तिहार र धनको अर्थ I

काठमान्डू कार्तिक ६,

तिहार आयो र फेरि एकपल्ट धन र वैभवका प्रतीक लक्ष्मीको धुमधाम पूजाअर्चना गर्ने बेला पनि । यसै पनि हिन्दु धर्ममा आस्था राख्नेहरूले सबैभन्दा धेरै पुज्ने देवी लक्ष्मी नै होलान् ! सानो छँदा तिहारको झिलिमिली, भैलो र देउसी समूहको नाचगान र भाइटीकाको रमझम खुब रमाइलो लाग्थ्यो । अब त अनुभवहरूसँगै धन र वैभवसँग गाँसिएको चाडको बेला एउटै विचार आइरहेछ ! धन हुनु वा धनी हुनुको अर्थ के हो ?

सामान्य तवरमा कसैसँग प्रशस्त धन हुनु वा धनी हुनु पछाडिको सामाजिक मापदण्ड बुझ्दा मैले आर्थिक स्रोत राम्रो भएको, एक/दुई वा सोभन्दा बढी घरजग्गा भएको, एक/दुई वा बढी गाडी भएको, कपडा तथा गरगहना फेरीफेरी हिँंड्न सक्ने क्षमता भएको, महँगा रेस्टुराँहरूमा खाने क्षमता भएको र महँगा आधुनिक उपकरणहरू प्रयोग गर्ने व्यक्ति वा समूहलाई पाएँ । यी तत्त्वहरूले नै व्यक्ति र परिवारको सोसियल स्ट्यान्डिङ र सामाजमा इज्जत पनि निर्धारण भएको पाएँ । तर धनको अर्थ यतिमैै सीमित र पर्याप्त छ त ?

सरसर्ती हेर्दा सर्वमान्य रूपमा धनी हुनुको परिभाषा यही होला जस्तो लाग्न सक्छ । तर हाम्रोजस्तो समाजमा धन र धनी हुनुको सही अर्थ बुझ्न अत्यावश्यक छ । संसारका विकसित देशहरूका धनीहरूलाई नियाल्ने हो भने उनीहरूसँग भएको सम्पत्तिले मात्र उनीहरूलाई धनी बनाएको हुँदैन । उनीहरूलाई 'सभ्य' हुनु पनि जरुरी छ । सभ्य हुनुमा खानपान, उठबस गर्ने र बोल्ने तरिका त छँदैछन्, त्यसबाहेक उनीहरूमा साहित्य, कला, संगीत, खेल क्षेत्रप्रति रुचि र बुझाइ पनि हुन जरुरी छ । साथै अत्यन्तै धनीमानी वर्गले कुनै न कुनै सामाजिक क्रियाकलापमा सहयोग पुर्‍याउनु प्रतिष्ठाको विषय बनेको हुन्छ । आफूसँग संकलित अपार धनबाट, आवश्यकता परेका व्यक्ति र समूहलाई सहयोग गर्नुपर्नेर् सामाजिक दायित्वबोध पनि धनी हुनुसँग गाँसिएको हुन्छ । यहाँ आफूसँग भएको धन अरुसँग बाँड्नुपर्ने सोच कुनै 'कम्युनिस्ट' विचारधाराबाट प्रभावित भएको हुँदैन । यो त केवल आफू साथै आफ्नो समुदाय र सम्पूर्ण राष्ट्र नै आर्थिक, सामाजिक र हरेक पक्षबाट सबल बन्दै जाओस् भन्ने चाहनामा आधारित हुन्छ । सायद केही हदसम्म यस्तो स्थायी परिवेशमा मात्रै आफू र आफ्नो परिवार सुरक्षित रहन सकिन्छ भन्ने धारणामा आधारित हुन्छ ।

हामी नेपालीले यस सिद्धान्तलाई बुझ्न र अपनाउन अत्यावश्यक छ । हाम्रा केही नेपाली व्यक्तित्वहरू र कर्पोरेट हाउसेसले पनि केही न केही सामाजिक विषयलाई आफ्नो दायरामा लिएका छन् । तर यी औंलामा गनिएर सिद्धिने प्रयासहरूले मात्र हामीलाई पुग्दैन र यी प्रयासहरूले आफ्नो दायरा पनि फैलाउँदै जान सक्नुपर्छ । कतिले त साँच्चै नै सराहनीय ढंगले चुपचाप यी प्रयासहरू अघि बढाइराखेका छन् भने कतिले चाहिँ थोरै कामले बढी चर्चा पनि लिन खोजेका छन् । तर मेरो फोकस यहाँ सर्वप्रथम व्यक्ति विशेषतिरै जान्छ, किनकि समाज परिवर्तन हुन व्यक्ति परिवर्तन हुन आवश्यक छ ।

लाग्छ, अहिले नेपाली समाज 'मवादी' प्रणालीमा चलिरहेको छ -म, मेरो घर, मेरो पैसा, मेरा अनगिन्ती स्वार्थहरू आदि-इत्यादि । मबाट हामी र हाम्रो भनी सिकाउने उदाहरणहरूको कमी छ । सामाजिक उत्थानका लागि मैले के गर्न सक्छु भन्ने सोचको अभाव छ । म भित्रका मानवीय पक्षहरू, मेरा बाहिरी आडम्बरभन्दा महत्त्वपूर्ण छन् भन्ने चेतनाको कमी छ । सतही सांसारिक उपजहरूको माझमा, म्ाानवभित्रको ज्ञान, गुण, कला, सीपजस्ता सारतत्त्वहरूप्रतिको कदरको खाँचो छ । देखासिकी, देखावटी र खोक्रो आडम्बरलाई अपनाउँदै यिनैमा रमाउने जमात बढ्दो छ ।

दुःख लाग्छ, जब बिहेभोजमा, पढेलेखेका, धनी र प्रतिष्ठित वर्गका महिलाहरू पनि कुण्ठित मनस्थितिसाथ अरु कसैले साडी दोहोर्‍याइ लगाएकोमा कमेन्ट गर्न पछि पर्दैनन् । मानौं प्रत्येक पार्टीमा नयाँ पहिरन र गहनामा देखिनपर्ने लिखित दस्तावेज पारित छ । साथीले चढेको गाडीको इष्र्या गरी महँगो गाडी किन्नेहरूका पनि प्रशस्तै उदाहरण भेटिन्छन् । तिहारकै अवसरमा जुवामा १० औं हजार र लाखौंसम्म ब्लाइन्ड बाजी हाल्न सक्ने आँट भएका विभिन्न प्रोफेसनल ब्याकग्राउन्डका व्यक्तिहरू प्ानि यसै सहरमा बस्छन् । पार्टीमा अल्कोहलको धारा बगाउन सक्नेले बाढीले श्रीसम्पत्ति बगाएकाहरूका बारे सोच्ने फुर्सत पाउँदैन ।

हो, प्रजातान्त्रिक मुलुकमा सबैलाई आआफ्नो तरिकाले बाँच्न पाउने अधिकार छ । कोही व्यक्ति अरुभन्दा आर्थिक तवरमा सशक्त हुँदैमा ऊप्रति पूर्वाग्रह राख्नुपर्ने पनि कुनै कारण छैन । तर जो सशक्त छन्, उनीहरूले आफ्नो वरिपरिको परिवेशलाई बुझ्ने कोसिसचाहिँं अवश्यै गर्नुपर्छ । साँचो अर्थमा 'धनी' बन्न सक्नुपर्छ । यदि हाम्रो धनी हुनुको परिभाषा बदलिएन भने र हामी यस्तै सतही तालले धनी तर मानवीय रूपमा दरिद्र हुँदै जाने हौं भने हामीले जानाजानी सामाजिक विकृतिलाई बढावा दिनु बाहेक अरु केही हुँदैन । समाज विकृत हुनु भनेको राष्ट्र नै जोखिममा पर्नु हो ।

यसैले यसपालिको तिहारमा देवी लक्ष्मीको अगाडि म शिर निहुराउँदै यही विन्ती गर्न चाहन्छु कि हामी नेपालीलाई धन होइन, धनको सही अर्थ बुझ्न सक्ने र सदुपयोग गर्न सक्ने विवेक देऊ ।

योञ्जन 'क्रिएटिभ कन्सल्टेन्ट' हुन् । इकान्तपुरबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com