सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो I

कञ्चनपुर, १३ मङ्सिर,

कञ्चनपुरको देखतभूली स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा बढोत्तरी भएको छ । सुरक्षित गर्भपतन गराउने व्यवस्था भएपछि भारतीय निजी क्लिनिकमा चर्को शुल्क तिरेर गर्भपतन गराउँदै आएका महिला स्वास्थ्य चौकीमा पुगेर गर्भपतन गराउन थालेका छन् ।

विगतमा अवैध र अनिच्छित गर्भ रहन गएको खण्डमा घरमै जडीबुटीको प्रयोग गर्ने र पेट थिचेर गर्भपतन गराउने कार्य हुँदै आएकामा हाल स्वास्थ्य चौकीले सुरक्षित गर्भपतन सेवा सुरु गरेपछि त्यो कार्य पूर्ण रुपमा रोकिएको स्वास्थ्च चौकीका अनमी रत्ना ठगुन्नाले बताइन् ।

“गर्भपतन गराउन आउने महिलाको नाम र ठेगाना गोप्य राखिने गरिएकाले महिला निर्धक्कसँग स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन्”, उनले भनिन् । गाउँका महिलाले स्वास्थ्य स्वयम्सेवीकालाई गर्भपतनबारे जानकारी गराउने र स्वास्थ्य चौकी पुगेर गर्भपतन गराउँदै आएका छन् । स्वास्थ्य चौकीमा आठ महिनाको अवधिमा ७० जना महिलाले गर्भपतन गराएको स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले बताए ।

उनका अनुसार गर्भपतन गराउने महिलामा २० देखि ४० वर्षसम्मका रहने गरेका छन् । स्वाथ्य चौकीले नौ हप्तासम्मको गर्भपतनको कार्य गराउँदै आएको छ । गर्भपतन सेवापछि देखिने जटिलताका लागिसमेत स्वास्थ्य चौकीले सेवा दिँदै आएको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com