्र बन्न तयार हुने, पारिवारिक जिम्मेवारी पनि महिलामा धरै हुने, महिला राजनीतिज्ञलाई हेर्ने दृष्टिकोण खराब हुनु तथा महिला स्वयं पनि जीविकाको स्तरबाट उठ्न नसक्नुले महिलाहरू लगभग राज्ययन्त्रमा अदृश्य बन्न पुगेका छन्। यस्तो अवस्था कहिलेसम्म रहने हो त्यसको कुनै सीमा छैन। के नेपाली नारीहरूले यी सबै बाधाबाट पार भएर उन्मुक्तिको सास फेर्न सक्लान् ?

अर्चना शर्मा :
बुटवल (नारी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com