बाँके (खजुरा), १ पुस ,
जिल्लाका गर्भवती महिला आफ्नो स्वास्थ्यका बारेमा आफैं सचेत हुन थालेका छन् ।
गर्भवती भएको समयमा आफ्नो स्वास्थ्यका बारेमा उचित हेरचाह नगर्दा आफ्नो र नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको थाहा पाएपछि उनीहरु समूह नै गठन गरी अभियानमा जुटेका छन् ।
समूहमा आबद्ध नौ महिनाको गर्भधारण गरेकी कम्दी–९ की टीका परियारले समूहमा आमा बन्ने महिलाले खुलेर आप्mनो समस्या राख्ने गरेको छ भन्नुभयो ।
गर्भवती भएको समयमा कम्तीमा चारपटक नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, आइरन चक्की, हरियो सागपात, फलफूल खानुपर्नेलगायतका बारेमा समूहमा आबद्ध भएपछि थाहा पाएको परियारले बताए ।
गेरुवा जागरण सङ्घले प्लान नेपालसँगको साझेदारीमा जिल्लाका १२ वटा गाविसमा गर्भवती आमा र नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यले मातृसुरक्षा कार्यक्रम सुरु गरेपछि गर्भवती महिला आप्mनो स्वास्थ्यबारे सचेत हुन थालेका हुन् ।
प्रत्येक महिना गर्भवती महिला भेला हुने र आफूहरुले गर्भवती हुँदा आउने समस्या, समाधानका उपायलगायतका बारेमा जानकारी गराउने गरेको कम्दीकी महिला स्वास्थ्य स्वयम्सेविका विष्णु बस्नेतले बताइन् ।
उनीहरुमा नियमित स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने र सुत्केरी हुँदा अस्पतालमै पुग्नुपर्ने ज्ञानको विकास भएको गेरुवाकी टोलीनेता भाग्यरेखा सिलवालले बताए ।
जिल्लाका कम्दी, हिरमिनिया, बेलभार, पुरैना, पुरैनी, उढरापुर, जयसपुर, परस्पुर, इन्द्रपुर, बनकट्टी, वेतहनी र साइगाउँमा गर्भवती महिलाको ११० वटा समूह बनाइएको छ ।
पछिल्लो समय मातृमृत्युदर बढिरहेका बेला गर्भवती महिला नै जागरुक हुनुले सकारात्मक सन्देश प्रवाह गरेका जनस्वास्थ्य प्रमुख नगेन्द्रप्रसाद चौधरीको भनाइ छ ।
बाँकेमा वार्षिक एक हजार ५०० सुत्केरी हुने गरेको जनस्वास्थ्यको तथ्याङ्क छ भने चालु आर्थिक वर्षको हालसम्म १३ जना आमाले ज्यान गुमाइसकेकी छन् । रासस:
