काठमाडौ, जेष्ठ १० ,
'शीला पाण्डे :- सगरमाथा चढ्ने मेरो रहर हो,' आधार शिविर जानुअघि १६ वर्षीया छेम्जी शेर्पाले भनेकी थिइन् । गत शनिबार उनी रहर गरेको कुरा पहिलोचोटिमै पूरा हुने भाग्यमानी बनेकी छन् । यति मात्रै होइन, उनी सगरमाथा चढ्ने सबैभन्दा कम उमेरकी महिलाको रेकर्ड पनि आफ्नो नाममा पार्न सफल भएकी छन् ।
आफ्नो रहर पूरा गर्न छेम्जी वैशाख २० गते आधार शिविरतर्फ लागेकी थिइन् । उनको टोलीको व्यवस्थापनको जिम्मा पाएको रोयल अर्किड ट्रेक्स एन्ड एक्सपिडिसनका छिरिङ शेर्पाका अनुसार छेम्जीले शनिबार मध्याह्न साढे १२ बजे सगरमाथाको चुचुरो टेकेकी हुन् । आरोहण सकेर आधार शिविर झरिसकेकी यी कान्छी महिला आरोही शुक्रबार राजधानी आउँदै छिन् । पर्यटन उद्योग महाशाखाका अनुसार यसअघि १६ नेपाली महिलाले सगरमाथा चढेका छन् । आरोहण गर्ने सबै २० वर्षदेखि माथिका रहेको महाशाखाले जनाएको छ । राजधानीको बौद्धमा बस्दै आएकी छेम्जीले लुम्बिनी एकेडेमीबाट यसै वर्ष एसएलसी सकेकी हुन् ।
उनी 'टिम सपोर्टर' का रूपमा एक्सपिडिसनबाट आरोहणका लागि गएकी हुन् । सगरमाथा आरोहणअघि पूर्वतयारीका रूपमा ६ हजार १ सय १९ मिटरको लोबुचे हिमाल समेत चढेकी उनले आफ्ना पिता पनि यसै क्षेत्रमा संलग्न भएकाले आफूलाई सहज भएको बताएकी थिइन् ।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा चढेपछि धेरै दशक सर्वोच्च शिखर आरोहण गर्नेमा पुरुषकै वर्चस्व थियो । जसलाई १९७५ मा जापानी नागरिक जुन्को ताबेईले तोडिन् । नेपाली प्रथम महिला आरोहीका रूपमा सन् १९९३ मा पासाङ ल्हामु शेर्पाले चुचुरो चुमेपछि अन्यले उनको पाइला पछ्याएका हुन् ।
सबै नेपाली महिला मात्र भएको टोली 'मिलेनियम एभरेस्ट एक्सपिडिसन' सन् २००० मा सगरमाथा आरोहणमा हिँडेको थियो । त्यसपछि सन् २००८ मा १० समावेशी महिलाको टोलीले सगरमाथा चढेका थियो । बीचबीचमा अन्य विदेशी टोलीको सहायकका रूपमा केही महिलाले सर्वोच्च शिखर टेकेका थिए ।
यो सिजनमा ६ आरोहीको मृत्यु:
काठमाडौं- यसपालिको पर्वतारोहण मौसममा सगरमाथा चुचुरो टेक्न गएकामध्ये ६ जनाको मृत्यु भएको छ । दुई दिनयता ४ जनाले आरोहणका क्रममा ज्यान गुमाएका छन । सम्पर्क अधिकृतका रूपमा आधारशिविरमा रहेका तिलक पाण्डेका अनुसार हृयाप्पी फिटको व्यवस्थापनमा सगरमाथा आरोहणका लागि गएकी गैरआवासिय नेपाली (क्यानडा बस्दै आएकी) ३२ वषिर्या श्रयिा शाहको सोमबार मृत्यु भएको छ । सोमबारै कोरियन आरोही ४४ वषिर्य वन बिनको सगरमाथा चढेर र्फकने क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए । यी आरोही ट्रेकिङ्ग क्याम्पको व्यवस्थापनमा सगरमाथा क्षेत्र लागेका थिए ।
एशियन ट्रेकिङ्गको इको एक्सपिडिसनमा सहभागी रहेका जर्मन नागरिक इबरहार्ड स्काफ एरिकको चुचुरोको ८ हजार ८ सय ५० मिटरमा 'हाई अल्टिच्युड' का कारण आइतबार मृत्यु भएको
थियो । त्यस्तै मृत्यु हुने अर्का आरोही माउन्टेन एक्सपेरियन्सबाट गएका चाइनिज नागरिक विनर्यी हा हुन् । झण्डै १५ दिन अगाडी दुई जनाको आरोहणका क्रममा मृत्यु भएको थियो । यो संख्या समेत जोड्दा हिमाल आरोहणका क्रममा मृत्यु हुनेको संख्या २ सय ४० नाघेको छ । पाण्डेका अनुसार सगरमाथा चढ्न जानेमध्ये ढुङ्गाले लागेर तथा विभिन्न कारणले ८ जना घाइते छन् । उनीहरुको उपचार आधारशिविरमा रहेको स्वास्थ्यकर्मीको टोलीले गरिरहेका छन । ।
यसपाली सगरमाथा चढ्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३३ टोलीका ३ सय ४१ -नेपालीसहित) लाई अनुमति दिएको छ । तीमध्ये शनिबारसम्म १ सय ९८ ले आरोहण पुरा गरेका छन् । अनुमति पाउने टोलीमध्ये ३ टोलीका गरी १४ जना नेपाली आरोहणका लागि आधारशिविर पुगेका थिए । सबैभन्दा बढी आरोही अमेरिकाका छन् ।
मन्त्रालयका अनुसार ८१ अमेरिकी र ६२ भारतीय आरोहीले अनुमति पाएका छन् । हालसम्म ३ हजार ७ सयले सगरमाथा चढिसकेको तथ्यांक छ । सगरमाथा आरोहणको अनुमति दिए वापत सरकारले यसपाली झण्डै २६ करोड ४० लाख रुपैया रोयल्टी कमाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै