महिला हिँसा,हत्या र आत्माहत्या

जगन कार्की :- आवेशमा आएर गरिएको आत्महत्या दर्दनाक र भयावह घटना हो.!हत्या आफैमा पागलपन र क्रूरताको पराकाष्ठा हो.! जुनसुकै कारणले मानिसलाई हत्या र आत्महत्या सम्म पुर्‍याए तापनि मृत्यु नै समस्याको समाधान हुनसक्दैन ।

कसैको हत्या गरेर समस्याबाट मुक्त हुन्छु भन्ने गलत मानसिकताले स्वयं हत्याराकै पनि जीवन बर्बाद भएको हुन्छ । अपराधी त्यतिबेला मात्र होशमा आइपुग्छ, जतिबेला उसले अपराध गरिसकेको हुन्छ । हत्या गरिसकेपछि कानुनको कठघरामा उभिएर अपराध स्वीकार्दै कारावासको कष्टपूर्ण जीवन बिताउनु त छँदैछ, परिवार र समाजबाट पनि ऊ पूर्णतः एक्लिएको हुन्छ.

पति-पत्नीबीच हुने आपसी झगडाकै कारण बालबच्चा टुहुरो पारेर वा छोराछोरीसमेत नै आत्महत्या गर्न खोज्नु हतास, निराश एवं कमजोर मानसिकताको उपज हो । यस्तो कदमबाट महिलाले हिंसादेखि मुक्ति खोज्नु भनेको आफूलाई पराजित बनाउनु हो, कलंकित बनाउनु हो । समस्यासँग जुझ्न नसकेर मृत्यु रोज्ने महिलालाई... आफैले जन्माएका सन्तानको समेत बाँच्न पाउने हक खोस्ने कुनै अधिकार छैन ।

गत भदौमा पर्वतका कृष्ण तिवारीले आफ्ना दुई छोरीलाई ज्युँदै नदीमा बगाएर हत्या गरे अनि हालै हेटौंडाका भक्तबहादुरले निदाइरहेका तीन छोरीलाई ढुङ्गाले थिचेर मारे । बाबुको क्रूरताको नमुना सेलाउन नपाउँदै कास्कीमा लोग्नेको रिसले सीताले छोरीहरूसँगै जलेर मरिन्, बाराकी रमिता चौधरीले गरिबीका कारण दुई नाबालक छोराहरूलाई घाँटी थिचेर मारी आफूले पनि पासो लगाएर आत्महत्या गरिन् ।

अनि हालैमात्र दार्चुलाकी पार्वती भट्टले 'अवैध सम्बन्ध खुल्ने डर'ले दुई स-साना छोराहरूलाई साथमा लिएर चमेलिया नदीमा हामफालेर आत्महत्या गरिन् । के दोष थियो, ती भर्खर संसार देख्दै गरेका बाबु-नानीहरूको ? ओहो ! कति क्रूर बन्नसकेका आमाहरू !!

किन घट्दैछन्, समाजमा यस्ता पत्याउनै नसकिने घटनाहरू ? हत्या आफैमा पागलपन र क्रूरताको पराकाष्ठा हो । यस्तो पागलपनबाट यतिबेला समाजमा आमाहरू हत्यारा बन्दैछन्, बाबुहरू हत्यारा बन्दैछन्, श्रीमानहरू हत्यारा बन्दैछन्, अनि छोराछोरी र प्रेमीहरू हत्यारा बन्दैछन् र विडम्बनाको कुरा हत्याको सिकार भएका छन्- आमाहरू, श्रीमतीहरू, अनि छोरीहरू ।

हिंसा विरुद्ध जति नै कार्यक्रमहरू ल्याइए तापनि महिलामाथि हुने विभिन्न खाले हिंसामा कमी आउनसकेको देखिंँदैन । हिंसाकै कारण महिलाहरू मर्ने र मारिने क्रम बढिरहेको देखिन्छ जुनसुकै कारणले मानिसलाई हत्या र आत्महत्यासम्म पुर्‍याए तापनि मृत्यु नै समस्याको समाधान हुनसक्दैन .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com