समस्य समाधान एस.एम.एस. को I

पर्वत, वैशाख ३,

बर्राचौर उपस्वाथ्यचौकीका इन्चार्ज भूपेन्द्र पौडेलले स्थानीय सीता नेपालीले चौथो सन्तानका रूपमा जन्म दिएको छोराको बारेमा सबै कुरा मोबाइलमा लेखेर जिल्ला अस्पतालका प्रमुखलाई एसएमएस गरे । सीताका परिवारले थाहा नै नपाई उनले बिहान ५ बजेर २० मिनेट जाँदा पठाएको एसएमएसको जवाफ अस्पतालका प्रमुख डाक्टर सागरराज भण्डारीले 'सकुशल बच्चा जन्मिएकोमा बधाई । अबदेखि सधैं यसरी नै बच्चा जन्मिएको खबर पठाउनु' भन्दै फर्काए ।

त्यसपछि बच्चा जन्मिएको बारे कपीमा टिपोट गरी महिना दिनमा जिल्ला अस्पताल पठाउन बाध्य बनेका पौडेल एसएमएसमार्फत तत्काल बच्चाका बारेमा पठाउन पाउँँदा दंग बने । पहिला बच्चाका बारेमा छुट्टै टिपेर महिना पुगेपछि अस्पतालमा पठाउने गर्थें,' उनले भने, 'अहिले भने बच्चा जन्मनासाथ मोबाइलमार्फत तुरुन्त जानकारी गराउन पाइयो । यसमा सबैभन्दा खुसी हामी गाउँका स्वास्थ्यकर्मी छौं ।'

यो प्रविधि सुरु गरेको तीन साता नबित्दै सबैभन्दा धेरै पौडेलले ९ वटा एसएमएस पठाइसकेका छन् । अहिलेसम्म ९ महिलाले सकुशल बच्चा जन्माएकाले उनले सबैको बारेमा एसएमएसमार्फत डाक्टरलाई सूचित गराएका हुन् । उनी जस्तै अन्यत्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि बच्चा जन्मनसाथ एसएमएसमार्फत छोरा वा छोरी जे जन्मिए पनि जिल्ला अस्पतालका डाक्टरलाई जानकारी गराउँछन् ।

अस्पतालले प्रविधिको विकाससँगै स्वास्थ्यचौकीमा रेकर्ड राख्ने पुरानो प्रविधिलाई त्यागी प्रसूति सेवा सुरु भएका मातहतका स्वास्थ्यचौकीमा सुत्केरी हुनासाथ एसएमएसमार्फत रेकर्ड राख्न सुरु गरेको हो । एसएमएसमा बच्चाको तौल, मिति, लिंग, जन्मिएको समय लेखेर पठाउने गरिएको छ ।

यो अभियान सुरु गरेको तीन साता नबित्दै १७ बच्चा जन्मिएको खबर एसएमएसमार्फत आएको छ । 'पहिला स्वास्थ्यचौकीमा बच्चा जन्मिएपछि कपीमा रेकर्ड राख्ने गरिन्थ्यो, त्यो रेकर्ड अस्पतालसम्म आइपुग्न महिना दिनभन्दा बढी समय पर्खनुपर्ने समस्या थियो,' जिल्ला अस्पतालका प्रमुख डाक्टर सागरराज भण्डारीले भने, 'त्यसैले सजिलो र झन्झटमुक्त हुन मोबाइलमार्फत स्वास्थ्यचौकीबाटै एसएमएस गरी शिशुहरूको रेकर्ड राख्न सुरु गरेका हौं । '

यो अभियान सुरु छोटो समयमै प्रभावकारी बनेको उनले बताए । एसएमएस गर्ने खर्च भने स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालले उपलब्ध गराउनेछ । यसबाट अभिभावकसमेत हषिर्त छन् । सुत्केरी गराउँदा केही समस्या आइपरेमा पनि गाउँका स्वास्थ्यकर्मीले एसएमएस गरी समस्या पठाउने र डाक्टरले फोन गरेर सुत्केरी गराउने थप प्रक्रिया सिकाउने गर्छन् । स्वास्थ्य चौकीका स्टाफ नर्स र अनमीले सुत्केरी गराउने भएकाले आमा र नवजात शिशुको अकालमा ज्यान जाने सम्भावना कम भएको हो ।

जिल्लाभर कति बच्चा जन्मिए त्यसमा छोरा कति र छोरी कति भन्ने कुरा यो अभियान सुरु भएपछि तत्काल थाहा पाइने डाक्टर राजभण्डारीले बताए । जिल्ला अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ११ स्वास्थ्यचौकी र ३ उपस्वास्थ्यचौकीमा २४ घन्टे प्रसूति सेवा छ । यो अभियानले मातृशिशु मृत्युदरमा पनि कमी आउने अस्पतालले जनाएको छ । बिमला खातिवाडा ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com