मिलनको मिलनसार संघर्ष I

बैशाख- ०३,

केही समयअघि नेपाली संगीत क्षेत्रमा मीठो स्वर भएकी एक प्रतिभाले आफ्नो एल्बम प्रस्तुत गरिन् । धेरै नयाँ गायिका यस क्षेत्रमा देखापरिरहेको बेला मिलन शीर्षकको एल्बम लिएर गायिका मिलन अमात्य दर्शक-श्रोतामाझ देखा परिन् । नेपाली संगीतका लागि यो नाम नयाँ भए पनि मिलन आसाममा विगत दस वर्षदेखि गायनलाई नै पेसा बनाई मिलन नेवारको नाममा स्थापित गायिका हुन् । आसामको संगीत क्षेत्रमा पहिचान बनाइसकेकी मिलन गत वर्ष मेन्सन अमात्यसँग विवाह गरेर नेपाल आएपछि नेपाली संगीत क्षेत्रमा उनको आगमन भएको हो । उता चर्चित बनिसकेकी गायिकालाई यता शून्यबाट काम सुरु गर्नुपर्दा असजिलो महसुस भए पनि उनी आफ्नो गायकी र परिश्रममा पूर्ण विश्वस्त थिइन् । त्यसैले उनलाई यहाँ पनि नयाँका रूपमा नभई स्थापित गायिकाहरूको कोटीमै गन्न थालिएको छ ।

परिवारले उनलाई चार वर्षकै उमेरदेखि संगीत सिक्ने अवसर जुटाइदिएका थिए । उनकी आन्टी डुकुना नेवार आसाममा लोक गायिकाका रूपमा स्थापित भएकीले पनि उनलाई संगीतमा बढी रुचि भएको हो । चार वर्षको उमेरदेखि निरन्तर संगीत सिकिरहेकी मिलनले ११ वर्षको उमेरमा गुवाहाटीमा शास्त्रीय संगीतका गुरु सुवासदासबाट शास्त्रीय संगीतमा विशारदसम्म अध्ययन गरिन् । त्यहीँ नै उनले चर्चित संगीत सर्जक कम्पनी सुरगंगासँग काम गर्ने अवसर पाइन् ।

मिलनले सन् २००३ मा अल इन्डिया म्युजिकल कम्पिटिसनमा भाग लिएर फस्ट रनर अपको पुरस्कार हात पारेकी थिइन् । आसामी र राजस्थानी लोक संगीतमा आधारित उक्त प्रतियोगितामा प्रसिद्ध बलिउड संगीत मेस्ट्रो स्व. नौसद अली, प्रसिद्ध गजल गायक पिनाज मसानी, शास्त्रीय गायक सुशीला रानी तथा लोक गायक बद्री भियास निणर्ायक मण्डलमा थिए । मिलनका लागि जीवनको सबैभन्दा खुसीको क्षण पनि त्यही नै हो ।

नेपालमा उनको नेपाली एल्बम पहिलो भए पनि आसाममा हुँदा नै उनले नेपाली भाषाका कान्छी, मेरो मन, आशा, तृष्णा, बाडुली, मायाको इन्द्रेणीलगायत १० वटा एल्बम बजारमा ल्याइसकेकी थिइन् । उनले नेपालीबाहेक मातृभाषा नेवारी, आसामी, राजस्थानी, बोडो आदि भाषामा समेत स्वर दिइसकेकी छिन् । मिलनले आसामी भाषाको खुनमानी, आको अनुपमा, कुँवली, रंगढली र गासुमा, मिलनर रिंग त्यसैगरी राजस्थानीमा घुमर, रुमाझुमा, चुँडीदार गजरो, देवर महारोरेलगायत ४० वटा एल्बममा स्वर दिएकी छिन् । भजन, लोक, आधुनिक, पपदेखि हरेक प्रकारका गीत, गजल गाइसकेकी मिलनले उता हुँदा नै ३ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी थिइन् । भारतका सबैजसो ठाउँमा प्रतिभा प्रदर्शन गरिसकेकी मिलनले नेपालका काठमाडौं, पोखराजस्ता प्रमुख सहरमा विभिन्न कार्यक्रममार्फत् श्रोताहरूलाई आपmनो स्वर सुनाएर मन्त्रमुग्ध तुल्याएकी छिन् । उनी नेपाली चलचित्रमा पाश्र्वगायनमार्फत् पनि आफ्नो नाम चम्काउँदै छिन् । सिर्जना दुवाल श्रेष्ठ:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com