एजेन्सी असोज २४,
छिमेकी मुलुक चीनमा चुरोटको कुलतले महामारीकै रुप लिएको छ । चुरोटलगायतका सूर्तीजन्य पर्दाथको उपभोगबाट वर्षमा लाखौ चिनियाँहरुको मृत्यु हुने गरेको छ ।
सन् २०१० मा मात्र करिब १० लाख मानिस सूर्तीजन्य पदार्थको उपभोगबाट मृत्यु भएको थियो ।
यदि यस्तो कूलत रहिरह्यो भने आगामी १५ वर्षभित्र सूर्तीजन्य पर्दाथबाट मर्ने मानिसको संख्या दोब्बर अर्थात २० लाख हुने बताइन्छ । यसले अकालमै मर्ने ठूलो महामारी निम्त्याउनेतर्फ स्वास्थ्य क्षेत्रका विज्ञहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।
चीनमा कूल जनसंख्याको आधा प्रतिशत बढी पुरुषहरुले धुम्रपान गर्छन् । जबकी महिलाहरुको संख्या २ दशमलब ४ प्रतिशत रहेको छ ।
चीनका अधिकांश भूभागमा मानिसहरुले खाना खाइसकेपछि तत्कालै चुरोट पिउने बानी छ ।
कसैले यस आदतलाई आफ्नो पुर्खाको गौरव र सानसँग पनि तुलना गर्छन् । अझ अनौठो विषय त के छ भने किशोर किशोरीले आफ्नो सम्बन्धलाई पनि चुरोटको बादलसँग बिस्तार गर्छन् । अर्थात् धुमपान गर्नेले त्यस्तै जोडी खोज्छन् ।
त्यसो त चीनमा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध लगाउने कानूनलाई चिनियाँ कम्युनिष्ट पार्टीले पारित गरिसकेको छ । १ वर्षअघि संसदबाट पास भइसकेको छ ।
विशेष अवसरमा पनि महंगा ब्रान्डका चुरोट उपहारस्वरुप प्रदान गरिन्छ ।
बिबाह, भोज, सत्कार लगायतका चिनियाँ संस्कारमा अझै पनि चुरौट पिउनुलाई विशेष सान र सम्मानको रुपमा लिइन्छ । तर धुमापानको प्रभाव बारेमा भने थोरैलाई मात्र थाहा हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार जम्मा २५ प्रतिशत चिनियाँ नागरिकलाई चुरोटबाट फोक्सो र मुटुको रोग हुन्छ भन्ने विषयमा जानाकारी छ ।
त्यस्तै चुरोट पिउने जम्मा १० प्रतिशत चिनियाँ नागरिक आफ्नै मर्जीले लत छोड्ने गरेका छन् ।
अधिकांशलाई चिकित्सक वा अभिभावकको दबाब हुने गर्छ ।
विकसित देशहरुमा धुमपान दरमा बृद्धि भइरहेकै बेला चीनमा भने झन बढिरहेको छ । चीन विश्वकै सबैभन्दा ठूलो चुरोट उपभोक्ता हो । विश्वमा कूल चुरोट खाने उपभोक्तामध्ये एक तिहाई त चीनमा नै रहेका छन् । चीनमा ३० करोड मानिसले चुरोट पिउछन् । यो कूल जनसंख्याको १ चौथाई संख्या हो ।
धुमपान गर्नेमध्ये औषत चिनियाँले दिनमा २२ ओटा सम्म चुरोट पिउछन् ।
सार्वजनिक स्थलमा चुरोट पिउन सरकारले बारम्बार प्रतिबन्ध लगाइएपनि स्वंयम सरकारका वरिष्ठ मन्त्री, उच्च पदस्थ अधिकारी, चिनियाँ कम्युनिष्ट पार्टीका नेता, सेनाका उच्च नेतृत्व नै यस कूलतमा फसेको हुनाले यस्तो प्रतिबन्ध खासै प्रभावकारी हुन सकेको छैन् ।
सूर्तीजन्य पदार्थबाट सरकारले वार्षिक ४ खर्व २८ अरब य्ुयान कर उठाउछ ।
एक तिहाई अकालमै मर्ने ;
चिनियाँको चुरोट लतलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले अध्ययन गर्ने गरेका छन् । यस्तै एउटा पछिल्लो अध्ययन शुक्रबार सार्वजनिक भएको छ । सो अध्ययन अनुसार चीनमा २० वर्षमुनिका एक तिहाई मानिस धुमपान त्याग नगरेमा अकालमै मर्नेछन् ।
ल्यान्सिट मेडिकल जर्नलमा प्रकाशित सो अध्ययन अनुसार दुई तिहाई बढी चिनियाँ नागरिक २० वर्ष नपुग्दै पिउने कुलतमा फसेको र उनीहरुमध्ये आधा यही लतका कारण मर्ने अध्ययनमा उल्लेख छ ।
१५ वर्ष लगाएर वैज्ञानिकहरुले दुईओटा वेग्लै अध्ययन गरेका थिए । अध्ययनमा लाखौ मानिसहरुको सहभागीता रहेको थियो ।
चीनमा बढ्दै गएको धुमपानको महामारीको लतलाई केही हदसम्म न्यून गर्न सकिने पनि विज्ञहरु बताउछन् । अध्ययन टोलीका सहलेखक रिर्चाड पेटोका अनुसार चिनियाँलाई धुमपानबाट बचाउन पनि सकिन्छ तर ठूलो काउन्सेलिङको जरुरत छ ।
‘मृत्युको यस ठूलो छालबाट बचाउनका लागि उनीहरुलाई धुम्रपानबाट छुटाउन विभिन्न काउन्सेलिङको आवश्यकता देखिन्छ,’ उनी भन्छन् ।
अक्सफोर्ड युनिर्भसिटी, चाइनिज एकेडेमी अफ मेडिकल साइन्स र चाइनिज सेन्टर फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा यो पछिल्लो अध्ययन गरेको हो ।