कामको सुची लामोछ जिवान छोटो-सपना मल्ल प्रधान (सभासद)

नरेन्द्र रोले :- समयको बेग यति चाँडो बहन्छ, त्यसलाई समात्नै सकिँदैन। त्यसैले म बेला-बेला आत्तिन्छु, गर्न बाँकी कामहरूको सूची लामो छ। छोटो जीवनमा ती सबै चाहना पूरा गर्न सकिँदैन कि जस्तो भैदिन्छ। समय एकदमै मूल्यवान् छ। त्यसैले पलपलको सदुपयोग गर्न मन लाग्छ। यो जीवन एक दिन छाडेर जाने चोला त हो नि।

जीवनलाई एकदमै सन्तुलित रूपमा अघि बढाउनुपर्दो रहेछ। एकातिर अध्ययन र संघर्षको पाटो अर्कातिर रमाइलो पाटो। यी दुवैको तालमेल मिल्दा जीवनमा खुसी, सुख र आनन्द भित्र्याउन सकिँदो रहेछ। मेरो जीवनका हरेक पल खुसियालीमा बिते। नवलपरासीको पवन प्रकृति स्कुलबाट ५ कक्षाको अध्ययन पूरा गरेपछि मेरो जीवनले कोल्टो फेर्‍यो। पढ्नका लागि म राजधानी आइपुगें। म न्युरोडस्थित मामाघरमा बसें र नेपाल आदर्श माविबाट एसएलसीसम्मको यात्रा गरें। पढाइसँगै अभिनय, नाचगान, पेन्टिङ, खेलकुद एवं भाषणकलामा आफ्नो क्षमताको प्रर्दशन गरें जसले मेरो सुदूर भविष्यलाईर् मलजल पुर्‍यायो।

एसएलसीपछि उपन्यास पढ्ने गहिरो लत बस्यो। सम्झन्छु, सिड्नी सेल्डनका उपन्यास पढ्न थालेपछि म भोक, तिर्खा सबै बिर्सिदिन्थें। मैले अमेरिकन राजदूतावासको लाइब्रेरी र हनुमानढोकास्थित रसियन कल्चर सेन्टरमा पसेर कैयौं पुस्तक छिचोलेकी छु। सेल्डनको द अदर साइड अफ मिडनाइट मलाई एकदमै प्रभावित पारेको पुस्तक हो। उनका पुस्तकहरूमा मुलत महिलाहरू प्रमुख पात्र हुन्छन्। महिलालाई प्रमुख भूमिका दिएर, जीवन, संघर्ष, स्वतन्त्रतालाई रोचक ढंगमा प्रस्तुत गर्ने सेल्डनका कुनै पनि पुस्तक मलाई पढौंपढौं लाग्थ्यो। उपन्यासहरू पढ्दापढ्दै मैले कति रात नसुति काटेकी छु, कति प्रहर भोकै बसेकी छु।

किशोर अवस्थामा म चञ्चले थिएँ। जे काम पनि गर्न मन लागिहाल्ने। जुनसुकै काम गर्न कसैले छेक्न सक्दैनथ्यो। अतिरिक्त क्रियाकलापमा राम्रो भएकाले मलाई अरूले विशेष नजरले हेर्थे। ५ कक्षा पढ्दा मलाई पहिलो प्रेम प्रस्ताव आयो तर नवलपरासीबाट काठमाडौं आएपछि त्यो केटासँग मेरो कहिल्यै भेट भएन। जब कलेज पढ्न थालें (नेपाल ल क्याम्पस) मलाई मन पराउने अरू पनि थपिए। एक जना केटा थियो, मेरो सिटको पछाडि बस्थ्यो। 'आहा कस्तो राम्रो कपाल' भन्दै ऊ मेरो प्रशंसा गथ्र्यो। उसले केही दिनमा आई लभ यु भन्यो, म दंग परें। त्यो दिन मैले बेग्लै खुसी र आनन्द महसुस गरेकी थिएँ तर त्यो खुसी लामो समय टिकेन। १५ दिनपछि एउटा चिठी हात पर्‍यो।

'म बाहुन पृष्ठभूमिबाट आएको, तिमी नेवार पृष्ठभूमिकी केटी। हामीबीच प्रेम सम्भव छैन।' उसले लेखेर दिएको त्यो चिठी तकियामुनि राखें र बेस्सरी रुन थालें। दिदीले त्यो चिठी आमाबालाई देखाएपछि झन् गाली खाइयो। यो मेरो पहिलो प्रेम कहिल्यै भूल्न सक्दिनँ। मेरो मनमा चोट पर्‍यो। पछि थाहा पाएँ, उसले अर्कै केटीलाई मन पराएको रहेछ। लाग्थ्यो, प्रेममा जातभात हुनुहुँदैन तर जब उसले जातभातको कुरा गर्‍यो त्यो मलाईर् पटक्कै मन परेन। बीएल पढ्दा त्यो केटाले मसँग माफी माग्यो। बिएल पढ्दासम्म मैले मन पराउने र मलाई मन पराउनेहरू धेरै भैसकेका थिए। तीमध्ये एक जना युवामाथि विशेष नजर पर्न थाल्यो। अग्लो कद, पढाइमा राम्रो, खेलाडी र उसको आकर्षक व्यक्तित्वले मलाई तान्यो। म उसको प्रेममा परें। सँगसँगै हामी चलचित्र हेर्न जान थाल्यौं। क्यान्टिनमा घन्टौं गफिन थाल्यौं। आहा ती रमाइला दिनहरू फेरि फर्केर आइदिए त हुन्थ्यो। म स्वतन्त्र भएर बाँच्न मन पराउने, कसैको हस्तक्षेप नस्वीकार्ने। उसको परम्परागत व्यवहार पछि मलाई मन परेन। हामी छुट्टियौं।

प्रेम रोमान्स मात्र होइन। यो एउटा अनुभूति हो, अभिव्यक्ति हो। सजीव र निर्जीव सबैसँग प्रेम हुन्छ। असल प्रेमले कसैलाई बिगार्दैन बरु सधैं राम्रो बनाउँछ। प्रेम बदलाको भावना होइन। जहाँ हिंसा हुन्छ त्यो त अपराध हो। बैंसको प्रेममा क्षणिक आकर्षण हुन्छ, अलिकति रिस, राग हुन्छ तर परिपक्व प्रेममा एक अर्काप्रति सम्मान, सहयोगीपन, माया हुन्छ। यस्तै परिपक्व प्रेम मेरा श्रीमान् अशोक मल्लसँग छ। अहिले पनि उहाँ घनिष्ठ साथी जस्तो लाग्छ। विवाह गरेको २५ वर्ष पुगिसक्दा पनि कहिल्यै ठूलो स्वरमा बोल्नुभएन। बरु रिसाएर नबोली बस्नुहुन्छ।

आफूमा इन्जिनियर बन्ने सपना भए पनि बुबाको चाहनाका कारण मैले कानुन पढें। बीएल अध्ययनकै क्रममा पुलिस बन्ने धुन चढ्यो। एक महिना तालिम पनि लिएँ। त्यही बेला कसैले यो पेसामा हाकिमले जे भन्यो त्यही मान्नुपर्छ भनेपछि मैले यो बाटो त्यागें। सरकारी जागिरमा मेरो रुचि रहेन। दिल्ली युनिभर्सिटीले कठोर मेहनत गर्न सिकायो। बिहान ७ देखि बेलुकी ७ सम्म निरन्तर पढेर बस्थें। यसले म मा आत्मविश्वास बढायो। त्यहाँबाट फर्केर आएपछि बार एसोसिएसनमा काम पाएँ। त्यहाँ मैले महिलाहरूका पीडा, समस्या र हाम्रो कानुनलाई अझ राम्रोसँग बुझ्ने अवसर पाएँ। छोरीलाई नागरिकता, गर्भपतनलाई कानुनी मान्यता, वैवाहिक बलात्कारलाई कानुनी अपराधीकरणजस्ता मैले उठाएका मुद्दाहरू सफल भए।

युवा भनेको जोस, जाँगरले भरिएको हुन्छ। म मा त्यो जाँगर जीवितै छ। अझै पनि पढ्ने, लेख्ने र आफ्नो काममा खटिरहेकी छु। सकारात्मक सोच, कसैको कुरा नकाट्ने बानीले आफैंलाई फाइदा हुन्छ। युवाहरू आफूलाई फाइदा हुने र रुचिअनुसारका काममा व्यस्त रहनुपर्छ। काम सानो ठूलो हुँदैन। सानै भए पनि त्यसको सम्मान गर्नुपर्छ। मानिस खारिने भनेको काम र संघर्षबाटै हो। मलाई यो स्थान सम्म पनि आफ्नै संघर्षले ल्याएको हो। आफू बाँचेको जीवनप्रति म सन्तुष्ट छु। जीवनका यी पाइलाहरू अघि बढाइरहँदा बालापन र किशोरवयका ती उन्मुक्त क्षणहरूको एकदमै याद आउँछ जहाँ मेरो स्वतन्त्र जीवन थियो तर ती दिनहरू अब कहिल्यै फर्केर आउने छैनन्। साप्ताहिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com