बिद्यालय होइन माग्न पठाउँछन आफ्नै आमा-बाबुले I

,काठमाडौं, वैशाख १३,

नौ वर्षकी ईश्वरा र चार वर्षकी ईशु दिदीबहिनी हुन्। उनीहरूलाई महांकाल मन्दिर वरिपरि दिनहुँ बिहान ७ देखि ११ बजेसम्म भिख मागिरहेका देखिन्छन्। दर्शनार्थीहरूले दयामाया लागेर दिने दुईचार पैसाले दुई दिदीबहिनीको मात्र होइन, आमाबाबु र साढे दुई वर्षीया बहिनी ईश्वरीको समेत गुजारा चलिरहेको छ।


असन बस्ने उनीहरू राजीखुसीले माग्न आएका होइनन्। उनीहरू त भन्छन्, माग्न नपरेर बरु पढ्नै पाए हुन्थ्यो। तर, पढाइ छाडेर भिख माग्न उनीहरू बाध्य छन्। यसको कारण अरू कोही होइन, उनीहरूकै आमाबाबु हुन्। आमाबाबुले दिनहुँ बलजफ्ती माग्न पठाउने गरेको दिदीबहिनीले बताए। त्यही पैसाले घरलाई चाहिने सामान किन्ने गरेको उनीहरू सुनाउँछन्।

'हामीलाई माग्नभन्दा पढ्न मनपर्छ,' ईश्वरा भन्छिन्, 'पैसा लिएर आएन भने बुवाले पिट्नुहुन्छ।' दिनमा एकजनाले ५०/६० रुपैयाँ उठाउने गरेको उनले बताइन्। उनीहरूका बाबु (नाम उल्लेख गराउन मानेनन्) छोरीहरूलाई माग्न पठाएको स्विकार गर्छन्। 'नमागेर के गर्नु, घरभाडा तिर्नैपर्‍यो, खानैपर्‍यो,' उनले नागरिकसँग भने, 'सम्पत्ति केही छैन, काम भएको दिन आफैंले कमायो, नभए यिनीहरूकै भरमा बस्नुपर्छ।
'
अक्षरसमेत नचिन्ने उनी आफैं पनि पहिले मागेरै गुजारा गर्थे। सानैदेखि दरबारमार्गमा मागेरै हुर्केको उनी बताउँछन्। त्यही क्रममा बिहे गरेपछि दरबारमार्गमै फुटपाथ पसल थापे। केही समय परराष्ट्र मन्त्रालयमा पनि पसल गरे। 'बल्लतल्ल गरिखान खोजेको थिएँ, एकदिन पुलिसहरूले पसल खोसिदियो,' उनले भने, 'म कंगाल भएँ।'

पसल चलिरहँदासम्म आफ्ना छोरीहरूलाई नवआदर्श स्कुलमा पढाएको उनले बताए। उनका अनुसार ईश्वरा कक्षा २ र ईशु नर्सरीमा पढिरहेकी थिइन्। 'पसल खोसिएपछि पैसा तिर्न नसकेर स्कुलै छुटाउनुपर्‍यो,' उनले सुनाए, 'कहिलेकाहिँ म ढल खन्ने काम गर्छु, नभए यी छोरीहरूलाई माग्न लगाएर गुजारा चलाइरहेको छु।'
आमा (उनले पनि नाम खुलाउन चाहिनन्) पनि 'बाध्य भएर छोरीहरूको सहारा लिनुपरेको' सुनाउँछिन्। 'म माग्न गएँ भने कसले दिन्छ?' उनी निर्धक्क भन्छिन्, 'अरू कोही गर्न सक्दिनँ, त्यसैले छोरीहरूको सहारा लिनुपर्‍यो।'

ईशु र ईश्वरालाई चिन्नेहरू परिवारकै कारण जबर्जस्ती माग्न आएको बताउँछन्। 'मागेर नल्याए बाबुले बेस्सरी पिट्दो रहेछ,' यी दुईको मद्दत गर्न आएको संस्था हार्टबिट नेपालकी सदस्य रोशनी सिलवाल भन्छिन्, 'उनीहरूलाई सोध्दा हामीलाई माग्न मन पर्दैन भन्छन्।' उनीहरूको भावना बुझेर स्कुल पठाइदिन आग्रह पनि गरे। तर, कमाउने मान्छे हुँदैन भन्दै आमाबाबु दुवै अन्कनाएको सिलवालले बताइन्।

'स्कुलको पैसा पनि हामी तिरिदिन्छौं, जसरी भए पनि पढाउनैपर्‍यो भनेर सम्झाउन खोज्यौं,' उनले भनिन्, 'पहिले त जति भन्दा पनि मानेका थिएनन्, बल्लतल्ल मानेका छन्।' अहिले यी दिदीबहिनी दरबार हाई स्कुलमा भर्ना भइसके। उनीहरूको खाजाखर्च, स्कुल शुल्क, कापीकिताब लगायत आवश्यक सामग्री सबै हार्टबिटले उपलब्ध गराउने उनले बताइन्। यसका लागि संस्थाले काठमाडौको वसन्तपुरमा १०/१० रुपैयाँ उठाउने अभियान सञ्चालन गरिरहेको छ। उठेको पैसाले ईशु र ईश्वरा मात्र होइन, अन्य सडक बालबालिकालाई पनि स्कुल पठाउने, खाजा खर्च लगायत सबै बन्दोबस्त गर्ने हार्टबिटका संस्थापक जुजुकाजी महर्जनले बताए।

बल्लतल्ल स्कुल भर्ना गरिदिए पनि परिवारको दबाबले फेरि माग्न पुग्लान् कि भन्ने डर रहेको सिलवाल बताउँछिन्। 'उनीहरू दिनहुँ स्कुल आऊन् भनेर हामीले भर्ना गर्दा नै प्रिन्सिपल र सरहरूलाई दैनिक हाजिरी हेर्नू, नआए फोन गर्नू भनेका छौं,' उनले भनिन्। ऋचा अर्याल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com