काठमाडौ, जेष्ठ ३० ,
स्मिता मगर :- 'भग्नावशेष', 'हो यो नाटक होइन', 'मृगतृष्णा', जस्ता नाटकबाट नेपाली दर्शकको मन-मस्तिस्कमा बसेकी सूर्यमाला शर्मा १३ वर्षअघि एकाएक रंगमञ्चबाट हराइकी थिइन् । परिवारका साथ अमेरिका पुगेकी उनी तीन साताअघि नेपाल फर्केकी छन्- फेरि नाटकमै अभिनय गर्ने दृढता बोकेर ।
हालैका दिन दरबारमार्गस्थित बहिनी (रंगकर्मी निशा शर्मा)को पसल बेन्ट्लेमा भेटिएकी सूर्यमालाले भनिन्, 'धेरै समय विदेश बसियो । अब, फर्केर जान्न ।' नायक पति सरोज खनाल अमेरिका भित्रेपछि दुई छोरा च्यापेर उनी पनि पछि लागेकी थिइन् । मजबुरीले सात समुद्रपार गरेकी उनलाई विदेश मन नपरे पनि छोराहरूको पढाइका लागि आफूले चाहेको समयमै फर्केर आउन नसकेको बताइन् । अमेरिकी आर्मीमा कम्ब्याक्ट इन्जिनियर रहेका जेठो छोरो इराकबाट फर्केपछि समयताल मिलेको कारण उनी कान्छो छोरोसँग नेपाल फर्केकी हुन् ।
नेपाल र्फकने निर्णय गरेपछि उत्साहित कान्छा छोरा 'गुड्डु' नेपालमै बस्ने र पढ्ने योजनाका साथ आमाभन्दा दुई साताअघि मातृभूमि ओर्लेका थिए । तर, बन्द, हडतालले दैनिक जीवनमा पारेको असर देखेर छोरो 'जिल खाइराखेको' अभिनेत्रीले हाँस्दै भनिन् । आफूलाई भने त्यति अचम्म नलागेको बताउँदै उनले भनिन्, 'जति गर्मी भए पनि जति धुलो उडे पनि फरक परेको छैन । पानी र बिजुलीको समस्याले त्यति छोएको छैन ।' ०३९ मा रंगमञ्चमा भित्रेदेखि आरोहण थिएटर मार्फत देशको कुनाकाप्चा नाटक देखाउँदै हिँड्दा बिजुलीको कुरा त परै जाओस् सुत्ने ठाउँ पनि नपाएर स्कुलका बेन्चमा सुतेको अनुभव सुनाउँदै उनले थपिन्, 'यी समस्या त्यति ठूला होइनन् । आफू हुर्केकै माटोमा छु भन्ने फिलिङ्स ठूलो हो ।'
सबैलाई आफू जन्मेको थातथलो प्यारो हुने बताउँदै उनले आफ्नाहरू सम्झेर मुलुक फर्केको बताइन् ।धुवाँधुलो भए पनि आफूलाई त्यही मैतिदेवी, डिल्लीबजार उकालो नै मनपर्ने बताउने बालाजुकी उनी झन्डै दुई दशकसम्म डिल्लीबजार-पुतलीसडक-बागबजारको बाटोमा चप्पल खियाएकी थिइन्- कहिले राष्ट्रिय सभा गृह त कहिले नाँचघर धाउँदै ।
बहिनी चन्द्रमाला प्रमुख पात्र रहेको नाटक 'प्रतिभा, आकाश, माग्छे'मा साथीको छोटो रोल गरेर रंगमञ्च सुरु गरेकी सूर्यमालाले केही वर्षपछि नै नेपाल प्रज्ञा प्रतिष्ठानबाट 'मृगतृष्णा'का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन् । चालीस र पचासको दशकमा नाटकको अवस्था राम्रो रहेको सम्भ“mदै उनले भनिन् 'भ्याईनभाई नै हुन्थ्यो नि ।' दिनमा दुई सिफ््ट गर्नुपर्ने खालको व्यस्तता र सफल करिअरलाई चटक्क छा्ड्नु परेकोमा पश्चात्ताप पनि जनाइन् उनले । 'कहिलेकाहीँ किन छोडेर गइछु भन्ने लाग्छ,' उनले भनिन् ।
कम बोल्ने पति सरोजले मुलुकभित्रै दुवैको करिअर राम्रो भइरहेको बेला अमेरिका जाने निर्णय लिनुको कारण अझै नभनेको पनि उनले बताइन् । आफू भने विदेशमा बस्ने चाहना कहिल्यै नभएकोले अंग्रेजी पनि काम चलाउ मात्र सिकेको बताइन् । तालमेल मिल्नासाथ नेपालतिर हानिने विचारमा बसेकी उनले उता हुँदैदेखि आफू र अरू रंगकर्मीका लागि विभिन्न पात्रको भूमिका सोचेको र दर्शकलाई त्यो देखाउन आतुर रहेको बताइन् ।
अमेरिका जानुअघि 'अन्धा युग' नाटक खेलेकी उनले फर्केर सुन्दर नाटक गर्ने योजना बनाएकी छन् । नेपाल आएदेखि रंगमञ्चबारे चासो दिइराखेकी उनले नेवारी नाटक खेल्ने अझै धोको रहेको सुनाइन् भने भविष्यमा 'ओथेलो' मञ्चन गरेर आफ्नो बाल्यकालदेखिकै सपना पूरा गर्ने योजना बताइन् । सुनिल पोखरेल र बद्री अधिकारीको निर्देशनमा पहिलो नाटक गरेकी सूर्यमालालाई गुरुकुल र गुरुकुल कलाकारसँग काम गर्ने रहर रहेछ । 'चिप कमेडी बाहेक जे पनि मनपर्छ' भन्दै उनी कमब्याक गर्न उत्साहित रहेको बताइन् ।
विदेशिनुअघि टिभी सिरियलहरूमा पनि उनी त्यत्तिकै जमेकी थिइन् । 'मलाई सूर्यमाला बनाउने र चिनाउने नै नेपाल टेलिभिजनबाट प्रदशनमा भएको सिरियलहरू ह्न् ।' दुई टेलिफिल्मको निर्देशन समेत गरेकी उनले सिरियलतिर कार्यक्रम डिजाइनरको अभिभारा लिने उनको योजना छ । हँसिली स्वभावकी सूर्यमालाले एक वर्षसम्म आफू अमेरिका नफर्केपछि पति सरोज पनि 'अर्को वर्ष पक्कै नेपाल र्फकने' आशा गरिन् ।इकान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै