जनस्वास्थ्य अख्तियारको छापा म्याद नाघेका औषधि बरामद I

पर्सा भाद्र १९,

जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा अख्तियारले छापा मारी ठूलो परिमाणमा म्याद नाघेका औषधि बरामद गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले कार्यालयमा छापा मारी निःशुल्क वितरणका लागि राखिएका म्याद सकिएका करिब तीन सय कार्टुन औषधि बरामद गरेको हो । 

कार्यालयमा छापा मारी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको दुई दिन नबित्दै अख्तियारको टोलीले पुनः छापा मारेको हो । कार्यालयको गोदाममा भण्डारण गरिएको १५ प्रकारका औषधिको म्याद नाघेको फेला परेपछि अख्तियारले जनस्वास्थ्य कार्यालयको गोदाममा सिलबन्दी गरेको हो । 

अख्तियारका अधिकारीले दिएको जानकारीअनुसार निःशुल्क वितरणका लागि नेपाल सरकारले उपलब्ध गराएको औषधि वितरण नै नगरी भण्डारण गरिराखेका कारण म्याद गुज्रेको हो । यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत अमलेश्वर मिश्रासँग बुझ्दा उनले बरामद औषधिबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । 

गत सोमबार अख्तियारको टोलीले कार्यालयमा छापा मार्दा पाँच जना कर्मचारी शङ्कास्पद देखिएपछि उनीहरूलाई तारेखमा राखेको थियो । यसअघि अख्तियारले छापा मार्दा कार्यालयमा रहेको सम्पूर्ण कागजात नियन्त्रणमा लिनुको साथै कार्यालयको लेखा शाखामा सिलबन्दीसमेत गरेको टोली प्रमुख रेवतीरमण पोखरेलले जानकारी दिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com