पूर्व-पश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माण I

काठमाडौं, जेठ २८,

सुदर्शन सापकोटा :- ६ वर्षअघि नै निर्माण थालिने भनिएको पूर्व-पश्चिम हुलाकी राजमार्गको काम सुरु भएको छ। १ हजार ५ सयमध्ये ६ सय किलोमिटर निर्माण गर्न ठेक्का दिई काम सुरु गरिएको हो।

'पहिलो चरणको सडक निर्माणका लागि ६ ठाउँमा ठेक्का लागिसकेको छ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नागरिकसँग भने। भारत सरकाले अनुदानमा बनाइदिन लागेको राजमार्गको काम ६ वर्षअगाडि सुरु भइसक्नु पर्ने हो। मुआब्जा तथा अन्य प्राविधिक कारणले निर्माण अगाडि बढ्न सकेको थिएन।

भारतले सुरुमा तीन चरणमा सडक निर्माण गर्ने तयारी गरेको थियो। भौगोलिक कारणले दुई चरणमा नै सकिने भएपछि अहिले धमाधम कास थालिएको हो। सिटौलाले भारतीय ठेकेदारहरुले बाँकी पाँच ठाउँमा पनि धमाधम निर्माण सामग्री झार्न थालिसकेको जानकारी दिए। ठेक्का लिएको सडक निर्माण गर्न ठेकेदारहरुले २ अर्ब रुपैयाँसमेत पाइसकेका छन्। एउटा ठेक्काको काम कैलालीमा ३५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।
पहिले खबर तथा चिठीपत्र आदन-प्रदान गर्ने सडकलाई हुलाकी मार्ग भनिन्थो।

त्यही सडकलाई अहिले व्यवस्थित गर्न लागिएको हो। हुलाकी सडकको अधिकांश भाग एक लेनको हुनेछ। हुलाकी मार्ग प्रयोग गरेर त्यति धेरै सवारी साधन नचल्ने भएकाले चार मिटर चौडासम्म कालोपत्रे गरिनेछ। आवश्यक भएका केही ठाउँमा भने दुई लेनै निर्माण गरिनेछ। सचिव सिटौलाका अनुसार सम्पूर्ण सडक निर्माण गर्दा लाग्ने सबै पैसा भारत सरकारले दिनेछ। पहिलो चरणको सडक निर्माण गर्न ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। दस वर्षे योजना अनुसार सडक खन्न थालिएको हो।

पहिलो चरणको सक्न पाँच वर्ष लाग्नेछ। पहिलो चरणको काम सकिन लागेपछि दोस्रो चरणको निर्माणका लागि ठेक्का दिइनेछ। सडकको अधिकांश भाग निर्माण गर्न प्रति किलोमिटर १ करोड २० लाखको हाराहारीमा लाग्नेछ। तराईमा पर्ने सडक भएकाले डुवान समस्याका कारण उचाइ बढाउनुपर्ने हुँदा केही भागको निर्माण लागत बढ्नेछ। तराईका केही भागमा २ मिटरसम्म सडक उठाउनु पर्नेछ।

सडक निर्माणमा नेपालको पनि पैसा खर्च हुनेछ। निर्माण पक्षबाहेकका सम्पूर्ण खर्च नेपाल सरकारले गर्नुपर्नेछ। नेपालको भागमा जग्गा मुआब्जा, खानेपानीका पाइप, बिजुली तथा टेलिफोन सुविधा र सडकमा पर्ने पुलको निर्माण गर्नुपर्नेछ। यसका लागि सरकारले चालु वर्षको बजेटमा ४ अर्ब ९८ करोड रुपैयाँ छुट्याएको छ। पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्मको तराई-मधेसका सम्पूर्ण सडकहरुलाई हुलाकी राजमार्गले समेट्ने छ। सरकाले पनि यो सडकलाई 'समृद्धिको बाहक' भन्दै उच्च महत्व दिएको छ। पहिलो चरणको राजमार्ग निर्माणका क्रममा १९ वटा सडक समेटिने छन्।

यसमध्ये १६ वटा तराईका र तीन वटा उत्तर-दक्षिण जोडिने सडक पर्छन्। दुवैतर्फका सडकले भारत र चीनको सीमा छुनेछन्। पहिलो चरणको सडकमा ८८ वटा पुल निर्माण गर्नुपर्छ। यसमा सानाठूला दुवैथरी पर्छन्। ८८ मध्ये ५५ वटा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पुल छन्। बाँकी ३३ वटा पुल निर्माण गर्नुपर्ने छ। नागरिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com