धनगढी, जेठ १२,
लबहादुर छत्याल :- लगातार २८ दिन लामो बन्दले सुदूरपश्चिमका सरकारी तथा निजी अस्पतालमा औषधी छैन। सेती अञ्चल अस्पतालमा स्लाइनको स्टकै रित्तिएको छ।
चढ्दो गर्मीसँगै झाडापखाला फैलँदा स्लाइनको अभावमा समेत बिरामीको ज्यान जान सक्ने अवस्था रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंहले बताए। 'गर्मीको समय छ, बिरामी बढेका छन्। झाडापखालाका लागि आरएल स्लाइन नभई हुन्न,' उनले भने, 'त्यस्तो स्थिति भयावह हुन सक्छ।'
आकस्मिक सेवाका अहेव सुरेश जुरीले बन्दका कारण पूर्वतिरबाट औषधी आउन नसकेको जानकारी दिए।
'सचिव स्तरबाट दुई महिनाका लागि स्टक राख्ने परिपत्र आएको छ,' जुरीले भने, 'औषधी नै छैन, कसरी स्टक राख्ने?' स्टकको औषधी पनि सिद्धिसकेकाले समयमै आपूर्ति व्यवस्था मिलाउन पहल गर्नुपर्ने उनको भनाइ छ।
सेती अञ्चल अस्पताल, महाकाली अस्पताललगायत सुदूरपश्चिमका नौवटै जिल्ला अस्पतालमा अमित मेडिसन डिस्ट्रिब्युटरले औषधी आपूर्ति गर्दै आएको छ। अमितका सञ्चालक दुष्यन्त बस्नेतले एक महिनादेखि आपूर्ति हुन नसकेकाले स्टक सकिएको बताए। 'बन्दले एक महिनादेखि वीरगन्ज, काठमाडौं र नेपालगन्जबाट औषधी आएको छैन,' उनले भने, 'स्टक सिद्धिसकेको छ।' यहाँका केही निजी अस्पतालमा समेत अमितले नै औषधी आपूर्ति गर्छ।
झाडापखालाको मेट्रो ट्याब्लेट, मेट्रो झोल, स्लाइन चढाउन चाहिने आइबी सेटसमेत नभएको बस्नेतले बताए।
यसैगरी नियमित औषधी खानुपर्ने रोगका औषधीसमेत एक सातादेखि नभएको उनले जानकारी दिए।
'मुटुरोगी, उच्च रक्तचाप, मधुमेहलगायत नियमित खानुपर्ने रोगको औषधी छैन,' उनले भने, 'औषधी सिद्धिएर हाहाकारको अवस्था छ।'
साझा स्वास्थ्य सेवाका कृष्ण सापकोटाले धनगढीका कुनै पनि मेडिकलमा इन्सुलिनलगायत औषधी नभएको बताए। 'सुगरको औषधी सकिएको एक साता भइसक्यो, दिनहुँ १०, १२ जना औषधीका लागि टिठलाग्दो अनुहार लिएर आउँछन्,' उनले भने, 'दिनहुँ खानुपर्ने सुगरको औषधी नपाएर कतिपय डाक्टर नै समस्यामा परेका छन्।'
विष लागेका बिरामीका लागि आवश्यक एडिनलिन पनि छैन। ५० प्रतिशतभन्दा बढी औषधीको अभाव रहेको सापकोटाले बताए। अखण्ड सुदूरपश्चिम पक्ष र थरुहट पक्षको पालैपालो बन्दले गत वैशाख १५ यस क्षेत्रमा ठप्प छ। अखण्ड सुदूरपश्चिम पक्षले बिहीबारदेखि फेरि आम हडताल आह्वान गरेको छ। नागरिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै