काठमाडौं, वैशाख ४,
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० करोड रुपैयाँ लगानी गरेर जहाज राख्ने 'ह्यांगर' निर्माण गरेको छ। यो ह्यांगर मुलुककै सबैभन्दा ठूलो र सुविधासम्पन्न भएको कम्पनीले दाबी गरेको छ। गत वर्ष वैशाखमा १२ करोड रुपैयाँ लगानी गरी निर्माण सुरु गरिएको ह्यांगर तयार भएको दुई महिना भए पनि औपचारिक उद्घाटन हुन बाँकी छ। कम्पनीले आगामी बुधबार ह्यांगर उद्घाटन गर्दै छ।
'निर्माण सुरु भएको एक वर्षमा लगानी बढ्दै गएर २० करोड पुग्यो,' बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइतबार नागरिकसँग भने, 'त्रिभुवन विमानस्थलसँग जग्गा भाडामा लिएर ह्यांगर बनाएका हौं। जग्गा भाडा महिनाको झन्डै ५ लाख रुपैयाँ तिर्छौं।'
बुद्धको ह्यांगर त्रिभुवन विमानस्थल धावनमार्गको पूर्वी भागमा छ। 'हाम्रो ह्यांगरमा बोइङ ७३७ वा एयरबस ए३२० मोडेलसम्मका जहाज राख्न सकिन्छ,' उनले भने, 'हाम्रै जहाज हो भने एटिआर-७२ एउटा वा एटिआर-४२ दुइटा वा बिचक्राफ्ट-१९०० डी एकैपल्ट तीनवटा राख्न मिल्छ।'
बस्नेतका अनुसार आफ्नै ह्यांगर भएपछि जहाजको सुरक्षा, मर्मतसम्भारलगायत विमानस्थलसम्बन्धी कम्पनीका सबै काम गर्न सजिलो भएको छ। यसअघि आफ्नो ह्यांगर नहुँदा जहाज धावनमार्गका छेउमा पार्किङ गर्नुपरेको थियो। ह्यांगरमा जहाज राख्नेदेखि मर्मत गर्ने र स्पेयर पार्ट्स फेर्नेसम्मका सबै सुविधा उपलब्ध रहेको उनले जानकारी दिए। अपरेसन, इन्जिनियरिङ विभागसहित त्रिभुवन विमानस्थलमा रहेर काम गर्ने बुद्धका सबै ३ सय ८४ कर्मचारी यही,ह्यांगरबाट परिचालन हुने उनले बताए। 'आवश्यक परे अरू वायुसेवा कम्पनीलाई पनि ह्यांगर भाडामा दिन्छौं,' बस्नेतले भने, 'तर, केही समय लाग्छ।'
कम्पनीका अनुसार त्रिभुवन विमानस्थललाई भाडावापत् प्रतिवर्गमिटर १ सय ७५ रुपैयाँ तिरिएको छ। विद्युतका लागि भने कुल उपभोगमा थप ५० प्रतिशत तिर्ने सहमति भएको छ। बुद्धको ह्यांगरमा ढोका लगाउन मिल्ने (क्लोज डोअर) सुविधा छ। यस्तो ह्यांगर दक्षिण एसियामै बढीमा पाँचवटामात्र रहेको कम्पनीले दाबी गरेको छ। 'नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई ह्यांगर अतिआवश्यक छ,' बस्नेतले भने, 'भविष्यमा जेटलाइनर (ठूला जहाज) सम्म राख्न मिल्ने गरी ह्यांगर तयार पारेका हौं।'
हाल बुद्धले आन्तरिकतर्फ काठमाडौंबाट माउन्टेन फ्लाइटसहित भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, पोखरा, सिमरा र तुम्लिङटार गरी १० गन्तव्यमा उडान गरिरहेको छ।
माउन्टेन फ्लाइट दैनिक आठ, विराटनगर, पोखरा र सिमरा पाँच-पाँच, भद्रपुर, भैरहवा, भरतपुर, जनकपुर र नेपालगन्ज दुई-दुई तथा धनगढी र तुम्लिङटारका लागि एक-एक गरी कम्पनीले दैनिक ३५ उडान गरिरहेको छ।
अन्तर्राष्ट्रियतर्फ हाल भारतको बनारस उडान गरिरहेको छ। कम्पनीले यहाँबाट साताका आइतबार, मंगलबार, बिहीबार र शनिबार बनारस उडाइरहेको छ। बनारसका लागि यहाँबाट एकतर्फी प्रतियात्रु करसहित ५ हजार ३१ रुपैयाँमा उडाइरहेको छ। विदेशीलाई भने प्रतियात्रु १२ हजार रुपैयाँ लाग्छ। बनारस बुद्धको तेस्रो अन्तर्राष्ट्रिय गन्तव्य हो।
बुद्धले यसअघि भारतकै लखनऊ र भुटानको पारो उडान गरेको थियो। पर्यटकीय मौसम नभएको भन्दै गत पुस १७ बाट लखनऊ उडान स्थगन गरेको थियो। नियमित उडान गरिरहेको पारोतर्फ पर्याप्त यात्रु नपाएपछि चार्टर उडानमात्र गरेको केही अवधिपछि उडानै बन्द गरेको थियो। काठमाडौंबाट लखनऊ उडान स्थगन गरेको कम्पनीले चाँडै नै पोखराबाट त्यसतर्फ उडाउने तयारी गरिरहेको जनाएको छ। त्यसै गरी आगामी भदौ दोस्रो सातादेखि असोज दोस्रो साताभित्र भारतको कोलाकाता उडान गर्ने तयारी पनि उसको छ। अर्को एटिआर-७२ जहाज ल्याएर कोलकाता उडान गर्ने योजना रहेको कम्पनीले जानकारी गराएको छ।
कम्पनीसँग हाल ४७ सिट क्षमताका तीन एटिआर-४२, १८ सिट क्षमताका चार बिचक्राफ्ट र ७२ सिटे एउटा एटिआर-७२ जहाज सञ्चालनमा छन्। उसँग रहेका सात बिचक्राफ्टमध्ये तीनवटा अर्को निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सलाई बेचेको थियो।
नेपालबाट २ घन्टा ३० मिनेट दुरीमा पर्ने सम्पूर्ण गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ। सुशील भट्टराई,
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै