आटीली आर्जु I

बैशाख-६,

जुलिया चाङ् ब्लक नेपालका लागि अमेरकिी राजदूत नभएको भए नेपाली कांग्रेसका हस्ती शेरबहादुर देउवा र गैरसरकारी संस्थामा सक्रिय आरजु राणाबीच विवाह हुन्थ्यो वा हुन्नथ्यो, यसै भन्न सकिन्न। यसै पनि संभ्रान्त राणा परविारकी आरजुको कांग्रेस राजनीतिसँग कुनै साइनो थिएन। ब्लक नै हुन्, जसले उनीहरूका लागि 'लमी'को काम गरनि्। आरजुसँगको विवाहपछि नै देउवा अमेरकिी लाइनको राजनीतिसँग नजिकिए, त्यसअघि कांग्रेसमा अमेरकिी लाइनको बलियो उपस्थिति थिएन। त्यसैले स्पष्ट छ, बेहुलीका रूपमा आरजु एउटा बलियो राजनीतिक लाइन लिएर देउवाको गृहप्रवेश गरनि्।

गैरसरकारी संस्थामार्फत विकास र सामाजिक क्षेत्रमा क्रियाशील छिन् यतिबेला आरजु। उनी कांग्रेसका तर्फबाट सभासद् हुन् भने पार्टी महाधिवेशन प्रतिनिधिसमेत हुन्। अन्तर्राष्ट्रिय दातासँगको बलियो सम्बन्ध यिनको सबल पक्ष हो। सामाजिक र विकासका क्षेत्रमा आरजुले गैरसरकारी क्षेत्रमा गररिहेको कामबाट देउवाका लागि उनको गृहजिल्ला र देशभर मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बलियो प्रभाव बनाइदिएकी छन्। पतिको राजनीति बलियो बनाउने कुरामा नै आफ्ना कामलाई मुख्य रूपमा केन्दि्रत गरेको उनी बताउँछिन्। भन्छिन्, "मेरो सामाजिक र विकासका क्षेत्रमा रहेको संलग्नताले उहाँको राजनीतिलाई पनि साथ दिएको छ।"

आरजुको अंग्रेजी भाषामा रहेको पकडले पनि देउवालाई उनीमाथि थप निर्भर गराएकोे छ। आरजु निकटस्थ एक महिला नेतृका अनुसार कुनै विदेशीसँग 'डिल' गर्नुपर्‍यो भने शेरबहादुरले आरजुलाई बोलाउँछन्। विदेशीहरूको कार्यक्रममा कार्यपत्र या मन्तव्यका लागि पनि उनी पत्नीकै सहयोग लिन्छन्। कांग्रसका एक केन्द्रीय सदस्य भन्छन्, "त्यही ज्ञान नै आरजुले शेरबहादुरलाई प्रभावमा पार्ने एउटा मुख्य कारण हो।" जस्तो ः आरजुलाई शेरबहादुरको भन्दा बढी इन्टरनेट सञ्जालको ज्ञान छ र त्यसको व्यवस्थापन पनि उनले नै गरििदएकी छन्।

आरजुमाथि सरुवा, बढुवा, राजनीतिक नियुक्ति आदिमा शेरबहादुरलाई प्रभावमा पार्ने गरेको आरोप छ, त्यो पनि कांग्रेसभित्रैबाट। यस्ता विषयमा उनको रुचि रहेको उनी निकटस्थहरू नै बताउँछन्। यद्यपि, उनको यस्तो रूचि प्रत्यक्ष देखिँदैन। आफूकहाँ आउने सिफारसिहरू सल्लाहका रूपमा मात्र पतिसँग राख्ने गरेको उनी बताउँछिन्।

आरजुलाई चिनेजानेकाका शब्दमा भन्ने हो भने, उनी अत्यन्तै बाठी छन्। बाठी यस अर्थमा कि, उनी कतिपय आफ्ना रुचिका विषय अरूलाई पत्तै नदिई पतिद्वारा काम गराउन सक्छिन्। तर, विवाद हुने देखियो भने त्यो रुचि र अभीष्टबाट पछि हटिहाल्छिन्। जस्तो ः मीनेन्द्र रजिाल संस्कृतिमन्त्री हुँदा उनले लुम्बिनी विकास कोषमा गरेको कोषाध्यक्षको प्रस्ताव आरजुले अर्कै मान्छे अगाडि सारेपछि विवादमा पर्‍यो। तर, विवाद हुन नदिन तेस्रो व्यक्तिको विकल्प खोजियो। यसमा आरजुको बठ्याइँले काम गरेको स्रोतको दाबी छ।

जलविद्युत् आयोजनाका लाइन्सेन्स वितरण, ठूला सम्झौता, सरुवा- बढुवालगायतमा आरजुको संलग्नताको आरोप लाग्दै आएको छ। यस्ता विवादका बाबजुद परविारलाई सम्हाल्ने पाटोमा आरजुको योगदान उल्लेख्य छ। उदाहरणका लागि, विवाहअघिको लथालिंग देउवाको जीवनलाई उनैले व्यवस्थित गरििदइन्।

खासमा कार्यकर्ताले शेरबहादुरलाई भेटेपछि आरजुलाई पनि भेट्छन्। उनी शेरबहादुर प्रधानमन्त्री भएको समयमा व्यापक चलखेल गर्थिन् भन्नेहरू पनि नभएका होइनन्। यद्यपि, उनको यस्तो चलखेल सभ्य हुने गर्छ, असभ्य व्यवहार प्रदर्शन गरेर देउवालाई लज्जित बनाउँदिनन्। भित्री निर्णयमा आफ्नो भूमिकालाई आरजुले आफ्नो व्यक्तित्वबाट छोप्न सकेकी छन्। आरजु निकटस्थ एक कांग्रेस केन्द्रीय सदस्य भन्छन्, "सत्ता राजनीतिमा असल र खराब जे देखिए पनि आरजुबिना शेरबहादुर अपूर्ण नै छन्।"



'म डोमिनेटिङ् नेचरकी महिला हुँ' - आरजु देउवा

आफ्ना पति शेरबहादुर देउवालाई तपाईंले कत्तिको प्रभावमा राख्नुभएको छ ?

छैन। उहाँ मलाई बाल टेर्नुहुन्न। धेरै मान्छेले शेरबहादुरजीले मैले भनेको मान्नुहुन्छ भन्ने ठान्छन्। तर, उहाँको इतिहास हेर्ने हो भने कसैलाई नटेरेरै हो, यहाँसम्म आइपुग्नुभएको। युवाहरूबीच उहाँ एकदमै लोकपि्रय हुनुभएको पनि त्यही भएर हो। विवाह गर्दा नै उहाँ ५० वर्षको हाराहारी पुगिसक्नु भएको थियो। ५० वर्ष काटिसकेको मान्छेलाई मैले कति परविर्तन गर्न सक्छु होला ! म पनि मनोवेत्ता हुँ। विवाह गर्दाखेरी नै मलाई लागेको थियो कि उहाँको 'नेचर' परविर्तन गर्न सक्दिनँ।

विवाहअघि उहाँ कार्यकर्तासँगै रमाउनुहुन्थ्यो, पछि त्यो अवस्था रहेन । यसमा तपाईंको भूमिका छैन र ?

श्रीमती घरमा हुनु र नहुनुमा भिन्नताचाहिँ हुन्छ। फेर िम सानो परविारबाट आएको र आफ्नो गोपनीयतामा अभ्यस्त भएको मान्छे। जस्तो ः उहाँ मन्त्री हुँदा र मसँग विवाह हुनुअघि उहाँकै भतिजाले भन्थ्यो, "ठूलो मुमा, हाम्रो घर त शेर-ए-लज।" मान्छे आयो, त्यहीँ खायो, उहाँकै बेडमा सुत्यो। विवाह गरेपछि त्यसो गर्न मिलेन। मेरो बेडमा कोही पनि बस्न नहुने सोचको मान्छे हुँ म। त्यही भएर मलाई बेडरुमसम्म नै मान्छेको पहुँच स्वीकार्य छैन। उहाँले पनि त्यसलाई बुझ्नुभएको छ।

तर, आमकार्यकर्ताको शेरबहादुर देउवा त रहनुभएन नि विवाहपछि ?

होइन, अहिले पनि हाम्रोजति खुला घर कसको छ ? बिहान त हाम्रो घर रेलवे प्लेटफार्मजस्तै हुन्छ, मान्छे नै मान्छे। त्यो अहिले पनि छ। उहाँको उमेर पनि भयो। उहाँले पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ, त्यसमा चाहिँ मेरो दबाब पक्कै हुन्छ। पत्नीको भूमिका भनेको पतिलाई हेर्ने पनि हो। स्वास्थ्यको हिसाबले जुनजुन कुरा गर्नुहुँदैन, त्यसमा पक्कै पनि मैले उहाँलाई परहेज गराउँछु।

कार्यकर्ता र कर्मचारीहरू भनसुन गर्न तपाईंकहाँ आउँछन् कि उहाँकहाँ ?

पक्कै उहाँकहाँ नै आउँछन्। उहाँलाई भनेपछि मलाई पनि भन्छन्। तर, उहाँले मलाई पहिले नै भन्नुभएको छ कि 'मचाहिँ प्रधानमन्त्री, तिमी प्रधानमन्त्रीपत्नी मात्रै' भनेर। विवाह गरेको एक वर्ष काटेलगत्तै उहाँ प्रधानमन्त्री भइसक्नुभएको थियो। त्योचाहिँ मेरो पनि 'लर्निङ्' हो। किनभने, म पनि एउटा व्यावसायिक महिला हुँ। म विकासको विज्ञ हुँदा, उहाँ त्यो हुनुहुन्न। उहाँ राजनीतिकर्मी र प्रधानमन्त्री हुँदा, म पनि त्यो हुन्न।

बाहिर त त्यस्तो ठानिँदैन, किन होला ?

मान्छेले मेरो नेचर हेरेर त्यसो भनेका हुन्। किनभने, मेरो महिलाको भन्दा पनि पुरुषको नेचर छ। म 'बोल्ड' छु, कोहीसँग डराउँदिनँ, आफ्नो कुरा निर्धक्क राख्छु। बाहिर त यस्तो छे, घरमा पनि यसैले 'डोमिनेट' गर्छे होला भन्ने ठम्याइले काम गरेको हो, त्यसमा। यो पितृसत्तात्मक नेपाली समाजको सोचको उपज हो। जो महिला धेरै बोल्छे, त्यो 'डोमिनेटिङ्' हो भन्ने छ। हुन त म पनि 'डोमिनेटिङ् नेचर'की महिला हुँ।

मेरो उमेरको मान्छेले मसँग विवाह गरेको भए टिक्ने थिएन। मभन्दा उहाँ धेरै परपिक्व भएको भएर पनि राम्रो समझदारी भएको हो। म विवाह गर्दा ३२ वर्षकी थिएँ। मैले विवाह गर्नासाथ शक्तिशाली बनेँ भन्ने सोचिनँ। किनभने, मैले शक्ति होइन, पति चाहिएकाले बिहे गरेकी थिएँ। मेरो आफ्नै 'करअिर' थियो। राजनीति गर्छु भनेर मैले उहाँसँग विवाह गरेको होइन। बाहिरबाट मान्छेले हेर्दा यसको नेचर यस्तो छ, त्यही नै होला भन्ने ठान्छन्, जुन सत्य होइन। राजनीति गर्नका लागि विवाह गरेको भए म के के भइसक्थेँ होला। उहाँको राजनीतिमा म पनि संलग्न छु किनभने मसँग कुनै छनोट छैन। उहाँको पत्नी भएकीले मान्छे आयो भने हेरििदनुपर्ने, सुनिदिनुपर्ने हुन्छ। भाउजू, दिदी भनेर आउँछन्। मन नलागे पनि मैले काम गरििदनुपर्छ। नत्र त 'कस्तो बढेकी रहिछ, हाम्रो कुरै सुन्दिन' भनेर रसिाउँछन्। कुरा सुन्छु भन्दैमा त्यसको प्रत्यक्ष केही न केही भइहाल्छ भन्ने छैन। तर, नेपाली समाजले मजस्ती महिलालाई पचाउन गाह्रो मान्छ भन्ने कुरा मलाई थाहा छ।

कस्ता-कस्ता काम आउँछन् ?

जागिर खोज्न आउने, सरुवाबढुवा, राजनीतिक नियुक्तिलगायतका सबै खालका भनसुन गर्न आउँछन्। अहिले हाम्रो पार्टीमा भ्रातृसंगठनहरू गठन भइरहेका छन्। त्यसका लागि पनि भन्न आउँछन्, जहाँ मेरो कुरा लागू नै हुँदैन। 'मेरी पत्नीको कुनै पनि राजनीतिक संलग्नता छैन' भनेर एउटा विज्ञप्ति छापिदिनोस् भनेर मैले उहाँलाई भनिसकेँ।

कहिलेकाहीँ तपाईंले सिफारिस गर्नुभएको गलत मान्छे परेको उदाहरण छैन ?

म सिफारसि गर्दिनँ र सुन्दिनँ पनि। आफ्नो एनजीओमा पियन राख्न त म सिफारसि सुन्दिनँ। म व्यावसायिक महिला हुँ र अरूसँग पनि व्यावसायिक हिसाबले नै डिल गर्छु। यो लेखिदिनूस् कि मान्छे सिफारसि गर्न नआऊन्।

तर, राजनीतिक नियुक्ति, सरुवा, बढुवा र मन्त्री बनाउनसम्म तपाईंको भूमिका हुने गर्छ भनेर तपाईंमाथि आरोप लाग्दै आएको छ नि ?

मलाई मान्छेले त्यस्तो शक्तिशाली देखेको ! राजनीतिक नियुक्तिमा मेरो त्यस्तो रुचि छैन। एउटा कुराचाहिँ के हो भने मेरो 'नेटवर्क' राम्रो छ। किनभने, धेरै वर्ष विकासलगायतका क्षेत्रमा काम गरेकाले प्रशस्तै मान्छे चिन्छु। यस्तोमा कोही मान्छे राम्रो छ/देखियो भने यो मान्छे राम्रो छ भनेर चाहिँ भन्छु नै। तर, मैले भन्नेबित्तिकै हुने होइन। अन्तिम निर्णय मेरो हुँदैन, उहाँकै हुन्छ।

उहाँलाई पार्टी चलाउन पैसा चाहिन्छ र तपाईंले त्यसको व्यवस्थापन गरिदिनुहुन्छ भन्ने आरोप पनि त छ ?

मान्छेले त जे पनि भन्छन्। मेरो नाममा अमेरकिामा बसेर एउटा महिलाले भिसा लगाइदिन्छु भनेर ठगेर खाइन्। सार्वजनिक सूचना निकालेर खण्डन नै गर्नुपर्‍यो र प्रहरीमा उजुरी पनि गर्नुपर्‍यो। त्यस्तो त कति हुन्छ कति! नामको एउटा मूल्य पनि हुँदो रहेछ। मौखिक त मान्छेले जे पनि भन्छन्। त्यसको मलाई कुनै मतलब र परवाह छैन। मलाई कतिले मन पराउँछन््, कतिले मन पराउँदैनन्। मेरो कुरा काटेर बस्ने त्यत्रो फुर्सद छ भने काटिरहून्, मलाई मतलब छैन।

कांग्रेसमा मन्त्रीसमेत भएका केही मानिस पैसाकै कारणले बदनाम पनि भए, त्यस्तालाई के भन्नुहुन्छ ?

यो दुःखद कुरा हो। जो यसरी बदनाम भए, उनीहरूले भविष्य सोचेनन्। पैसा त कमाए होलान् तर पैसाले मात्र राजनीति हुँदैन। हुने भए त जति पनि धनी मान्छे थिए, सबैले राजनीति गर्थे। राजनीतिमा छवि महत्त्वपूर्ण कुरा हो। छवि बचाउनलाई पनि केही पैसा चाहिएला। तर, छवि नै भएन भने राजनीति हुँदैन। कतिपय हाम्रै पार्टीका मान्छे पनि होलान्। पैसाको हिसाबले उनीहरूको स्रोत प्रशस्तै भयो होला तर छवि त डामाडोल भयो नि!

संस्कार सिकाउनुपर्दैन त ?

सिकाउन नखोजेको हो र ? सिकाउन थाल्दा उल्टै सराप खाइयो। नाम नलिउ“m तर मन्त्री बन्नेहरूका श्रीमती कसैलाई मैले भनेकी थिएँ, शक्तिशाली मान्छेको वरपिर िबस्न एकदमै गाह्रो कुरा हो। श्रीमतीको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। यसै पनि शक्तिशाली मान्छेको परविारलाई एकदमै धेरै नजर लगाइएको हुन्छ। सकारात्मक भूमिका निर्वाह गर्न एकदमै कठिन हुन्छ। जे पायो त्यही र जसले भन्यो त्यही काम गर्नुहुँदैन भन्दा 'हामीलाई सिकाउने' भनेर पनि भने। उहाँसँग 'कम्प्लेन' पनि गरेछन्। पछि कामचाहिँ उनीहरूले त्यस्तै गरे। कतिपयले उहाँ प्रधानमन्त्री हुँदा आएर मलाई फुक्र्याउने र काम लिने प्रयास नगरेका होइनन्। त्यसले श्रीमान्को करअिरलाई कति ह्याम्पर गर्छ ? नगर्दा नगर्दै त मान्छेले कति आरोप लगाउँछन्, गरेपछि त भन्ने नै भइहाले नि!

जेहोस् उहाँको करिअरप्रति तपाईं संवेदनशील हुनुहुन्छ होइन ?

पक्कै पनि। मेरो श्रीमान्को करअिर उहाँले आफ्नो खुनपसिना बगाएर बनाएको हो। मलाई धेरै धनी हुनु छैन। जुद्धशमशेरकी नातिनी, धन प्रशस्तै छ। अहिले पनि कन्सल्टेन्सी गर्दा मलाई दैनिक पाँच सय अमेरकिी डलर आउँछ। त्यसभन्दा धेरै कति कमाउनू ? स्रोत-नेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com