राम्री सँग नाटकी बिहे, बेच्नु अघि गर्थियो यौन सोषण अनि पुर्याउथियो कोठीमा I

सिन्धुपाल्चोक, असार १५,

ध्रुव दंगाल :- 'प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो। हामीलाई पनि यसैगरी खतम पार्‍यो। भनेको नमाने चिर्पट र रबरको कोर्रा खानुपर्थ्यो। रक्तमुच्छेल भइसक्दा पनि छाड्दैनथ्यो। राम्री लागेकी चेलीसँग नाटकी बिहे गरेर आठ-दस महिनापछि कोठी लगेर छाडिदिन्थ्यो। कतिपयलाई त बेचिदिउँ्क कि मसँग बिहे गर्छेस् भनेर धम्क्याउँदै सुत्न बाध्य बनाउँथ्यो।'

चेलीबेटी बेचबिखनका 'नाइके' बजिरसिंह तामाङद्वारा बेचिएका छजना चेलीको सामूहिक चित्कार हो यो। गत साता लगातार चार दिन जिल्ला अदालतमा बयान दिँदा उनीहरु यसैगरी पीडादायी अतीत सम्झँदै थिए।
पटक-पटक बेचबिखन कार्यमा संलग्न पाइएपछि नैतिक पतन देखिने फौजदारी अभियोगसहित मानव बेचबिखन मुद्दामा डेढ वर्षदेखि पुर्पक्षमा थुनामा रहेका शिखरपुर- ९ का बजिर 'दलाल' मात्र नभएर आफैं वेश्यालय सञ्चालक रहेको पीडितले खुलाएका छन्।

उनीहरुका अनुसार भारतको आग्रा सहरस्थित सहिदनगरमा बजिरको आफ्नै कोठी छ। पक्राउ पर्नुअघिसम्म श्रीमतीसहित उनले कोठी सञ्चालन गर्दै आएका थिए। नेपाली चेली भारत लगेर यौन व्यवसायमा लगाउन आफ्नै सञ्जाल तयार गरे पनि उनी फकाउन गाउँमा भने कमै निस्कन्थे। सहयोगीमार्फत राजधानी पुग्ने चेली लिन भने उनी भारतबाट आइपुग्थे। बेला-बेला उनी पजेरो लिएर गाउँ आउँथे।

नेपाली चेली भारतमा लगेर बेचेको आरोपमा नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका ३७ वर्षीय बजिरलाई २०६७ मंसिर १४ गते प्रहरी प्रभाग सोह्रखुट्टेले राजधानीबाट पक्राउ गरेको थियो। पक्राउपछि उनी चेली बेच्ने गिरोहका नाइके भएको खुलासा भएपछि मुद्दा परेको जिल्ला सिन्धुपाल्चोक ल्याएर अनुसन्धान थालिएको थियो।

उनी पक्राउ पर्नुअघि जिल्ला प्रहरीमा चार पीडित किशोरीको किटानी जाहेरी परिसकेको थियो। पक्राउपछि थप दुई चेली प्रहरीको सम्पर्कमा आएका थिए। 'दलाल'बाट सञ्चालक पश्चिमी सिन्धुपाल्चोकका उनी सामान्य किसान परिवारका हुन्। सामान्य लेखपढ गर्न जान्ने उनी सानैदेखि ट्याक्सी चलाएर पेट पाल्थे। नुवाकोट बिहे गरेकी उनकी दिदी तारा तामाङ भारतमा कोठी चलाएर बस्थिन्। एक दिन ताराले बजिरलाई सम्पर्कमा आइसकेकी एक युवती भारत ल्याउन अह्राइन्।

उनी ती युवती लिएर पहिलोपटक भारत पुगे। 'यस बापत ताराबाट उसले एक लाख भारु पायो,' बेचिएर फर्केपछि भारत बस्दा चिनेका सूत्र लगाएर बजिरको भित्री पाटो खोतल्न प्रयासरत 'चौतारा-इ' (प्रहरीले दिएको उपनाम) ले भनिन्, 'एकैपटक धेरै पैसा पाएको स्वादमा बजिरले चेली बेच्न थालेको रहेछ।'
सुरु-सुरुमा ताराकोमा युवती लगेर बेच्ने बजिर पछि आफैं कोठी सञ्चालक बने।

सुरुताका उनले सिन्धुपाल्चोककै एउटा गाउँबाट एकैपटक छवटी किशोरी लगेर बेचेको पत्ता लागेको चौतारा-इ बताउँछिन्। यिनैमध्येका रमिला तामाङ (नाम परिवर्तन) सँग उनले तेस्रो बिहे गरे। आकर्षक जिउडाल र सुन्दर अनुहारकी रमिलालाई उनले बिहे नगरे बेच्ने धम्की दिएर आफ्नी बनाएका थिए। यसैगरी धम्काएर बिहे गरेकी दोस्री श्रीमतीलाई उनले आठ महिनापछि कोठीमा बेचेका थिए। पछिल्ला दुइटीको बिहे गर्नुअघि नै जेठी श्रीमतीको रहस्यमय मृत्यु भइसकेको थियो। दुई छोराकी आमा उनको 'बजिर आफैंले हत्या गरेको' कान्छी श्रीमती रमिलाले आफूहरु त्यहाँ बस्दा सुनाएको चौतारा-इकी बहिनी चौतारा-एफ बताउँछिन्।

नेपालमा बजिर पक्राउ परेपछि रमिला बिहे गरेर अर्कैसँग गइसकेकी छिन्। उनीहरुका अनुसार बाध्यतावश उनीसँग बिहे गरेकी रमिला यो पेसा र बजिर दुवै मन पराउँदैनथिन्। रमिलाकै सहयोगमा चौतारा-इ र चौतारा-एफ भागेर घर फर्कन सफल भएका थिए। को-को छन् बजिर सञ्जालमा प्रहरीले बजिर गिरोहका आठको पहिचान गरिसकेको छ। यीमध्ये बजिरसहित तीनजना पक्राउ परिसकेका छन्। बजिर गिरोहमा सुकुमान दोङ, काइँला भनिने टेकबहादुर विक, उनकी श्रीमती काइँली विक, बच्चु विक/श्रीमती सीता विक, दावा तामाङ/श्रीमती माइली तामाङ सक्रिय छन्।

सुकुमान बाँसखर्कका हुन् भने अरु नवलपुर गाविसका। टेकबहादुर पोहोर र सुकुमान परार पक्राउ परेका थिए। पाँचजना अझै फरार छन्। टेकबहादुर पक्राउ परेपछि बजिरसिंह चेली बेच्ने गिरोहका नाइके भएको पत्ता लागेको थियो। बजिर नाइके भए पनि फरार दावाविरुद्ध जिल्ला प्रहरीमा सात चेली बेचेको किटानी जाहेरी छ। अरुसँग मिलेर गाउँ-गाउँ डुल्दै चेली फकाउने दावा बजिरसम्म पुग्ने सूत्रधार पनि हुन्। गाउँमा चेली फकाउने मुख्य भूमिका टेकबहादुर र साइँलीले खेल्दै आएका थिए। यो गिरोहले गाउँका धेरै चेली भारत लगेर बेचेको अनुमान छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त लामाले फरारहरुको व्यापक खोजी भइरहेको दाबी गरे। उनले बजिर गिरोह अझै ठूलै रहेको निष्कर्षमा पुगेर प्रहरीले अनुसन्धान जारी राखेको बताए। पछिल्लोपटक दुई वर्षअघि फर्केकी चौतारा-जेले भनिन्, 'मैले छाड्दा त्यहाँ सिन्धुपाल्चोकका मात्रै कम्तीमा १५ जना दिदीबहिनी थिए। केहीलाई म पहिल्यैदेखि चिन्छु।' फरक-फरक समयमा उनीहरु सबैलाई २०६४ सालमा भारत पुर्‍याइएको थियो। कोठी धाउने ग्राहकको सहयोगमा सुरुमा फर्कन सफल चौतारा-बीका अनुसार बजिरसिंहसहितको समूहले २०६४ माघमा उनीसहित एकैपटक सात युवतीलाई भारत लगेको थियो।

उनीहरुले आफ्नै खर्चमा पासपोर्ट बनाइदिएका सिन्धुपाल्चोकका पाँच चेली थिए। उनीहरुमध्ये पाँचजना फर्कन सफल भएका छन्। ओखलढुंगाकी एक युवती आफ्नै जिल्लाबाट मुद्दा लडिरहेकी छन्। अझै सम्पर्कमा नआएका मध्येकी एक युवती अभियुक्त टेकबहादुरकै छोरी हुन्। उनी आफ्नै बाबुबाट बेचिएकी थिइन्।
पीडितका बजिरले अनुसार सुरुमा आफैंसँग र त्यसपछि आफ्नै कोठीमा यौनधन्दामा लगाउने र पछि अन्यत्रै लगेर बेच्ने गर्थे।

'आफूसँग रहँदा मात्र होइन, उसको कोठी र अन्यत्र हुँदा पनि ग्राहकसँग यौनसम्पर्क राख्न नमान्दा कोर्रा बोकेर यातना दिन आइपुग्थ्यो,' यातनाले गर्धनमा बसेको घाउको खत देखाउँदै एक पीडितले भनिन्।
उनले ३ लाख भारुसम्म बेचेको उनीहरुको भोगाइ छ। आफू डेढ लाखमा बेचिएको बताउने अर्की पीडित भन्छिन्, 'सुरु-सुरुमा ग्राहकसँग १५ हजार भारुसम्म असुल्ने बजिर पछि सय भारु लिन्थ्यो।' नागरिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com