एक वर्षमा चार हजार ६०० नयाँ क्यान्सरका रोगी I

रत्ननगर (चितवन), ८ असोज,

चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पतालमा एक वर्षमा चार हजार ६०० नयाँ क्यान्सरका रोगी फेला परेका छन् । 

गएको एक वर्षमा उपचारका लागि आएका करिब पच्चीस हजार बिरामी मध्ये चार हजार ६०० जनालाई क्यान्सर लागेको अस्पतालका सहायक प्रमुख जनस्वास्थ्य अधिकृत भोला शिवाकोटीले जानकारी दिए । सीमित स्रोत साधनका बाबजुद पनि अघिल्लो वर्षको भन्दा क्यान्सरका रोगीको सङ्ख्या पनि बढेको र उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि वृद्धि भएको शिवाकोटीले बताए । 

‘यहाँ अझै क्यान्सरका रोगीहरु बढ्ने थिए तर सीमित शैया र शल्यक्रिया कक्ष सीमित हुँदा सबैले सेवा पाउन सकेनन्’ शिवाकोटीले भने ‘अहिले अस्पतालमा १८२ बेडमात्रै रहेको छ तर बिरामीको चाप भने बढ्दो छ ।’ अस्पतालमा हाल २०० बेड निर्माणाधीन रहेको भए पनि आर्थिक अभावले समस्या परिरहेको अस्पतालले जनाएको छ । अस्पतालले दिएको तथ्याङ्कअनुसार गएको वर्ष बहिरङग सेवामा ९५ हजार ३०० जना बिरामीले सेवा पाएका छन् । 

जसमा २५ हजार नयाँ बिरामी आएका थिए । दुई वर्षको तथ्याङ्क विष्लेषण गर्दा एक वर्षमा यो अस्पतालमा करिब तीन हजार बढी सर्वसाधारणले सेवा लिएकामा ३०० नयाँ बिरामी अस्पतालमा बढेको देखिएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर फेला परेको छ । यस्तै दोस्रो नम्बरमा महिलाको पाठेघरको क्यान्सर र तेस्रोमा स्तन क्यान्सरका रोगी फेला परेको क्यान्सर अस्पतालले जनाएको छ । रास:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com