गज़ल: By, कोमल भट्ट
आत्मीयता छचल्किने आँगनको खोजीमा छु
मुटुभरि माया दिने स्वजनको खोजीमा छु ll
घरिघरि दु:ख दिए फोहर मैला दुर्गन्धले
सुवासना छर्न सक्ने चन्दनको खोजीमा छु ll
बिरसिला वात सुन्दा थाकिसके कान आफ्ना
रसिला र मीठा मीठा वचनको खोजीमा छु ll
अविश्वासी,दम्भी भए चाहिंदैन धनी मान्छे
बरु स्वच्छ इमान्दारी निर्धनको खोजीमा छु ll
रोएको छ धर्ती आज कुभावले ग्रस्त पार्दा
सद्भावना फुल्छ जहाँ त्यो मनको खोजीमा छु ll
वाक्कब्याक्क पारिसके बेकारका व्यस्तताले
सुशान्तिले बाँच्न मिल्ने आसनको खोजीमा छु ll
निसासियो हृदय यो कठोरता झेल्दा झेल्दै
'कोमल' र सिधासादा जीवनको खोजीमा छु ll
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका