गज़ल: By, कोमल भट्ट
जहाँ प्रीतको त्यो कथा याद आयो
कयौँ सालमा फेरि उन्माद आयो
रचेथ्यौं दुवैले खुसीको कहानी
बिथोली वृथा तुच्छ संवाद आयो
कुटीमै थियौँ पूर्ण सन्तोष हामी
तगारो बनाएर प्रासाद आयो
लग्यो दूर ज्यादै टुटाएर नाता
धराबाट उम्रेर प्रल्हाद आयो
बस्यौ सम्झनामा नभुल्ने गरेर
थियो कर्म खोटो र बर्बाद आयो ll
गएको खुदै हौ नि के भन्नु ऐले
कताबाट यो नक्कली नाद आयो ?
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका