चितवन असार २१,
बिष्णुबाबु जोशी : चितवन
सिद्धी गाविसको वडा नं. ८ मा रहेको पाइमाराङ्गका डील्ली चेपाङ्गको
परिवारलाई चार बर्षअघिसम्म आफ्नो खेतीले ६ महिना पनि खान
पुग्थेन । ७ जनाको परिवारको गुजारा चलाउन या त मेलापर्व जानु
पथ्र्यो या त तीन चार घण्टाको बाटो धाएर मजदुरी गर्न शहरतिर
झर्नुपथ्र्यो ।
बि.सं. २०६९ सालको श्रावण महिनामा तात्कालीन प्रधानमन्त्री डा.
बाबुराम भट्टराईको सिद्धी भ्रमणपछि डील्ली चेपाङ्गको मात्र होइन,
सिद्धी गाविसका अधिकांश चेपाङ्गहरुको आर्थिक स्थिति सुधारिने क्रममा छ
। तात्कालीन प्रधानमन्त्री डा भट्टराईको निर्देशनमा सोही समयदेखि
सिद्धीमा गरिबी निवारण कोषको कार्यक्रम लागु भएपछि सो गाउँमा
कोषले मेड नेपालमार्फत विभिन्न समूह गठन गरी आयआर्जनको
कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
सिद्धी गाविसका ५० भन्दा बढी समूहमध्ये पहिलो र जेठो समूहको
नाम हो, बन्दीपुरे सामुदायिक संस्था । सोही संस्थाका अध्यक्ष हुन्,
डिल्ली चेपाङ्ग । २०६९ को भदौमा समूहमार्फत ६ प्रतिशत ब्याजदरमा
२५ हजार ऋण लिएर बाख्रापालन शुरु गरेका डिल्लीले हाल ४० वटा
बाख्रा बनाइसकेका छन् । जसमध्ये, आउने दशैँँमा बेच्न तयारी
१५ वटा खसीबोकाहरु छन् ।
समूहबाट लिएको ऋण तिरेर पनि उनले पुन ऋण निकाल्ने सुर
गरिरहेका छन् ।
सस्तो व्याजदरको ऋण भएको हुनाले अब उनलाई
आफ्नै पखेरामा डालेघाँसखेती विस्तार गर्न रहर लागेको छ । डिल्ली
भन्छन्, पैसा कमाउन भौतारिएर हिँड्नु नपर्ने रहेछ । लगानी गर्ने
पैसा पाईयो र त्यसलाई सही तरिकाले लगानी गरियो र मिहीनेत पनि
सोहीअनुसार गरियो भने राम्रै पतिफल पाइने रहेछ ।
गाउँमै बसेर जेनतेन एसएलसीसम्म अध्ययन गरेका डिल्लीलाई
जागिर नपाएकोमा पनि कुनै पछुतो छैन । आफैँ स्वरोजगार बनेका
छन्, भन्छन्, आफैँ मालिक आफैँ कामदार ।
परिवारका सबै मिलेर खेतीपातीदेखि बाख्रको स्याहार सुसारसम्म गर्न
भ्याएकै छन् । डिल्ली भन्छन्, यस आर्थिक वर्षको अन्त्यसम्ममा
सिद्धि गाविसका सबै वडाहरुमा गरिबी निवारण कोषको कार्यक्रम लागु
गरिने र त्यसको निम्ति रु १ करोडभन्दा बढी रकम घुम्ती कोषको
रुपमा आय आर्जनमा परिचालन गरिने मेड नेपालका कार्यक्रम
निर्देशक शैलेश आचार्यले बताउनुभयो ।
गरिबी निवारण कोषको मुख्य उद्देश्य नै न्यून आय भएका डिल्ली
चेपाङ्गजस्तै समूदायको आयआर्जन बृद्धि गरेर जीवनस्तर उकास्ने रहेको
पनि आचार्यले बताउनुभयो ।