बासिङ्गटन आश्विन १,
पश्चिमी अफ्रिकाबाट सुरु भएको इबोलाको सङ्क्रमण नियन्त्रणबाहिर पुगेको र यो एक विश्व सुरक्षाको लागि एक चुनौतिको रुपमा आएको बताइएको छ ।
यस सङ्क्रमणले विश्वलाई नै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा रहेको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओमाबाले मङ्गलबार चिन्ता व्यक्त गरेका छन् ।
यस प्रकोपलाई समयमै नरोकेमा हजारौँ व्यक्तिमा यस रोगबाट प्रभावित हुने र ज्यानै जाने आशङ्का उनले व्यक्त गरेका छन् । सो कुरा ओबामाले एट्लान्टिक राज्यमा रहेको प्रकोप नियन्त्रण र रोकथाम केन्द्रको भ्रमणको क्रममा बताएका हुन् ।
ओबामाको सो भ्रमण पश्चिमी अफ्रिकामा इबोला रोगबाट प्रभावित व्यक्तिको लागि सहयोग गर्न अमेरिकी पहलमा करिब तीन हजार सैनिक पठाउने आदेश लगतै भएको बताइएको छ ।
ह्वाई हाउसका प्रवक्ता जोस इरनेसट्ले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा ती सैनिकलाई इबोला भाइरस प्रभावित व्यक्तिको स्वास्थ्य सुरक्षाको सहयोग गर्न पठाउन लागेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठन गत हप्ता दिएको जानकारी अनुसार इबोलाबाट दुई हजार ४०० व्यक्तिको ज्यान गएको छ भने ४ हजार ७८४ व्यक्ति यस रोगबाट प्रभावित भएका छन् ।
अर्थतन्त्रमा इबोलाको प्रभाव
यसैबीच हालैका दिनमा अफ्रिकी मुलुकमा व्यापक मात्रामा प्रभावित गराएको इबोला भाइरसको सङ्क्रमणले त्यहाँको अर्थतन्त्रमा पनि असर पार्न थालेको समाचार छ ।
यो सङ्क्रमणले विशेषगरी पश्चिमी अफ्रिकी मुलुकको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्न थालेको समाचारमा जनाइएको छ ।
ती देशमा आयात निर्यातमा यसको प्रभाव देखिएको छ ।
त्यसैगरी खेतीको काममा पनि उक्त सङ्क्रमणले असर पारेको छ भने लगाइएको बालीपनि खेतमै कुहिन थालेको बताइएको छ ।
त्यसैगरी सो सङ्क्रमणका कारण त्यहाँका खानी बन्द भएका छन् र उत्पादन बजारमा पुग्नसकेका छैनन् । इबोला प्रभावित क्षेत्रका सामान किन्न र त्यस क्षेत्रमा आफ्ना उत्पादन पठाउन पनि नसकिएका विभिन्न समाचारहरु आइरहेका बताइएको छ ।
यस सङ्क्रमणबाट हालसम्म हजारौँ जना पनि नराम्ररी प्रभावित भएका छन् ।
यस सङ्क्रमणको नियन्त्रणका लागि विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि कयौं प्रयासहरु जारी राखेका छन् तर ती सबै प्रयासहरु प्रभावकारी हुन सकिरहेका छैनन् ।
मङ्गलबार स्वास्थ्य अधिकारीहरूले यो ज्वरो लाइबेरियाको हरेक क्षेत्रमा पुगेको बताएका छन् । यो मुलुक यस महामारीबाट सबैभन्दा प्रभावित बनेको छ र यहाँ हालसम्म एक हजार व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एएफपी: