अप्रिल महिनाको २५ तारेख शनिबारको दिन बिहानको चार बजेको मात्र रहेछ फोनको घन्टी बज्यो । बेला न कुबेला
रातमा निन्द्रा खल्बलियो भन्ने सोच्दै फेरी सुत्ने तरखर गरें । केहि छिन पछी फोनको घन्टी फेरी पनि बज्यो ।
फोन उठाउन
मन लागेन, उठाइन पनि । फेरी पनि तेस्रोपटक फोनको घन्टी बजे पछी सोचें कुनै जरुरि फोन हुन् सक्छ भनेर फोन उठाएँ । कोलोराडो बाट आफन्तको फोन रहेछ । अत्तालिएर फोन गर्नेले एकै सासमा आत्तिएर खबर भने नेपालमा ठुलो भूकम्प
आएछ । नेपालको धरहरा संगै थुप्रै घर भत्केको छ । नेपालमा फोन लाग्दैन लाग्दैन । बुढो भएको बुबा र मुमालाई के भयो
होला केहि थाहा छैन ।
एकै सासमा त्यो समाचार भनिसकेर उनि रुन थालिन । हामीले सकेको सान्त्वना दियौं । हामी
जुरुक्क उठ्यौं । श्रीमती नेपाल फोन गर्ने कोशिशमा लागिन भने म सिधै ल्यापटप खोलेर नेपालको खबर पुष्टि गर्न र नया
खबर खोज्न थाले । थुप्रै थप खबर पढे पछी एकिन गरें बास्तबमा नै देशमा ठुलो भूकम्प गएछ । अपेक्षा गरिएको भूकम्प अहिले आएछ । मैले
अनुमान गरें यो सानो भूकम्प हुदै होइन । यो महाभूकम्प हो र यो महा विनाशकारी हुन् सक्छ ।
शनिबार दिनभर फेसबुक,
टेलिभिजन र अरु खबर हेर्न नै समय बित्यो । अमेरिकामा रहेका आफन्त र मित्रहरुको खै खबर गरें । नया खबर प्राप्त गर्न दिनभर नेपाल टेलिभिजन बाहेक कुनै च्यानेल परिबर्तन गरेनौ । आँखा झिमिक्क नपारी खबर हेर्न
थाल्यौं । भूकम्पमा परेर मृत्यु हुनेको संख्या सेकेन्ड सेकेन्डमा बढेर आकाश छुँदै थियो । सम्पूर्ण नेपालीको रोदन, क्रन्दन र
चित्कार हेर्दै थियौं । कसैले आमा गुमाएका, कसैले बाबु गुमाएका कसैले पुरै परिवार गुमाएका । नरोयेका कुनै भेटिएनन । घर र परिवार नागुमायेकको संख्या कति हो कति बढ्दै गए । सबैको आँखा रसाई रहदा स्वाभाविक हाम्रा पनि रसाई
रहेका थिए ।
म संगै खबर हेरिरहेका श्रीमती थाम्नै नसकेर एकै चोटी भाकानिन थालिन । शुरुमा सुंक सुंक गरिरहेकी पछी
त एकै छिनमा भक्कानिन थालिन । आफ्नो नेपालको घर सहि सलामत मात्र होइन आफ्ना सम्पूर्ण परिवार सबै सकुशल
हुदा पनि उनि क्वाँ क्वाँ रुन थालिन । मेरो पनि आखाँ रसाई सकेछ | देश छोडेर दुइ दशक प्रबासमा बस्दा पनि हामी
रोइरहेका थियौं । नेपाली रुंदा नेपाली मन रुँदो रहेछ । देश दुख्दा देशबासी मात्र होइन देशप्रेमी मन र भाबना रुँदो रहेछ । कत्रो भावानात्मक सम्बन्ध हुदोरहेछ । मैले अहिले अनुभब गर्दै छु ।
आफ्नो देश छोडेर जति समय बाहिर रहे पनि आफ्नो
देश संगको भावनात्मक र आत्मियता एक इन्च पनि नघटदो रहेछ । बरु बढ्दै पो जाँदो रहेछ । एक हप्ता भित्र हामी नेपालको खबर हेरेर नरोयेका दिन नै रहेनन् । नओभाएका आँखाले नेपालको दुखद समाचार कहिले
हेर्न सकिएन । साह्रै पिडा बोध भयो । प्रबासमा बसेर आफन्त र देशबासी संग दुख साट्न नसकेको गुनासो मन भित्र उकुस
मुकुसियेर मात्र रह्यो । धेरै धेरै देशबासीहरु खुल्ला आकशको चौरमा सुत्न बाध्य भए ।
एउटा त्रिपालको अभाबमा पानीले
रुझ्दै बाहिर बस्न बाध्य भए । पिउने पानि, एक पोका चिउरा र चाउ चाउको लागि हार गुहार गर्न बाध्य भए । दिबंगत
भएका आफन्तको मलामी जान मात्र होइन अर्थी उठाउने मान्छे भेटिएनन । घर भित्र दबिएका आफन्त खोज्ने सहयोगी
भेटिएनन । समयमै यस्ता दबिएका व्यक्तिको उद्धार गर्न नसकिदा आफन्तले घर बाहिर रहेर रुनु र अर्थिको तयारी गर्नुको
कुनै बिकल्प रहेन । गत शनिबार नेपालमा आएको महा भूकम्पले यो पङ्क्ति लेख्दा सम्म सात हजार व्यक्तिले ज्यान गुमाइसकेको छ ।
करिब
पन्ध्र हजार व्यक्तिको दुर्घटना बाट घाईते भै स्वास्थ उपचार गराइरहेको यस जटिल परिस्थितिमा काठमाण्डौ मात्र होइन
सिंगो नेपाल नै भिषण त्रासदीको चपेटामा परेको छ । पटक पटक आईरहेको सानो सानो भूकम्पले जनता सुरक्षाको लागि
घर भित्र जान डराइरहेको अबश्था छ । नजिकको खुल्ला चौरमा पाल टाँगेर बृद्ध / बालबच्चा समेत सुत्न बाध्य छन् । बृद्ध
बृद्धा मात्र भएको घरमा सुरक्षाको लागि बाहिर निस्कन सकिरहेको अबश्था छैन | थुप्रै थुप्रै भूकम्पमा परि हताहत
भएकाको दाउराको अभाब, स्वयंसेवकको अभाब र बिभिन्न कारणले गर्दा उचित रुपले समय मै सद्गत गर्न सकिरहेका
छैनन ।
स्वास्थ्य उपचार गराइरहेका बिरामीलाई स्याहार सुसार गर्ने मान्छे छैनन । सर्ब साधारणका लागि उचित पिउने
पानी, खाना र ओत लाग्ने पालको आभाब छ । अबाब नै अभाब रहेको यस त्रासदी पूर्ण क्षणमा सहयोगी हातहरुको
नितान्त खाँचो छ । यी सबै काठमाण्डौमा भर्खर आएको महाभूकम्पले सिर्जना गरेको त्रासदीको बाताबरण हो । नेपाली दुखित मन लाई सक्दो सहयोगको लागि देश बाहिर रहेर पनि प्रबासी नेपालीहरुले आफ्नो गच्छे
अनुसारको रकम सहयोग गर्न थालेका छन्, बिभिन्न राहत सामग्री नेपाल पठाउन कम्मर कसेर लागेका छन् ।
स्वास्थ सेवा
उपचारको लागि बेलायत, अमेरिका र थुप्रै अरु मुलुक बाट पनि धेरै नेपालीहरु स्वयंसेवकको रुपमा सहयोग गर्न नेपाल
जाँदै छन् । थुप्रै सहयोगी मन र थुप्रै बिदेशी संघ संस्थाले स्वयंसेवक हरु नेपाल पठाउन थालेका छन् । न्युयोर्क, बोस्टन,
टेक्सास, मेरिलैंड, क्यालिफोर्निया र वाशिंगटन डिसी जस्ता ठुल ठुला शहरहरुमा आर्थिक रकम सहयोग जुटाउन दिन
रात प्रबासी नेपालीहरु खटिएर रहेका छन् । बिभिन्न अन्तराष्ट्रिय संघ, संस्था, बिदेशी दात्री संस्था, अन्तराष्ट्रिय परोपकारी
र सामाजिक संघ संस्था मात्र होइन धेरै बिदेशी परोपकारी व्यक्तिहरु पनि नेपाललाई सहयोग र राहत प्रदान गर्न सक्दो
सहयोगमा जुटेका छन् ।
तर देशको यस्तो विषम परिस्थितिमा संसारका थुप्रै देशहरु बाट नेपालमा सहयोग गर्न तछांड मछांड गरि रहदा देश भित्रै
रहेका नेपालका बिभिन्न राजनैतिक दलका प्रमुख युबा दस्ताहरु वाईसीएल, युबा संघ अनि तरुण दलका युबा जमात आज
कता हराए म सोच्न बाध्य भै रहेको छुं ।
थुप्रै जन धनको क्षति भएको यस विषम परिस्थितिमा देश भित्रै रहेका सहयोगी
हातहरु सहयोगको लागि जुट्नु पर्ने होइन र ?
राजनैतिक दललाई सत्ता प्राप्तिको लागि जुलुस निकाल्नु, धर्ना बस्नु, हड्ताल गर्नु अनि सडकमा टायर बाल्नु मात्रै तिनको
धर्म हो ? के मुलुकको संकटको बेला ति दलका कार्यकर्ताले सर्ब साधारण जनतामा दुखमा मरहम पट्टि लाउनु तिनको धर्म
होइन ? पटक पटक नेपाल बन्द गर्दा निकालेका ति बिशाल जुलुस कता गए ? सडकमा टायर बालेर सर्बसाधारण
जनताका रोजी रोटि बन्द गर्ने ति कार्यकर्ताहरु कता लागे ? ठुला दलका भात्री संगठनका युबा दस्ताले आम सभा र जुलुस
निकाल्दा खुल्ला मन्चमा निकालेको त्यत्रो बिशाल कार्यकर्ता अहिले देशमा हाहाकार मचिरहेको बेला ति कता गए ? तर
देशमा महा बिनासकारी भूकम्पले यत्रो धन, जनको क्षति भएको बर्तमान अबश्थामा ति राजनैतिक कार्यकर्ताको
राजनैतिक क्रियाकलाप मात्र गर्नु तिनको धर्म हो जस्तो मलाई पटक्कै लाग्दैन ।
आज देश भिषण र जटिल परिस्थितिमा गुज्रिरहेको बेला तिनले मस्त निन्द्रामा सुतेर बस्नु के ठिक हो र ? कि ति सबै
राजनैतिक क्रियाकलापको लागि मात्र खडा गरिएको संगठन हुन् | तिनले कुनै प्रकारको सामाजिक काममा सहयोग
पुर्याउन मिल्दैन या सक्दैनन् ?
नेपाली समाजलाई विपतको घेराले धपक्कै ढाकेको यस बर्तमान अबश्थामा राजनैतिक नेता तथा कार्यकताको मल्हमपट्टीले
केहि नभए पनि भावनात्मक रुपमा र मानसिक रुपमा तंग्रन ठुलो मद्दत गर्ने थियो । नेपाली समाजले आफ्नो
अभिभावकको सान्त्वना प्राप्त गर्दा पनि थुप्रै नेपालीको आत्म सन्तुष्टि प्राप्त गर्ने थिए ।
समय र परिश्थितिले नेताहरुलाई
चुनौती र अबसरको राम्रो बाताबरण दिदा पनि जनताले कुनै प्रकारको राहत यी बाट पाउन असमर्थ रहे । यस्तो अहिलेको
यस विषम परिस्थितिमा नेपाल बन्द गर्दाका कार्यकर्ताले, राजनैतिक जुलुस र धर्ना बस्दाका हजारौं राजनैतिक
स्वयंसेवकले, आम सभामा खटिएका त्यत्रा धेरै स्वयंसेवक हरुले कमसेकम घर भित्र दबिएका आफन्त खोज्न मद्दत
गरिदिएका भए, पानि नपाएर तिर्खाएका बिरामी लाई पानीको बन्दोबस्त मात्र गरिदिएका भए, मुसलधारे पानीले भिज्दै
चौरमा सुत्न बाध्य पर्नेलाई त्रिपालको ब्यबश्था मात्र पनि गरिदिएका भए कति सहयोग हुने थियो । तर त्यस्तो कुनै
भएनन् । रोग, भोक र शोक ले ग्रस्त नेपाली जन समुदायलाई सहानुभूतिका हात ले सुम्सुम्याएका मात्र भए, सान्त्वना
मात्र पनि दिएका भए लाख हुन्थ्यो ।
तिनको उपश्थितिले मात्र पनि एउटा ठुलो राहतको अनुभब हुने थियो । जनताको
अपेक्षा पनि यी नै थिए । दुखी जनताहरुले दुर्घटनाग्रस्त भएको ठाउँहरुमा नेताहरुको बलियो आस्वासन मात्र भए पनि
उपश्थिति चाहेका थिए । तर सम्पूर्ण नेपालीहरुको मनलाई खिन्न पार्दै, बेवास्ता गर्दै ति सबै अपेक्षा लाई उपेक्षा गरिए । थुप्रै दिन बितिसक्दा पनि राजनैतिक दल र तिनका कार्यक्रता बाट कुनै त्यस्तो सहयोग र राहत पुगेको अनुभब गर्न
जनताले पाउन सकेनन । न त सरकारी दस्ता बाट नै समय भित्रै यथेष्ट मात्रामा सहयोग भएको कसैले अनुभब नै गरे ।
राहत र उद्दारको कार्य सबै बाहिर बाट सहयोग भैरहदा पनि देशले त्यसको उचित रुपमा ब्यबश्थापन गर्नु नसक्नु
सरकारको निकम्मापन र निरीहता छर्लङ्ग देखिन्छ । तर नेपाल प्रहरी, सशस्त्र प्रहरीगण र नेपाली सैनिक गणको
तत्परता, द्द्धता र निरन्तर कटिबद्धता अति प्रसंशनीय र सह्रानीय मान्नु पर्छ । मेरो सलाम छ ती देशका सच्चा
सपुतहरुलाई जस्ले देशको आबश्यकतामा आफ्नो बहादुरी प्रदर्शन गरे ।
साथै नेपाली जनताको नजरमा सम्पूर्ण व्यक्तिगत र
संस्थागतरूपमा राहत पुर्याउन मद्दत गर्ने ति सबै पनि महान छन् । अन्तमा हामी प्रार्थना गरौँ समय छदै नेपालका स्वनामधन्य नेता तथा कार्यकर्ताहरु लाई बिबेक प्रदान गरुन । अहिले यति
मात्र भन्न सकिन्छ ।
. . . . . अस्तु !