कविता :By, उषा शेरचन


कविता '' म त बलिदान हुँ  ''
 
फेरि एकपल्ट सहिरहेछु
घृणाका तीखा वाणहरुलाई
जो, प्रतिक्षण मेरो छातीमा रोपिंदै छन्

सायद गाण्डीव धनुबाट वृष्टि भएका
वाणहरुभन्दा
ती सयौं गुना तीखा छन्
ती हजारौं गुना तीखा छन्
दिग्दिगन्तबाट ओइरिएका वाणहरुद्धारा
म पीडित छु
र, आफन्तहरुका आक्रमणद्धारा
म लज्जित छु
आह: प्रिय शिखण्डी हो !
प्रहार गर म भीष्मलाई
मेरो नमस्कार छ
मेरो साधुवाद छ
मेरो अवस्था–बलिदानको अवस्था
मलाई नरम ओछ्यान हैन शरशै्यया देऊ
र,सक्छौ भने पाताल गङ्गाको पानी देऊ
म त बलिदान हुँ
म त बलिदान हुँ
तिमीलाई जित उपहार दिएको छु
धेरै वर्षपछि फेरि एकपल्ट
दिल खोलेर हाँसेको छु !

 उषा शेरचन
काठमान्डू 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com