खोजि नारी अस्तित्व र समानताको I

काठमाडौं , वैशाख १२,

नारी अस्तित्व र समानताको खोजी गर्दै शिल्पी थिएटरले गरेको मेची-काली नाट्य यात्रा सोमबार राजधानीमा 'नारी' को मञ्चनसँगै समापन भएको छ । तराई परिवेशलाई विशेष महत्त्व दिइएको नाटकमा नारीप्रति गरिने दुव्र्यवहार, असमानता र अन्यायका अनेक आयामलाई उजागर गरिएको थियो ।

झन्डै दुईहप्ते कार्यशालाबाट निर्मित नाटक लिएर शिल्पीले महिना दिनअघि राजधानीबाटै यात्रा थालेको थियो । धादिङ, चितवन, जनकपुर, वीरगंज, विराटनगर, धरान, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी हुँदै टोलीले काठमाडौं अन्तिम मञ्चन गरेको हो ।

शिल्पीकै छैटौं वाषिर्कोत्सव पारेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा मञ्चित नाटकमा स्कुल, बस, कार्यालय र घरपरिवारमा जानी-नजानी नारीमाथि गरिने दुव्र्यवहार प्रस्ट्याउन खोजिएको छ ।

घरमा जति काम गरे पनि बुहारीलाई राम्रो नठानिने, छोरालाई स्कुल पठाउने तर छोरीलाई घरकै काममा लाद्ने, बोक्सी आरोेपमा अमानवीय व्यवहार गर्ने जस्ता सामाजिक अन्धविश्वासलाई नाटकका पात्रले रोचक ढंगमा पस्केका थिए । घिमिरे युवराजको लेखन/निर्देशन रहेको नाटकमा रविन्द्र झा, कमलमणि नेपाल, सरिता साह, शिवानी चौधरी, चन्दा चौधरी, जीवन बराल, सुदाम छत्कुली, दुर्गा बराइली, लोकेन्द्र लेखक, मञ्जु गिरी, चन्द्र पाण्डे लगायतले मन छुने अभियन गरेका थिए ।

यही मेसोमा नयनराज पाण्डेको 'प्रवास' निबन्धलाई नाटकीकरण गरी मञ्चन पनि गरियो । सुदामको एकल प्रस्तुति रहेको नाटकमा पत्रकारिता, पत्रकार र आर्थिक पीडाबारे व्यंग्य गरिएको थियो । विज्ञापनको मुख ताकेर बस्ने सञ्चारकर्मीको जीवनचर्यालाई सूक्ष्म तरिकाले नाटकमा उतार्ने प्रयास गरिएको थियो । पैसाले संसारलाई निर्मोही बनाएको यथार्थ पनि प्रस्तुतिमा औंल्याइएको थियो । स्रोत-कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com