कविता '' सन्देश" By, आचार्य प्रभा


कविता '' सन्देश"  By, आचार्य प्रभा  

मनभरी काँढाघारी उमारेर
म यतिखेर
सयपत्री र मक्खमली
बोटहरुमा भाइ तिहारको
खुशी खोज्दैछु  ,
आँखाभरी अतितका ती दृष्यहरु
सम्झना बनेर छाउँछन्
र,शीत बनी बग्दछन्
अनि......
नियाँल्छु माइेतिका तस्बिरहरु
कता कता त्यस्भित्र म मेरा
पुराना धुमिल संसारमा
बहकिन पुग्छु संस्मरणसँगै।
अब त इेतिहास नै बनिसकेछ
भाइटिकाको बहानामा
इेन्देणीरङसँग नखेलेको
आफ्ना दाजु,भाइको निम्ती
दिर्घायुको प्रार्थना गर्दै
त्यही साईतमा हात नजोडेको ।
हो यस्पटक,
मन बिह्वल बनेको छ सधैंभन्दा
मेरा माइतीहरुका सम्झनामा,
आँखा मुर्झाएका छन्
ओईलिएका पत्करहरु जस्तै
म,
सयपत्री र मक्खमलीसँग नै
निरश बनेर सोधिरहेछु
अब यी हातहरुले कस्का गलामा
तिमीलाई सजाउने ? भनी
शायद,
नियति नै भन्नु पर्ला
सधैं रित्तो बनेर तिहारलाई
बिदाई गर्नुपर्ने
अनि बाध्यता नै भन्नु पर्ला
केवल सम्झनामा भाइटिकालाई
सुम्सुम्याउनु पर्ने
तरै पनि मेरो प्रार्थना
मेरा माइतिहरु जहाँ हुन् जहाँ रहुन्
सुख,समृद्धी र सुस्वास्थ्यकोसाथमा रहुन्
म,
असंख्य बिछोडिएका चेलीहरुको
प्रतीकात्मक चेली बनेर
भाइटिकाको शुभकामना
पठाउँदैछु,
ती टाढा टाढा रहेका माइतीहरुलाई
ज-जस्का निधारहरु पनि
यतिखेर सुन्यताको शिविरमा 
एक्लिरहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com