| लक्ष्मी भट्ट, अनमी, बैतडी |
लोकेश साउद : दशरथचन्द राजमार्गमा बैतडी, डडेल्धुरा र बझाङको मुख्य बजारको रुपमा रहेको खोड्पेमा निकै चहलपहल हुनेगर्छ, तर, त्यो उनका लागि कहिल्यै सरोकार र महत्वको बिषय बनेन । किनकि आफ्नो १६ बर्षे बसाईका क्रममा त्यो कोलाहलबाट उनी प्रायःजसो गाउँमै रहिन् ।
बीच बजारमा घर, तर बसाईं भने गाउँमा । त्यो गाउँमा उनको न कोही आफन्त छ, न त घर नै । तर अधिकांश समय गाउँमा बित्नुको एउटै कारण हुन्, बिरामी । जो उनका लागि देउतासमान हुन् । सधै उनी तिनै बिरामीको वरिपरि रहिरहन चाहन्छिन् । उनी अर्थात् सिद्धेश्वर ९ खोड्पेकी लक्ष्मी भट्टले जीवनका ४० बसन्त त पार गरिसक्दा उनको महत्वपूर्ण उपलब्धी सिद्धेश्वरबासीको न्यानो माया हो । जसको प्रेरणाले उनलाई सधै इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न घचघच्चाइरहन्छ र बिरामीको सेवामा तत्पर हुने गर्छिन् ।
बैतडीको थालीगडामा जन्मिएर ६० किलोमिटर परको सिद्धेश्वरलाई कर्मथलो बनाएकी लक्ष्मी १८ बर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिइन् । सात कक्षासम्म गाउँकै विद्यालय र ९ कक्षासम्म सदरमुकामको वीरेन्द्र उच्च माविमा अध्ययन गर्न नपाउँदै उनको जीवनले नयाँ मोड लियो । अब उनका साथमा शिक्षण पेशामा रहेका श्रीमान चेतराज पनि थिए । श्रीमान जहाँ जान्थे उनी पाइलामा पाइला मिलाउँदै जान्थिन् । बसाईको विविधताका कारण उनले१० कक्षा काभ्रेको प्रकाश माविमा पढिन् भने एसएलसी भारतको खटिमाबाट गरिन् । धनगढीमा मातृ शिशु कार्यकर्ताको तालिम लिएपछि २०५५ मंसिर २७ देखि उनले गाउँकै उपस्वास्थ्य चौकीमा करार सेवामा सरकारी सेवा प्रवेश गरिन् । २०५९ मा स्थायी हुँदासम्म उनी बिरामीको उपचार र गाउँका महिलालाई स्वास्थ्य परामर्श दिनमै अभ्यस्त भइसकेकी थिइन् । २०६६ मा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र रामघाट पोखराबाट अनमीको तालिम लिएपछि पछिल्ला दिनमा उनको दक्षता र कार्यकुशलता अझै तिखारिएको छ ।
उनी गाउँ प्रवेश गर्दाका सुरुका दिनमा गर्भवतीदेखि पखाला लागेका बालबालिकाका साझा ा डाक्टर भनेका गाउँकै धामीझाँक्री थिए । सबैको विश्वास धामीझाँक्रीमै हुन्थ्यो । स्वास्थ्यकर्मीको उपस्थिति न्यून हुँदा गाउँमा धामीझाँक्रीको विकल्प पनि कम थियो । त्यसैले ती दिनहरु लक्ष्मीका लागि निकै चुनौतीपूर्ण थिए । महिलाहरु आफ्नो स्वास्थ्य समस्या भन्न लजाउँथे । त्यसैले सही उपचार र परामर्श दिन पनि गाह्रो हुन्थ्यो उनलाई । ‘रोगले थलिएपछि मात्रै स्वास्थ्कर्मीको सम्पर्कमा आउँथे,’ गाउँका महिलाप्रति लक्षित गर्दै १५ बर्ष अघिको कुरा लक्ष्मी सम्झिदै भन्छिन् ‘त्यसपछि त उनिहरुको ज्यान जोगाउनै हम्मे–हम्मे पथ्र्यो, कति भाग्यले बाँच्थे कतिको ज्यानै जान्थ्यो ।’
स्वास्थ्य सेवामा जागिरे जीवनको सुरुवाती दिनमा उनले यस्तै एउटा घटनाको सामना गरिन् । सिद्धेश्वर १ को किचार गाउँमा पुग्दा एक गर्भवती महिलाको झाँक्रीले उपचार गर्दै थिए । उनलाई सुत्केरी ब्यथा लागेको थियो । तर झाँक्रीले एकोहोरो रुपमा झारफुक गरिरहेको दृश्य उनलाई सहिनसक्नु भयो । उनले तुरुन्तै नजिकैको डडेल्धुरा टिम अस्पताल लैजान सल्लाह दिइन । तर उनको सल्लाह मान्न कोही तयार भएन । जबरजस्ती उनी आफैँले अस्पताल लगिन् । ती महिलाको ज्यान जोगियो तर शिशुको मृत्यु भयो । तत्कालिन टिम अस्पतालका डाक्टरले आधा घण्टा ढिला गरेको भए आमाको पनि ज्यान जान सक्ने बताएपछि उनलाई जीवनमा पहिलोचोटी ठूलै पुण्य कमाएको महसुस भयो ।
अहिले उनी जिल्लाकै सफल स्वास्थ्यकर्मीका रुपमा चिनिन्छिन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. गुणराज अवस्थीको नजरमा उनी एक इमान्दार र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी हुन् । डा. अवस्थी भन्छन् ‘उनले जस्तै सबैले ठीक समयमा ठीक तरिकाले काम गर्ने हो भने न अकालमै आमा र बच्चाले ज्यान गुमाउनुपर्छ न त सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको असन्तुष्टि पोख्ने ठाउँ रहन्छ ।’
सिद्धेश्वर उपस्वास्थ्य चौकी प्रमुख मदन महराको दृष्टिमा पनि लक्ष्मी एक जनप्रेमी स्वास्थ्यकर्मी हुन् । त्यसो त लक्ष्मीको पनि सबैभन्दा सन्तुष्ट हुने ठाउँ भनेको नागरिकको माया नै हो । डेढ दशक लामो सेवाअवधीमा उनले स्थानीयको अपार माया पाएकी छन् । त्यसैले त उनलाई बिरामीलाई देउता मानेर काम गर्न प्रेरणा दिइरहन्छ । राती खाना खाइरहेका बेला जुरुक्क उठेर पनि बिरामीको सेवामा खटिने लक्ष्मी आफ्नो अनुभव सुनाउँछिन ‘घरमा लोग्नेको सहयोग र छरछिमेकमा आमसमुदायको सहयोगले आफ्नो कर्तब्यबाट कहिल्यै चुकिन ।’
उनको सार्वजनिक जीवन मात्रै होइन र परिवारिक वातावरण पनि निकै लोभलाग्दो छ । २१ औ वसन्त पार गरेकी छोरी मञ्जु स्नातक सकाएर डिग्री पढ्ने तयारीमा छिन् । छोरा विजयआशिषले ७९ प्रतिशत ल्याएर यसैबर्ष एसएलसी उत्तिर्ण गरे । ‘छोरालाई विज्ञान पढाउने सोचमा छौं’ लक्ष्मीसँगको कुराकानीका क्रममा टुप्लुक्क आइपुगेका श्रीमान चेतराजले उनीसँगै सहमती जनाउँदै भने ‘त्यसपछिको योजना अझै बनेको छैन ।’
खोड्पे बजारको छेउमै रहेको सिद्धेश्वर उप स्वास्थ्य चौकी आँगनमा कुराकारी सकिनै लाग्दा लक्ष्मीले आफू पुरस्कृत हुन लागेको सुखद् खबरप्रति लक्षित गदै भनिन् ‘मजस्तै इमान्दार भएर काम गर्ने अरु थुपै्र साथी छन् उनीहरुकै प्रेरणाले म सफल भएकी हुँ ।’ छरछिमेकीले सधै सम्मान दिएको बताउने उनले अहिले माथिल्लो निकायले पनि सम्मान दिएको सुन्दा अनुभव गरेको खुसी अमुल्य छ । औपचारिक रुपमा नसुनेको खबर साँचो वा झुटो दुइवटै हुन सक्ने कुरामा सचेत हुँदै उनले कुराकानी बिट मार्दै भनिन् ‘यो खुसी पनि सर्वप्रथम म मेरा देउता अथवा उपचारको याचना गर्न आउने बिरामीलाई बाँड्ने छु ।’ स्वास्थ्य खबरबाट :