कविता By,'' लम्बिएका रातहरु ''


कविता By,'' लम्बिएका रातहरु ''

जब,
अनायसै लम्बिएका रातहरुमा 
खुला आँखामा डरलाग्दा तस्बिरहरु 
बिना क्यानभास सजिन आउछन् 
नजानिदो एेठनले थिच्छ मलाई 
यादहरुले किच्छ मलाई 
जुनेली रातहरुले चितोर्छ मलाई 

हो
आजभोलि हरेक रात लम्बिएका छन्
परेली सुख्खा सुख्खा पार्दै 
छट्पटी सँग मितेरी लगाएका छन् 
मेरा रातहरुले,
तन्द्राहरु बिचलित हुन्छन् 
पल निमेषमा,
बाहिर बगान अनि बनमा
पत्ताहरु झर्दैछन् सितका बिम्ब सँगै
निस्ठुर शरदका,,
हो उस्तै लाग्छन् 
झर्दै गरेका र झरि सकेका 
माफल र ओखरका पातहरु
अनि मेरा हरेक जीवनका अभिलाषाहरु ।। 

अनायसै लम्बिएका रातहरुमा,,
जुनाकिरीका धिप्धिप उज्यालाले पनि 
लखेटे जस्तो हुन्छ,,
रित्तो कोठामा पनि 
आँफै कुचुक्क परे जस्तो हुन्छ,
अहो कति भयानक लाग्छन् 
यी लामा रातहरु 
मलाई नै चिडाउन लम्बिएका झै लाग्छन् 
रातका प्रतेक प्रहरहरु 
मलाई नै चिहाउन तम्सिएका झै लाग्छन् 

अनायसै लम्बिएका रातहरुमा 
हर चिजले बिझाएका छ्न् 
सुकोमल मायालुका हातहरुमा पनि 
यस्तो लाग्छ 
मेरै लागि नङ्ग्रा फिजाएका छन् 

लम्बिएका रातहरुमा 
म भाग्न चाहन्छु 
तर एेठनले छाड्दैन मलाई 
न धकेल्न सक्छु 
न उसलाई नै थिच्न सक्छु,,
असिन पसिन हुन्छु तर 
मलाई छाड्दैनन् 
अनायसै लम्बिएका रातहरुले।। 

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन 
हाल परदेश

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com