'' मुक्तक '' By, कोमल भट्ट


 पाँच मुक्तकहरु....

१) मुक्तक :- 
कहिलेकहीँ जुनेली भै आए हुन्थ्यो सपनीमा
 ढकमक्क चमेली भै आए हुन्थ्यो सपनीमा
विपनामा भेट्ने आशा छैन अब जिन्दगीको
माया गर्ने सहेली भै आए हुन्थ्यो सपनीमा !!

२) मुक्तक :- 
प्रतीक्षामा बस्दा बस्दै उमेर ढल्किन्छ कि
 के भरोषा जिन्दगीको कालै पल्किन्छ कि
 डरै लाग्यो चारै तिर अँध्यारोले ढाक्दा
कुर्छु अझै झलमल्ल चाँद टल्किन्छ कि !!

३) मुक्तक:- 
जिन्दगी हो बगी जाने,कर्कलाको पानी
छोडौँ आजै वैमनस्य,छोडौँ खिचातानी
 एक न एक दिन हामी सबै,लाग्नु पर्छ बाटो
 न त चल्छ भनसुन त्यँहा,न त आनाकानी !!

४) मुक्तक :- 
चाड पर्व आउँछन् जान्छन्,आँसु झर्छ परदेशीको
विरहले छाती भित्रै,गाँठो पर्छ परदेशीको
मुटु सधैँ पुगेको छ आफ्नै पाखा पखेरामा
प्रवासमा बस्नु पर्दा मनै मर्छ परदेशीको !!


५) मुक्तक :- 
हाँस्दै खेल्दै अघि बढ्ने,चाहा हुन्छ जिन्दगीमा
 सुख शान्ति ओझेल पर्दा,डाहा हुन्छ जिन्दगीमा
घाम,पानी,हुरी,बतास,खप्नु पर्छ बारम्बारै ...
आफ्नो दर्द आफैंलाई नै,थाहा हुन्छ जिन्दगीमा !!

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com