काठमाडौं, जेष्ठ २८ ,
जितेन्द्र साही :- कारागारका बन्दीलाई यौन सम्बन्धको अनुमति । अदालतले सजाय काट्न पठाएको अपराधीलाई यस्तो मोजमस्तीको सुविधा । यसबारे सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ ।
दक्षिण अमेरिकाको उत्तर-पश्चिमस्थित कोलम्बियाको केही खतरनाक जेलमा बन्दीलाई यो सुविधा दिइएको छ । त्यहाँ लागूऔषध तस्कर र हत्याका अभियुक्तलाई १५ दिनमा एक पटक जीवनसाथी वा सेक्स पार्टनरसँग बिताउनलाई निर्धारित समय उपलब्ध गराइन्छ ।
यौन मानवको आधारभूत आवश्यकता हो । यो वास्तविकताको जगमा उभेर त्यहाँको बन्दीको आक्रामक व्यवहार र जेलभित्र हुने यौन हिंसालाई रोक्न यो कदम चालिएको धेरै भइसक्यो । कारागारभित्रै समलिंगी सम्बन्धको पनि अनुमति छ । महिला वा पुरुष बन्दीले कारागारभित्रै वा बाहिरकालाई साथी चयन गरेर यौनआनन्द लिन पाउँछन् । यसका लागि त्यहाँ विशेष सुरक्षा प्रबन्ध भएको कोठाको व्यवस्था गरिएको हुन्छ ।
यस्तो सुविधाले बन्दीको व्यवहारमा सुधार आउनुका साथै कारागारभित्र हिंसाका घटनामा कमी आएको अध्ययनहरूमा देखिएको छ । यौन इच्छाको पूर्ति हुँदा उनीहरू संयम र सन्तुलित देखिएको कारागार व्यवस्थापन पक्षले जनाएको छ । उनीहरूलाई यसले गर्दा समाज र परिवारसँग जोडिराख्न र रिहा भएपछि पुनःस्थापनमा पनि सहयोग पुर्याउँछ । कोलम्बियाका कारागारहरूमा ५४ हजार ३४ बन्दी छन् । संसारका थुप्रै मुलुकको कारागारमा खुल्ला वा गोप्य रूपले यस्तो सम्बन्ध हुनु र शिशु जन्मिनु सामान्य भएको छ ।
सात केन्द्रीय स्तरका सहित २९ कारागार भएको भारतको पञ्जाव प्रान्तको सरकारले बन्दीका लागि जीवन संगिनीसँग केही समय एकान्तबासको प्रबन्ध गर्न खोज्नु यही कडीको अर्को प्रयास हो । त्यहाँको जेलहरूका २० हजार बन्दीका लागि यो निःसन्देह राहतको खबर पनि हो ।
कारागारभित्र हुने गरेको यौन दुर्व्यवहारका घटनालाई रोक्न यसको आवश्यकता भएको कारागार व्यवस्थापनले राज्य सरकार समक्ष एक प्रस्ताव लगेको छ । यो प्रस्तावमा छनोटमा गरिएका बन्दीलाई कारागारभित्र श्रीमतीसँग सेक्स अनुमति दिइनुपर्ने भनिएको छ । यो प्रस्ताव अनुरूप सुविधा पाउनलाई आवेदन दिने बन्दीका बारेमा छानबिन गरिनेछ ।
बन्दीको चरित्र, व्यवहार र सजाय अवधिलाई आधार मानिने प्रस्तावमा उल्लेख छ । विदेशी कारागारभन्दा अलिक फरक यहाँ कानुनी रूपले विवाहितले मात्र यसबाट लाभान्वित हुनेछन् । गोपनीयतालाई ध्यानमा राखेर बन्दीलाई एक विशेष स्थलको प्रबन्ध गरिने भनिएको छ । यो प्रस्ताव कारागार सुधार कार्यक्रम अनुरूप नै अघि बढाइएको हो ।
यो कार्यान्वयन भएमा कारागारभित्र हुने यौन अपराधमा धेरै हदसम्म नियन्त्रण हुने सुरक्षा अधिकारीहरूको विश्लेषण छ । उक्त राज्यको कानुन विभागले महिला बन्दी गर्भवती भएमा प्रसूति र शिशुको पालनपोषण लगायत विषयमा विचार गरिरहेको छ । राज्य सरकार यसमा सकारात्मक देखिएको छ । यो लागू भएमा भारतमा कारागारभित्र यौन सुविधा उपलब्ध गराउने पञ्जाव पहिलो राज्य हुनेछ । बन्दीहरूले वैधानिक रूपले यौनसंसर्ग गर्ने अनुमति पाउने छन् । साथै, अन्य कारागारका लाखौं बन्दीका लागि यसले आशाको किरण जगाउने छ । इकान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै