सामुदायिक अस्पताल सञ्चालन स्थानीयवासीद्वारा ८० लाख संकलन I

सुरुङ्गा (झापा) आश्विन २४,

सामान्य प्राथमिक स्वास्थ्य सेवा लिनसमेत धेरै टाढा पुग्नुपर्ने बाध्यता भएपछि दक्षिणी झापाको टाघनडुब्बा–७ कामाटोलीका स्थानीयवासीले गाउँमै सामुदायिक अस्पताल सञ्चालन गर्ने भएका छन् ।

सुगम जिल्ला भनेर चिनिएको झापाको दुर्गम गाउँ विकास समितिको रुपमा परिचित उक्त गाविसका स्थानीयवासीलाई प्राथमिक उपचार गराउनसमेत सुरुङ्गा, दमक, बिर्तामोड, भद्रपुरसम्म पुग्नुपर्ने बाध्यता भएपछि उनीहरुले गाउँमा नै सामुदायिक अस्पताल सञ्चालन गर्ने भएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ नगरपालिकास्थित सुरुङ्गा चोकदेखि झन्डै २० किलोमिटर दक्षिणमा पर्ने उक्त स्थानमा वर्षांैदेखि अस्पताल निर्माणका लागि पहल गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै स्थानीयवासी अस्पताल निर्माणका लागि आफैँ अग्रसर भएको कामाटोली बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बालकृष्ण खरेलले बताए ।

 सामुदायिक अस्पताल निर्माणका लागि आर्थिक स्रोत जुटाउन स्थानीयवासीले विजयादशमीको  अवसर पारेर  श्रीमद्भागवत् नवाह महापुराण ज्ञान महायज्ञको आयोजना गरी नगद रु ४० लाख र जिन्सी रु ४० लाखसहित रु ८० लाख सङ्कलन गरेका छन् ।

 गाउँमै सामुदायिक अस्पताल निर्माण हुने भएपछि अहिले उक्त गाउँमा रकम जम्मा गर्नेको लहर नै चलेको स्थानीय लक्ष्मी उप्रेतीले बताए । उनले भने, ‘गाउँमा अस्पताल बनाउने भएपछि  कामाटोली बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बालकृष्ण खरेलले रु एक लाख ५५ हजार ५५५ र घनश्याम चौधरीले रु एक लाख ५५ हजार सहयोग गर्नुभएको छ ।’

अस्पताल निर्माणका लागि टाघनडुब्बाका सागीरथ गणेशले सबैभन्दा बढी रु दुई लाख ५५ हजार ५५५ प्रदान गरेका छन् । त्यस्तै लक्ष्मी उप्रेतीले रु एक लाख ७१ हजार १११, अग्निप्रसाद खरेलले रु एक लाख ५६ हजार १००, रघुप्रसाद गणेशले रु एक लाख ५१ हजार र सोमनाथ नेपालले रु एक लाख अस्पताल निर्माणका लागि सहयोग गरेका छन् ।
अस्पताल निर्माणका लागि टाघनडुब्बा–८ का नगेन्द्र राजवंशीले तीन कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् भने निताई राजवंशीले अस्पतालसम्म जाने बाटो निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् ।

त्यस्तै, वीरेन्द्र सिटौला, कमलबहादुर श्रेष्ठ, हरि राजवंशीलगायतले अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराएको पुराण आयोजक समितिका अध्यक्षसमेत रहनुभएका उप्रेतीले बताए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com