रत्ननगर,चितवन २३ ,
शिशिर सिम्खडा : बैशाख
पूर्वी चितवनको पदमपुरमा सरकारी अनुमति विना निजी विद्यालय
सञ्चालन भएको छ । पदमपुर वडा नं. ४ मा सञ्चालित सो चित्रवन
उच्च माविले नर्सरी देखि ९ कक्षा सम्म अध्यापन गराईरहेको छ ।
रत्ननगरको वडा नं.२ मा कक्षा ६ देखि १२ सम्म दर्ता भएको
विद्यालयले पदमपुरमा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थी भर्ना
लिई पढाईरहेको पाईएको हो । सो विद्यालय राष्ट्रिय
प्राथमिक विद्यालय समीपुर जुटपानी–७ को सेवा क्षेत्र भित्र सञ्चालन
गरिएको छ ।
शिक्षा नियमावली अनुसार कुनैपनि विद्यालय देखि एक
किलो मिटरको दुरीमा अर्को विद्यालय सञ्चालन गर्न साविकको
विद्यालय संग अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर चित्रवन उच्च
माविमाले सो स्थानमा विद्यालय सञ्चालन गर्नुपूर्व छिमेकी
विद्यालयसंग अनुमति लिएको छैन भने विद्यालय स्थानान्तरणको
अनुमति समेत नलिएको राप्रावि समीपुरका अध्यक्ष सोमबहादुृर
खड्काले जानकारी दिनुभयो ।
रत्ननगरमा सञ्चालनको लागि दर्ता
भएको चित्रवन उच्च माविले साविकको स्थानमा कुनैपनि कक्षा सञ्चालन
गरेको छैन । सो विषयमा सर्वोच्च अदालतमा रिट समेत परेको थियो ।
अदालतले प्रक्रिया पुरा गरी विद्यालय सञ्चालन गर्नु गराउनु भनि
जिल्ला शिक्षा कार्यालय चितवनलाई आदेश गरेको थियो ।
जिल्ला
शिक्षा कार्यालय चितवनले चित्रवन उच्च मावि पदमपुरमा सञ्चालनको
लागि प्रक्रिया नपुगेको भन्दै नियम विपरित नगर्ने सम्वन्धमा
ताकेता समेत गरी गत बैशाख ६ गते पत्राचार समेत गरेको छ । तर पनि
विद्यालयले कक्षा सञ्चालन गरिरहेकोमा स्थानीय अन्य विद्यालयहरुले
असन्तुष्टी जनाएका छन ।
सो विषयमा जिल्ला शिक्षा अधिकारी
दामोदर आचार्यले विद्यालयको स्थानान्तरण प्रक्रियामा रहेका
बताउदै कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन गर्नु नियम विपरीत
रहेको बताउनुभयो ।