'' गज़ल '' By, कोमल भट्ट


 '' गज़ल '' By, कोमल भट्ट

मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ
तराईवासी,पहाडिया,हिमाली नै प्यारो लाग्छ ll

लप्पन छप्पन छैन कुनै मुस्कुराउँछन् स्वच्छतामा
बाँडेकाछन् सङ्लो माया,लेकाली नै प्यारो लाग्छ ll

कति मिठो हार्दिकता छ,उकाली र ओरालीको
डाँडा,भन्ज्याङ्ग,चौतारी र देउराली नै प्यारो लाग्छ ll

बगेकाछन् नदी नाला,भ्रातृत्वको सन्देश छर्दै
सप्त कोशी,गण्डकी र कर्णाली नै प्यारो लाग्छ ll

जान्दिन म क्यासिनोको रङ्गी चङ्गी खेला खेल्न
आफ्नै पनका डण्डीबियो,बाघचाली नै प्यारो लाग्छ ll

के काम ती घमण्डले मात्तिएका धनी मान्छे
बरु सीधा 'कोमल' मनका,कङ्गाली नै प्यारो लाग्छ ll

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल:-रोचेस्टर,न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com