पहिले हेप्नेहरू अहिले नमस्कार गर्छन् I

म क पनि नपढेकी एकल महिला थिएँ। मेरा तीन सन्तान छन्। श्रीमान्को मृत्युपछि छोराछोरीको जिम्मेवारी आफ्नै काँधमा आइलाग्यो। अत्तालिएँ, रोएँ, कराएँ, अनेकौं हन्डर खाएँ। यत्तिकैमा गुजाराका लागि सानो पसल थापें। हिसाब-किताब नजान्ने हुँदा पसल बढ्ला भन्दाभन्दै घट्दै गयो।

यसबीच स्वरोजगार शिक्षा ग्रहण गरिसकेपछि मेरो व्यवसाय फस्टाएको छ। अहिले त सबै अक्षर चिन्छु, हिसाब-किताब पनि आफैं गर्छु। हाम्रो उज्ज्वल भविष्य समूहमा २१ जना महिला दिदी-बहिनी छौं। मासिक बचत त छँदैछ अन्य आयमूलक तथा सामाजिक काममा पनि दायित्व बढेको छ। पहिले हेप्नेहरू अहिले नमस्कार गर्छन्। यसरी मेरा लागि समय बदलिएको छ।

हाम्रो समूहले आयआर्जनका लागि बंगुरपालन सुरु गरेको छ। चारैतिरको कामले गर्दा व्यस्तता पनि बढ्दो छ। सामाजिक सम्मान मिल्दै गएको छ। महिला सशक्तिकरणका लागि शिक्षा, आँट, अर्थ सबैले समान भूमिका खेल्छन् भन्ने मेरो ठम्याइ छ ।

लक्ष्मी गोले,
थाक्रे महादेववेसी, धादिङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com